ऊर्जा

ऊर्जामन्त्री बस्नेतसँग बेलायतका राजदूतको शिष्टाचार भेट

इकागज |
भदौ १३, २०८० बुधबार १८:० बजे

काठमाडौं– ऊर्जा जलस्रोत तथा सिचाइमन्त्री शक्तिबहादुर बस्नेतसँग नेपालका लागि बेलायतका राजदूत रोब फेनले शिष्टाचार भेटवार्ता गरेका छन् ।
मन्त्रालयमा आज भएको भेटवार्तामा द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएको थियो । 

सो अवसरमा ऊर्जा मन्त्री बस्नेतले नेपाल र बेलायतबीच पूरानो कुटनीतिक एवम् मैत्री सम्बन्ध रहेको र त्यसलाई थप विस्तार गर्ने बताए । सरकारले ऊर्जा क्षेत्रको विकासका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सोचकासाथ काम अगाडि बढाएको उल्लेख गर्दै त्यसमा बेलायत सरकारको साथ र सहयोग आवश्यक रहेको उल्लेख गरे ।


नेपालको विकास निर्माणमा बेलायत सरकारले लामो समयदेखि गर्दै आएको सहयोगप्रति धन्यवाद दिंदै मन्त्री बस्नेतले आगामी दिनमा थप क्षेत्रमा सहकार्य गर्ने बताए ।
उनले ग्रीन हाउस ग्यास उत्सर्जनमा नेपालको भूमिका न्यून भएपनि जलवायु परिवर्तनका कारण नेपाल जस्ता देशले ठूलो समस्या भोग्नुपरेको स्पष्ट पार्दै त्यसबाट जोगिनका लागि अनुकूलनका उपायहरुको खोजी गरिरहेको बताए ।

सो अवसरमा द्विपक्षीय हित र चासोका विविध विषयमा समेत महत्वपूर्ण छलफल भएको ऊर्जामन्त्री बस्नेतको सचिवालयले जनाएको छ । 
बेलायती राजदूत रोब फेनले पछिल्ला दिनमा नेपालले ऊर्जा क्षेत्रमा उल्लेख्य सफलता प्राप्त गरेको भन्दै थप सहकार्यका बारेमा नेपाल सरकारसँग मिलेर काम गर्न तयार रहेको बताएका थिए ।

उनले नेपाल र बेलायतबीच लामो समयदेखि द्विपक्षीय मैत्री सम्बन्ध रहेको उल्लेख गर्दै एक अर्काको समान चासोलाई सम्मान गर्दै अगाडि बढ्ने बताए । सो भेटमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेलगायतको सहभागिता थियो । 

यस्तै, ऊर्जामन्त्री बस्नेतसँग आजै चिनियाँ एक्जिम बैंकका प्रतिनिधि झाओ लियाङले शिष्टाचार भेटवार्ता गरेका थिए ।  सो भेटमा पनि ऊर्जामन्त्री बस्नेतले नेपालको ऊर्जा क्षेत्रको विकासका लागि चीन सरकार र चिनियाँ पक्षले उपलब्ध गराएको सहयोगप्रति धन्यवाद दिए ।

सो अवसरमा आगामी दिनमा नेपालको ऊर्जा क्षेत्रको विकासका लागि थप सहयोग विस्तारलगायतका विषयमा छलफल भएको थियो । 
 


Author

थप समाचार
x