ऊर्जा

एचआईडीसीएलले गर्‍यो चारवटा आयोजनामा १३ अर्ब ऋण स्वीकृत

हालसम्म २३६९ मेगावाटका आयोजनामा २८ अर्ब ३९ करोड लगानी

इकागज |
भदौ ९, २०८० शनिबार १६:३९ बजे

काठमाडौँ- हाइड्रोइलेक्ट्रीसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले एकसाथ चारवटा जलविद्युत् आयोजनामा १३ अर्ब रुपैयाँको ऋण स्वीकृत गरेको छ ।

आयोजनाका प्रवर्द्धकहरूलाई ऋण स्वीकृत पत्र हिजो साँझ एक कार्यक्रम आयोजना गरी ऊर्जा मन्त्रालयका सहसचिव सन्दीपकुमार देवले हस्तान्तरण गरे । 


एचआईडीसीएलले अप्पर तमोर जलविद्युत् आयोजना (२८५ मेगावाट) मा चार अर्ब, जगदुल्ला अर्धजलाशययुक्त (१०६ मेगावाट) मा चार अर्ब, सानिमा जुम जलविद्युत् (५६ मेगावाट) र माथिल्लो मोदी ए (४२ मेगावाट) मा तीन अर्ब ऋण लगानी स्वीकृत गरेको हो ।

विद्युत् विकास विभागका महानिर्देशकसमेत रहिसकेका देवले एचआईडीसीएलले हालसम्म गरेको लगानी (ऋण र स्वपुँजी) क्रमले यो संस्था स्थापनाको औचित्य सिद्ध भएको बताए । जलविद्युतमा लगानी गर्ने उद्देश्यले १२ वर्षअघि स्थापित यो संस्था सरकारी कम्पनी हो ।

सहसचिव देवले अपर तमोर आयोजनाको प्रवर्द्धक कम्पनी तमोर सानिमा इनर्जी प्रालिका अध्यक्ष पुष्पज्योति ढुंगानालाई एचआईडीसीएलबाट ऋण स्वीकृत भएको पत्र हस्तान्तरण गरे । कुल ५५ अर्ब १५ करोड लागत रहेको अपर तमोर नेपालको निजी क्षेत्रबाट निर्माण हुन लागेको सबैभन्दा ठूलो जलविद्युत् आयोजना हो ।

सहसचिव देवले एचआईडीसीएलको उपस्थितिले अन्य बैंक तथा वित्तीय संस्थाहरूलाई पनि लाभ पुग्ने र उनीहरू विश्वस्त हुन सक्ने आधार देखिएको बताए । ‘यी चार आयोजनाका प्रवर्द्धकहरूले जति पनि विद्युतसम्बन्धी अनुमति पत्र (लाइसेन्स) लिनुभएको छ, ती सबै बनाएरै छाड्नुभएको छ,’ देवले भने, ‘यो हिम्मत अति सह्रानीय छ, निर्धारित समय र लागतमा यी आयोजना सम्पन्न गर्नमा मेरो शुभकामना छ ।’

आगामी दिनमा एचआईडीसीएलले जलविद्युत् आयोजनाहरूलाई सहुलियतपूर्ण ब्याज दरमा ऋण दिन सकेमा यो संस्था अझ बढी सार्थक हुने देवको भनाइ थियो । 

विद्युत् ऊर्जा विकासका लागि ऊर्जा मन्त्रालयले हाइड्रोजन नीति मस्यौदा तयार पारेर मन्त्रिपरिषदबाट स्वीकृत गराउने तयारीमा रहेको जानकारी पनि देवले दिए । निजी क्षेत्रलाई प्रसारण लाइन निर्माणमा सहभागी गराउने, ऊर्जा विकास मार्गचित्र कार्ययोजना तर्जुमा अन्तिम चरणमा रहेको पनि देवले उल्लेख गरे ।

एचआईडीसीएलका प्रमुख कार्यकारी अधिकृत अर्जुनकुमार गौतमले स्थापनाकालदेखि हालसम्म एचआईडीसीएलले ३१ वटा जलविद्युत् आयोजनाहरूसँग नाता जोडेको बताए । यसमा १९ वटा आयोजनामा ऋण र १२ वटामा शेयर लगानी गरेको गौतमले जानकारी दिए । 

निजी र सार्वजनिक क्षेत्र गरी ऋण उपलब्ध गराइएका १९ वटा आयोजनाहरूमा २१.२१ अर्ब रुपैयाँ ऋण लगानी भएको गौतमले बताए । यसैगरी एचआईडीसीएलले १२ वटा जलविद्युत् आयोजनामा ६ अर्ब १८ करोड स्वपुँजी (शेयर, इक्वीटी) रुपैयाँ लगानी गरेको छ । ‘शेयर र ऋण गरी एचआईडीसीएलले हालसम्म २७ अर्ब ३९ करोड रुपैयाँ लगानी गरिसकेको छ,’ कार्यक्रममा गौतमले भने, ‘कुल लगानीमध्ये गत आव २०७९/८० मा मात्रै १६ अर्ब ५६ करोड रुपैयाँ लगानी स्वीकृत भएको छ, त्यसैले हालै मात्र सकिएको आर्थिक वर्ष हाम्रो संस्थाका लागि उत्साहवर्द्धक रह्यो ।’

एचआईडीसीएलले ऋण लगानी गरेका १९ वटा आयोजनामध्ये चारवटा सरकारी र १५ वटा निजी क्षेत्रका छन् । गौतमले एचआईडीसीएलले पूर्वको ताप्लेजुङदेखि कर्णालीको डोल्पासम्मका आयोजनामा लगानी गरिएको बताए । 

एचआईडीसीएलले ऋण स्वीकृति पत्र दिएर ती आयोजनामा सहवित्तीयकरणका लागि तयार रहेका बैंक तथा वित्तीय संस्थाहरूलाई उत्साह पुग्ने गौतमले बताए । 

तमोर सानिमा इनर्जीका अध्यक्ष ढुंगानाले एभरेष्ट बैंकको अगुवाइमा ३८ अर्ब ६० करोड रुपैयाँ ऋण लगानी हुने क्रममा रहेको र आगामी असोज १५ भित्र वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौतामा हस्ताक्षर हुने बताए । ‘यो आयोजना नेपाली लगानीबाट निर्माण हुने आयोजनाका लागि कोसेढुंगो सावित हुनेछ,’ कार्यक्रममा अध्यक्ष ढुंगानाले भने, ‘यो आयोजना निर्माणपछि यसबाट भविष्यमा योभन्दा पनि ठूलो आयोजना सहजै निर्माण हुनेछ ।’

एक मेगावाटको पाटी खोलाबाट जलविद्युत् आयोजनामा प्रवेश गरेका ढुंगानाले ४४ मेगावाटको सुपर मादी –अर्धजलाशययुक्त) गत वर्ष निर्माण सम्पन्न गरी व्यापारिक उत्पादन गराउन सफल भएका थिए । उनकै अगुवाइमा हेवाखोला (१५ मेगावाट), तमोर ५ (३७.५ मेगावाट) निर्माण भइसकेको छ भने अपर तमोरसहित पालुङ खोला (२१ मेगावाट) निर्माणको क्रममा रहेको छ ।

त्यसैगरी जगदुल्ला हाइड्रोपवार कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले डोल्पामा निर्माण हुने जगदुल्ला अर्धजलाशययुक्त आयोजनाले कर्णालीको अति पिछडिएको डोल्पाको विकास निर्माणमा ठूलो टेवा पुग्ने भएकाले राज्यले रणनीतिक हिसाबले निर्माण गर्न लागेको जानकारी दिए ।

कुल लागत २२ अर्ब ६७८ करोड रुपैयाँ रहेको जगदुल्ला निर्माण भएपछि दैनिक ६ घण्टा पिकिङ (साँझपख) को बिजुली उत्पादन गर्ने अर्धजलाशययुक्त प्रकृतिको आयोजना हो । ‘जनताको जलविद्युत्’ कार्यक्रम अन्तर्गत कर्णाली र डोल्पाका पालिकाहरूले समेत शेयर लगानी गरेर डोल्पामा राज्यको उपस्थिति देखाउन र त्यस क्षेत्रको बाटोघाटो, विद्युतीकरण, सञ्चार लगायतका पूर्वाधार निर्माणमा ठूलो टेवा पुग्ने प्रमुख कार्यकारी अधिकृत सापकोटाले बताए ।

सापकोटाले यसको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) पूरा गर्ने, वित्तीय व्यवस्थापनका लागि नेपाल पूर्वाधार विकास बैंकको अगुवाइमा नबिल बैंक, कर्मचारी सञ्चय कोष र एचआईडीसीएलबाट लगानी गर्ने तयारी भइरहेको जानकारी दिए । उनका अनुसार आगामी वर्षदेखि यो आयोजनाको निर्माण कार्य सुरु हुनेछ । 

यसैगरी सानिमा जुम जलविद्युत् आयोजनाको प्रवर्द्धक कम्पनी सानिमा जुम हाइड्रोपावर कम्पनीका डा. जुगल भुर्तेलले एचआईडीसीएलको लगानी विद्युत् क्षेत्रकै लागि उत्प्रेरणा भएको बताए । लगानीका दृष्टिकोणले बैंकहरू पनि उदार देखिएको उल्लेख गर्दै डा. भुर्तेलले लगानी वातावरण र संयन्त्र निर्माणमा प्रगति भए पनि स–साना अवरोधहरू हटाउन ठूलो संघर्ष गर्नुपरेको बताए ।

उनले ७३ मेगावाटको मध्य तमोर जलविद्युत् आयोजना निर्माण भयो अब समयमै प्रसारण लाइन बन्छ कि बन्दैन भन्ने पिरलो रहेको गुनासो गरे । ‘लगानीकर्ताको उत्साहअनुसार विकास गर्न सक्छौँ कि सक्दैनौँ भन्ने चिन्ता छ,’ उनले भने, ‘भारतले विस्फोटक पदार्थ रोक्यो, त्यो बेला हारगुहार गर्ने कोही पाइएन ।’

डा. भुर्तेलले जलविद्युत् निर्माणका क्रममा कृत्रिम अवरोध सिर्जना हुँदा आयोजनाको लागत बढ्ने जोखिम रहेको उल्लेख गरे । दोलखामा निर्माणाधीन सानिमा जुखम (५६ मेगावाट) को कुल लागत ११ अर्ब ६० करोड रुपैयाँ छ । याे नदी प्रवाही आयोजना हो । 

माथिल्लो मोदी–ए (४२ मेगावाट) को प्रवर्द्धक कम्पनी मोदी जलविद्युत् कम्पनी लिमिटेड (नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी) का कार्यकारी निर्देशक सूर्य पौडेलले एचआईडीसीएलले तीन अर्ब रुपैयाँ ऋण लगानी स्वीकृत गरेपछि अरु बैंकहरूलाई पनि लगानी गर्न उत्प्रेरित गर्ने बताए । 

पौडेलेले गत वर्ष आयोजनाको टेण्डर गरिए पनि त्यसलाई रद्द गरेर पुनः अर्काे टेण्डर गरिएको जानकारी दिए । प्राधिकरणको ६८ प्रतिशत सर्वसाधारणको ३८ प्रतिशत शेयर रहने गरी निर्माण हुन लागेको यो आयोजनाको वित्तीय व्यवस्थापनका लागि एनएमबी बैंकको सञ्चालक समितिले निर्णय गरिसकेको पनि पौडेलले बताए । कुल १० अर्ब ८ करोड लागत रहेको यो आयोजना निर्माणमा गएपछि चार वर्षमा पूरा गर्ने लक्ष्य छ ।


Author

थप समाचार
x