ऊर्जा

प्रधानमन्त्रीको आडमा सीता हाइड्रोपावरको ज्यादती

मृतकका पीडित परिवारसहित २२ जनाविरुद्ध किटानी जाहेरी

इकागज |
चैत १२, २०७९ आइतबार १९:१ बजे

काठमाडौं– सीता हाइड्रोपावरले गत फागुन १५ गतेको घटनालाई लिएर घटनासँग सम्बन्ध नै नभएको व्यक्तिहरूलाई मुद्दा हालेको छ । मुद्दामा प्रतिवादी बनाइएका अधिकांश व्यक्तिहरू मृतकको पीडित परिवार, आफन्त र घटनाको दिन घटनास्थलमै नरहेको, काठमाडौंमा रहेकाहरू समेत छन् ।

गत फागुन १५ गते सीता हाइड्रोपावर प्रा.लि.ले बनाइरहेको न्यासिम खोला (३५ मेगावाट) जलविद्युत् आयोजनाका लागि लगिएको विद्युत् लाइनमा करेन्ट लागि एक किशोरीको मृत्यु भएको थियो । उक्त घटनापछि आक्रोशित स्थानीयले आयोजना स्थलमा तोडफोड गरेका थिए । 


११ हजार भोल्टेजको डाइरेक्ट लाइन प्रवाहित भएको तार अड्याइएको पोलदेखि तीन मिटर पर आलु रोप्दै गरेकी १४ वर्षीया नोर्जी वाङ्मु लामालाई करेन्टले तानेको थियो । मृतक लामाकी दाजु राजमान लामा र आमा सोमरानी तामाङलाई भने करेन्टको झड्काले फालेको थियो । उनीहरू दुईजना घाइते यद्यपि उपचाररत छन् ।

कम्पनीका तर्फबाट अध्यक्ष पुत्र तथा सञ्चालक समितिका सदस्य प्रल्हाद तिमिल्सिनाले जिल्ला प्रहरी कार्यालयमा हालै उक्त घटनामा संलग्न भएको भनी २२ जना स्थानीय बासिन्दाविरुद्ध किटानी जाहेरी हालेका हुन् । 

जिल्ला अदालत सिन्धुपाल्चोकले जाहेरी परेकाहरूविरुद्ध पक्राउ पूर्जी जारी गरिसकेको छ । जुगल गाउँपालिकाका वडा नं. ३ का अध्यक्षसहित वडा सदस्य दुईजनालाई पक्राउ पूर्जी जारी भइसकेको छ । 

आयोजनाले काम गरेको पैसा तिर्नुपर्ने, जग्गाको मुआब्जा तिर्न बाँकी रहेका, आयोजनालाई सहयोग नगरेकाहरू अधिकांशलाई मुद्दा लगाइएको छ । तिमिल्सिनाले किटानी जाहेरी दिएकाहरूमा घटनाका दिन अधिकांश काठमाडौंंमा रहेका र घटनास्थलमा नभएका व्यक्तिहरू छन् । करिब डेढ सय जना व्यक्तिको जग्गा लिएर पैसा नपाएका सोझासाझा गाउँलेहरू पनि जाहेरीमा परेका छन् । 

आयोजनाको प्रवेश मार्ग निर्माण गरेका तर त्यसबापत १३ लाख रुपैयाँ भुक्तानी नपाएका सिन्धुपाल्चोकको जुगल–३, गुम्बाका पासलाल तामाङलाई पनि तिमिल्सिनाले मुद्दा लगाएका छन् । तामाङले साढे तीन किलोमिटर सडक खनेका थिए । उक्त सडक क्षेत्रमा करिब ३५ जनाको जग्गा अधिग्रहण गरिएको थियो । तर कसैले पनि मुआब्जा रकम नपाएको तामाङले बताए ।

यसैगरी काठमाडौंमा डेरा गरी काम गर्दै जुगल ३ का बासिन्दा तथा नेकपा एमालेको वडा नं. ३ कमिटीका अध्यक्ष हिमाल तामाङविरुद्ध पनि जाहेरी परेको छ । मृतक लामाका मामा एवं एमालेका निर्वाचित वडा सदस्य अभिशाप तामाङ, अर्का वडा सदस्य सूर्य लामा, वडा ३ का निर्वाचित अध्यक्ष लक्ष्मण दोङ, जुगल गाउँपालिकाका नेपाली कांग्रेसका उपसभापति साङबो शेर्पा, मृतककी अर्का मामा आन्द्रे तामाङ, घटनाबारे बेखबर रहेका तथा काठमाडौंमा बसोबास गरिरहेका चेङ्गा लामाविरुद्ध पनि जोहरी परेको छ ।

तिमिल्सिनाले मृतक परिवारका आफन्त, नातागोता र पीडित व्यक्ति र स्थानीय बासिन्दालाई मुछेका छन् । यसबाहेक उनको आयोजनाले जग्गा अधिग्रहण गरिएको जग्गाको मुआब्जा नपाएका स्थानीय गाउँलेहरूलाई पनि तारो बनाएका छन् । 

आयोजनाले करिब डेढ सय रोपनी जग्गा अधिग्रहण गरेको छ । तर एकजनालाई पनि मुआब्जा नदिएको पीडितहरूले बताएका छन् ।

गत फागुन १५ गते मृतक लामा उनकी आमा र दाजुसँग आलु रोप्न जान लाग्दा घरनजिकको बारीमा रहेको पोल (११ हजार भोल्टेज) ले तान्यो । आमा र दाजुलाई झड्का हानेर फाल्यो भने लामालाई तान्यो र उनको क्षणभरमै मृत्यु भयो ।

उक्त घटना लगत्तै आक्रोशित स्थानीयले आयोजनास्थलमा रहेका यन्त्र उपकरण तोडफोड गरे । आयोजनाबाट पीडित पासलाल तामाङका अनुसार बढीमा १० लाख रुपैयाँ मात्र क्षति भएको छ । कम क्षति हुँदा पनि बीमाबाट धेरै असुल्न १३ करोड क्षति भएको दाबी आयोजनाले गरेको छ । ‘नांगो आँखाले हेर्दा मुश्किलले १०, १२ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छैन,’ स्थानीय पासलाल तामाङले भने । 

लाइनमा विद्युत प्रवाह नगर्न स्थानीयवासीले प्रमुख जिल्ला अधिकारीलाई लेखेकाे पत्र । बिजुली नछाड्ने सहमति भएर पनि सीता हाइड्राे आफैँले लाइन जाेड्दा १४ वर्षीया एक किशाेरीकाे मृत्यु हुन पुगेकाे थियाे ।

 

किन भए स्थानीय आक्रोशित ?

आयोजनाले कन्स्ट्रक्सन पावर (बिजुली) सिन्धुपाल्चोकको जलवीरे शाखाबाट लाइन लगेको छ । गत फागुन ६ गते विद्युत् प्राधिकरणको लाइन मर्मत गर्न सीता हाइड्रोले कामदार सरोज थारुलाई ‘एकछिनको लागि’ भन्दै लगाएको थियो । काम गरेबापत ज्याला पनि दिने भनिएको थियो ।

थारुले आयोजनास्थलमा लगिएको विद्युत् प्राधिकरणको शाखा लाइन बन्द गरी आयोजनास्थलतर्फ लगिएको लाइन मर्मत गर्दै थिए । थारु लाइन मर्मत गरिरहेकै बेला सीता हाइड्रोका कर्मचारीले आयोजनाकै जेनेरेटर लापर्वाहीपूर्ण तवरले ‘अन’ गरिदिए । थारुको तत्काल मृत्यु भयो । थारुको मृत्यु भएपछि स्थानीयले तत्कालै सामान्य तोडफोड गरेका थिए । 

आयोजनाले लगेको लाइनमा धुँवा आएको देखेपछि स्थानीय बासिन्दाले भोलिपल्ट फागुन ७ गते जोखिम ठानेर इलाका प्रहरी कार्यालय, जलवीरेको रोहबरमा विद्युत् प्राधिकरण र सीता हाइड्रोपावरलाई सुरक्षित नबनाएसम्म बिजुली प्रवाह नगर्न निवेदन दिएका थिए ।

स्थानीयको निवेदनपछि प्रहरी निरीक्षक हरि भट्टको रोहबरमा प्राधिकरण, सीता हाइड्रो र स्थानीय बासिन्दाबीच  व्यवस्थित र सुरक्षित नबनाएसम्म बत्ती नजोड्ने सहमति भएको थियो ।

उक्त सहमतिविपरीत सीता हाइड्रोले गत फागुन १४ गते दुईजना कर्मचारीलाई खटाई अन्दाजी साँझ ६ बजे उक्त लाइन जोडे । उनीहरूले खुसुखुसु लाइन जोडेको स्थानीय दुईजना महिलाहरूले देखेका थिए । लाइनमा बिजुली छाडेको भोलिपल्ट उक्त घटना हुन पुगेको थियो । प्राधिकरणको जलवीरे नो लाइटका कर्मचारी पदम श्रेष्ठले उक्त लाइनमा बिजुली प्रवाह सीता हाइड्रोकै कर्मचारीहरूले गरेको बताए । 

प्रधानमन्त्रीको साथ

सीता हाइड्रोपावरका अध्यक्ष सीताराम तिमिल्सिनाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी आफ्नो आयोजना तोडफोडमा संलग्नलाई कारबाही गर्न आग्रह गरेका थिए । प्रधानमन्त्री दाहालको निर्देशनमा गृह मन्त्रालयका सहसचिव सुमन घिमिरेको संयोजकत्वमा सात सदस्यीय छानबिन टोली गठन गरिएको थियो । टोलीले घटनास्थल पुगी सबै विवरण संकलन गरे पनि स्थानीय बासिन्दालाई प्रतिवेदन नदिएको उनीहरूले बताएका छन् ।

पहिला दरबार निकट रहेका तिमिल्सिनालाई प्रधानमन्त्री दाहालसँग अजय सुमार्गीले भेटाएका थिए । सुमार्गी र तिमिल्सिना साँडुदाइ र साँडुभाइ हुन् ।सुमार्गीलाई उपयोग गरी तिमिल्सिनाले ‘प्रधानमन्त्री परिचालन’ गराउन सफल भएका हुन् ।

घरनिरैकाे बारीमा आलु राेप्न लाग्दा यही लाइनबाट विद्युत सर्ट भएकाे थियाे ।

मुद्दा फिर्ता नभएसम्म आयोजना चल्न दिंदैनौं : दलहरू

गाउँका सोझासाझा स्थानीयवासीलाई शक्ति र पदको आडमा फसाउन लागेपछि जुगल गाउँपालिका वडा नं. ३, सिन्धुपाल्चोकका नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीले केन्द्रले संयुक्त विज्ञिप्त प्रकाशित गरी मुद्दा फिर्ता नभएसम्म आयोजनामा काम गर्न नदिने चेतावनी दिएका छन् ।

‘हामी संयमतापूर्वक राज्य र आयोजना पक्षलाई समस्याको समाधान खोज्न र स्थानीयमाथि लगाएको झूटो मुद्दा फिर्ता लिन आग्रह गर्दर्छाैं,’ विज्ञप्तिमा छ, ‘मुद्दा अविलम्ब फिर्ता गर्नुका साथै मृतकका परिवार र पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउने र असुरक्षित विद्युत् लाइन तुरुन्त हटाउन माग गर्छौं ।’
दलहरूले आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन  सार्वजनिक गर्न माग गर्दै आफ्ना मागहरू पूरा नभएसम्म आयोजनाको कुनै पनि काम सञ्चालन नगर्न माग गरेका छन् ।

यस सम्बन्धमा सीता हाइड्रोपावरका अध्यक्ष सीताराम तिमिल्सिना र उनका छोरा तथा कम्पनीका सञ्चालक समितिका सदस्य प्रल्हाद तिमिल्सिना इकागजको सम्पर्कमा आउन चाहेनन् । 
 


Author

थप समाचार
x