ऊर्जा

टनकपुर लिंक क्यानल बन्यो, तर भारतले पानी दिएन

विकास थापा |
फागुन १२, २०७९ शुक्रबार १८:५३ बजे

काठमाडौं– महाकाली सन्धि भएको २५ वर्षपछि भारतले नेपाललाई पानी दिन बल्लबल्ल लिंक क्यानल (नहर) बनायो । तर पानी भने दिएको छैन ।

महाकाली सन्धिमा टनकपुर हेडरेगुलेटरबाट नेपालले वर्षायाममा २८.३५ क्यूमेक (घनमिटर प्रतिसेकेण्ड) र हिउँदयाममा ८.५ क्यूमेक (३ सय क्यूसेक) पानी पाउने उल्लेख छ । लिंक क्यानलबाट पानी छाडी परीक्षणसमेत सकिएको छ तर भारतले यसको उद्घाटन नभएको भन्दै पानी दिन नमानेको सिंचाइ विभाग स्रोतले बतायो ।


भारतले वर्षाैं लगाएर गत असारमा १२ सय मिटर लिंक क्यानल निर्माण सम्पन्न गरेको थियो । यो संरचनाबाट नेपालले महाकाली तेस्रो सिंचाइ आयोजना सञ्चालन गरेको छ । ३३ हजार ५ सय २० हेक्टर खेतमा सिंचाइ पुर्‍याउन आर्थिक वर्ष २०६३/६४ देखि महाकाली सिंचाइ आयोजना निर्माण सुरु गरिएको हो ।

टनकपुर ब्यारेजमा जम्मा भएको पानी नेपाललाई दिंदा भारतीय सरकारी संस्थान नेशनल हाइड्रोपावर कर्पाेरेशन (एनएचपीसी)ले उत्पादन गर्दै आएको बिजुलीको परिमाण घट्ने भएकाले पानी नदिएको सिंचाइ विभागका अधिकारीहरु बताउँछन् ।

उनीहरुका अनुसार भारत सरकारले नेपाललाई पानी दिएपछि विद्युत् उत्पादनमा हुने कटौतीको शोधभर्ना नदिएकाले एनएचपीसीले नेपाललाई पानी रोकेको हो । सन् १९९२ देखि सञ्चालनमा आएको टनकपुर विद्युत् गृहको क्षमता १२० मेगावाट छ । यो विद्युत् गृहमा ५ सय ६६ क्यूमेक्स पानी खपत हुने गरी डिजाइन गरिएको छ । विद्युत् गृहमा ४० मेगावाटका तीन वटा युनिट छन् ।

महाकाली तेस्रो सिंचाइ आयोजना प्रमुख रणबहादुर बम भने लिंक क्यानलको औपचारिक उद्घाटन नभएकाले भारतले पानी नदिएको बताउँछन् । उनका अनुसार यसको उद्घाटनका लागि परराष्ट्रले पत्राचार गरिसकेको छ । ‘उद्घाटन भएपछि हामीलाई पनि दिने भनेका छन्,’ बमले शुक्रबार इकागजसँग भने ।

गत असारमा क्यानल परीक्षणका क्रममा २२ किलोमिटरसम्मको मूल नहरमा पानी प्रवाह भएको बमले बताए । उनका अनुसार १९ किलोमिटरसम्म गत असारमा परीक्षण गरिएको पानीले रोपाईं गरिएको थियो । हालसम्म यो आयोजनाको १५.१५ प्रतिशत निर्माण कार्य पूरा भएको आयोजना प्रमुख बमले बताए । हालसम्म बनेको संरचनाले ५ हजार तीन सय हेक्टरमा सिंचाइ पुग्नेछ ।

टनकपुर ब्यारेजको कति उचाइबाट नेपालले पाउने पानी खसाल्ने भन्ने हेड रेगुलेटरको उचाइसम्बन्धी विवाद पनि निकै चल्यो । भारतले नेपाललाई २४५ मिटरको उचाइबाट पानी दिन चाहेको थियो भने नेपालले २४२ मिटरको लेभल मागेको थियो । यो विवाद निरुपण नभएका कारण नेपालले पानी पाउन सकेको थिएन । 

भारतले आफूले भने नेपालको भन्दा ३.५ मिटर होचो गरी टनकपुर ब्यारेजबाट पानी लगिरहेको थियो । नेपाल भारत जलस्रोत सचिव स्तरीय सातौं बैठकले टनकपुरको सिल लेभल २४४.२५ मिटर कायम गरेको थियो । 

दोधारा–चाँदनीलाई पनि पानी दिएन

भारतले महाकाली सन्धिको धारा ४ मा उल्लेख भएको दोधारा र चाँदनी क्षेत्रको लागि १० घन मिटर (३५० क्यूसेक) पानी हालसम्म दिएको छैन । सन् २०२० को डिसेम्बरमा नेपालका ऊर्जा सचिव र भारतको जलस्रोत सचिवबीच सन्धिमा उल्लेख भएको पानी दोधारा र चाँदनी क्षेत्रलाई दिने सहमति भएको थियो ।

पछिल्लो पटक भएको नेपाल–भारत संयुक्त जलस्रोत समिति (जेसीडब्लूआर) को बैठकमा भारतले सहमति भइसकेको र सन्धिमै उल्लेख भएको विषयलाई पनि पहिले धारा ३ (पञ्चेश्वर निर्माण) कार्यान्वयन गर्ने त्यसपछि मात्र धारा ४ (दोधारा र चाँदनीलाई पानी) लागू हुने अत्तो थापेको थियो ।

भारतीय पक्षले नेपाललाई पानी नदिन सन्धिको धाराको उपव्याख्या गर्दै आएको छ । धारा ३ मा पञ्चेश्वर बहुउद्देश्यीय परियोजना महाकाली नदीमा बनाइने उल्लेख छ। पञ्चेश्वर बनेपछि मात्र दोधारा र चाँदनीले पानी पाउने भारतले कुतर्क गर्दैै आएको हो ।

महाकाली नदीमा वार्षिक उपलब्ध हुने २० अर्ब घनमिटर पानीमध्ये १९ अर्ब घनमिटर पानी भारतले एकलौटी उपयोग गर्दै आएको छ । महाकाली सन्धिले चिन्दै नचिनेको तल्लो शारदाको खाइपाइ आएको पानी (कन्जमटिभ युज) कटाएर मात्र बाँकी पानी आधा आधा हुने भन्दै अत्तो थापेका कारण पञ्चेश्वरमा दुई देशबीच सहमति यद्यपि हुन सकेको छैन । टनकपुर ब्यारेजबाट तल्लो शारदाका लागि भारतले ७ अर्ब घन मिटर पानी लगेको छ ।

भारतले २० अर्ब घन मिटर पानीमध्ये शारदा, टनकपुर आदिलाई घटाएर नेपालको भागमा जम्मा ३.५ अर्ब घनमिटर पानी मात्र पाउने जिकिर गर्दै आएको छ । नेपालले भने ६ अर्ब घनमिटर पानी पाउने पर्ने अडान राख्दै आएको छ ।


Author

विकास थापा

जलविद्युत तथा राजनीतिक विषयमा कलम चलाउने थापा प्रधान सम्पादक हुन्।


थप समाचार
x