रोजगारी

प्रधानमन्त्री रोजगारको पैसा कीर्ते बिल भरपाई बनाएर अनियमितता

इकागज |
कात्तिक २३, २०७८ मंगलबार १४:२२ बजे

उदयपुर- उदयपुरको बेलका नगरपालिकामा प्रधानमन्त्री रोगजार कार्यक्रमको रकम अनियमितता भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रममा नाम निस्केका बेलका नगरपालिका-४ का मजदुरको नाममा कीर्ते बिल भरपाई बनाएर अनियमितता गरेको सार्वजनिक भएको छ । 

वडा नम्बर ४ मा विनियोजन भएको रकम कीर्ते बिल भरपाई बनाएर खाएको रहस्य सार्वजनिक भएको हो । गत आर्थिक वर्ष ०७७/०७८ मा बेलका नगरपालिका -४ को तीन वटा योजनाका निम्ति विनियोजन भएको रकम काम नै नगरिकन निर्माण उपभोक्ता समिति, जनप्रतिनिधि र कर्मचारीको मिलेमत्तोमा कीर्ते बिल भरपाई बनाएर निकासा गरि खाएको भेटिएको छ । कुल १९ लाख ६४ हजार ६०० रुपैयाँ विनियोजन भएकोमध्ये १३ लाख २० हजार ६५३ रुपैयाँ काम नै नगरिकन कीर्ते बिल भरपाई बनाएर पेस गरि निकास गरेर खाएको भेटिएको हो । 


वडामा सञ्‍चालित तीन वटै योजनामा मजदुरको डोर हाजिरी कीर्ते बनाएर मजदुरको नाममा कुमारी बैंकमा खाता खोलेर चेकमा कीर्ते हस्ताक्षर गरि समितिका पदाधिकारीले रकम निकालेर अपचलन गरेको पीडितहरूको गुनासो छ । नगरपालिकाले तिमीहरूको नाममा पैसा आएको रहेछ कुमारी बैंकमा खाता खोलेपछि पाइन्छ भन्दै स्थानीयवासीको नागरिकता लिएर गएको पीडित रचनाकुमारी नेपाली सार्कीले बताइन् ।

नागरिकता १५ दिनपछि फिर्ता गरेको र बैंकमा खाता खोल्न पनि आफू नगएको र चेकमा समेत हस्ताक्षर नगरेको उनको भनाइ छ । तर, उनको नाममा प्रधानमन्त्री रोजगार कार्यक्रमको डोर हाजिरीमा ७१ दिन काम गरेको र दैनिक ५१७ रुपैयाँका दरले ३६ हजार ७६८ रुपैयाँ बुझेको देखिन्छ । उनलाई नगरपालिका आउजाउ गरेको भनेर ५०० रुपैयाँ मात्र दिएको बताइन् । 

प्रधानमन्त्री रोजगार कार्यक्रमको वडा नम्बर ४ मा गर्भे सडक हुँदै दमही कल्भर्ट निर्माण योजनामा एक लाख तीन हजार ८५० रुपैयाँ, सुन्दरीनगरी डाँडाटोल हुँदै बबला– ६ जोडने सडक निर्माण योजनामा छ लाख ९८ हजार ६७४ रुपैयाँ र ठोक्सिला कटारी खानेपानी योजना चार लाख ४१ हजार २२२ रुपैयाँ गरि १३ लाख ६४ हजार ६०० रुपैयाँको तीनवटा योजनाका ३८ जना मजदुरको नाममा कीर्ते डोर हाजिरदेखि किर्ते बिल भरपाई बनाएर ठगी गरेको भेटिएको हो । 

आर्थिक वर्ष २०७७/७८ मा नगरपालिकामा सञ्‍चालन गरिएको सो कार्यक्रममा वडा कार्यालयले ३८ जनालाई काममा लगाएको स्थानीय जीतबहादुर मगरले जानकारी दिए । काममा लगाइएका सबै मजदुरको कुमारी बैंक रामपुर शाखामा रकम जम्मा गरेको नगरपालिकाका रोजगार संयोजक विमला थापाले जानकारी दिइन् । सो वडाका मजदुरका लागि १९ लाख ६४ हजार ६०० रकम विनियोजन भए पनि १३ लाख २० हजार ६५३ रुपैयाँ खर्च भएको संयोजक थापाले बताईन् ।

 बेलका नगरपालिका- ४ ठोक्सिला कटारी खानेपानी योजना निर्माणको लागि १२ जनाले रोजगार पाएको नगरपालिकाको तथ्याकंमा उल्लेख छ ।

बेलका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन निरौलाले  गलत काम गरेको प्रमाणित भए कर्मचारी, जनप्रतिनिधि वा समिति जो सुकै भए पनि सजायको भागिदार हुने बताए । प्रधानमन्त्री रोजगार कार्यक्रममा बेरोजगारहरूलाई अनिवार्य रूपमा १०० दिन रोजगारी दिनुपर्ने व्यवस्था छ । 


Author

थप समाचार
x