स्थानीय तह निर्वाचन २०७९

महाेत्तरीमा गठबन्धनलाई हराउँदै जसपा र लाेसपाकाे राज

सुभाष कर्ण |
जेठ ९, २०७९ सोमबार १४:० बजे

जनकपुरधाम- वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा महोत्तरीको १५ वटै पालिकाको नतिजा सार्वजनिक भएको छ ।  जिल्लाकाे १५ वटा स्थान मध्ये लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) नेपाल र जनता समाजवादी पार्टी (जसपा) नेपालले ५/५ वटा, कांग्रेसले २, एमाले, तमलोपाले १/१ वटा पालिका हात पारेका छन् ।

सत्ता गठबन्धन दलका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले एउटा पनि पालिका जित्न सकेका छैनन् भने  दलहरू बाहेक कांग्रेसका बागी उम्मेदवारले पनि स्वतन्त्रबाट निर्वाचित भए । सत्ता गठबन्धन दलका जसपाले जलेश्वर नगरपालिका, गाैशाला नगरपालिका एकडारा गाउँपालिका, सम्सी गाउंपालिका, पिपरा गाउँपालिका, कांग्रेसले मनरा शिस्वा र लाेहरपट्टी नगरपालिका जितेका छन् भने बर्दिबास नगरपालिकामा कांग्रेसकै बागी उम्मेद्वार जितेका छन् ।


प्रतिपक्षी दलबाट लाेसपाले अाैरही नगरपालिका, बलवा नगरपालिका, मटिहानी नगरपालिका, भंगहा नगरपालिका, साेनमा गाउंपालिका, एमालेले रामगाेपालपुर नगरपालिका र तमलाेपाले महाेतरी गाउंपालिकामा जित्न सफल भए । 

जसपाबाट एकडारा गाउँपालिकाकाे अध्यक्ष र उपाध्यक्ष दुवैमा जसपाकै उम्मेद्वार  निर्वाचित भएका छन् । अध्यक्षमा जसपाका दीप नारायण मण्डल उपाध्यक्षमा महजबी खातुन निर्वाचित भएकी छन् । सम्सी गाउँपालिकाकाे अध्यक्षमा जसपाका रामनाथ यादव र उपाध्यक्षमा अनिताकुमारी निर्वाचित भएकी छिन् भने पिपरा गाउँपालिकामा पनि जसपाका दिपनारायण मण्डल र उपाध्यक्षमा वन्दना पाण्डेय निर्वाचित भएकी छन् ।

महोत्तरीको गौशाला नगरपालिकामा माओवादीको किल्ला भत्किएको छ । ०७४ मा अत्याधिक बहुमत साथ मेयर उपमेयर सहित निर्वाचित भएका माओवादीको किल्ला भत्काउन जनता समाजवादी पार्टी नेपाल सफल भएका छन् । अध्यक्षमा दिपेन्द्र महतो र उपमेयरमा जसपाकी रेनु कुमारी महतो निर्वाचित भएकी छन् । 

त्यस्तै, जलेश्वर नगरपालिकामा जनता समाजवादी पार्टी नेपालका मेयर र उपमेयर निर्वाचित भएका छन् । मेयरमा सुरेश साह सोनार र उपमेयरमा रौशन खातुन निर्वाचित भएकी छन् । औरही नगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका मेयरमा प्रदिप कुमार खड्का र उपमेयरमा लोसपाकै रेणु झा निर्वाचित भएकी छन् भने बलबा नगरपालिकामा मेयरमा लोसपाका रामविजय महतो र उपमेयरमा नेपाली कांग्रेसकी रामदुलारी देवी निर्वाचित भएकी छन् । 

त्यस्तै, मटिहानी नगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका मेयर र उपमेयर निर्वाचित भएका छन् । मेयरमा हरिप्रसाद मण्डल पुनः दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । उपमेयरमा पनि लोसपाकै मञ्जु देवी निर्वाचित भएकी छन् । सोनमा गाउँपालिकाकाे अध्यक्षमा लोसपाका विशेश्वर प्रसाद यादव र उपाध्यक्षमा लोसपाकी जहिदा खातुन निर्वाचित भएकी छन् भने भंगहा नगरपालिकामा पनि मेयरमा लाेसपाका  मेयरमा संजीव कुमार साह र उपमेयरमा कांग्रेसकी शान्ति कुमारी सिंह निर्वाचित  भएकी छन् । 

उता, मनरा सिस्वा नगरपालिकामा नेपाली कांग्रेसका मेयर र उपमेयर निर्वाचित भएका छन् । मेयरमा मोहन पाण्डे र उपमेयरमा शकुन्तला देवी निर्वाचित भएकी छन् भने लोहारपट्टी नगरपालिकामा कांग्रेसकै मेयर र उपमेयर निर्वाचित भएका छन् । मेयरमा कांग्रेसका शैलेन्द्र कुमार यादव दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका हुन् भने उपमेयरमा कांग्रेसकै सरिता शर्मा निर्वाचित भएकी छन् । 

उता, बर्दिबास नगरपालिकाको नगरप्रमुख र उपप्रमुख पदमा स्वतन्त्र उम्मेदवारहरुले जित हासिल गरेका छन् । बर्दिबास नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार प्रहलाद कुमार क्षेत्री र उपमेयरमा तारादेवी निर्वाचित भएका छन् ।

यता महोत्तरीको महोत्तरी गाउँपालिकामा तराई मधेश लोकतान्त्रिक पार्टीका उम्मेदवार अध्यक्ष र जनता समाजवादी पार्टीका उम्मेदवार उपाध्यक्षमा निर्वाचित भएका छन् । त्यस्तै, रामगोपालपुर नगरपालिकामा नेकपा एमालेका मेयर र उपमेयर निर्वाचित भएका छन् । मेयरमा एमालेका राम दुलार साह र उपमेयरमा एमालेकै रीनादेवी यादव निर्वाचित भएकी छन् । 

 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x