स्थानीय तह निर्वाचन २०७९

गोपाल हमाललाई बधाई दिन मिश्र र पाण्डेको प्रतिस्पर्धा, स्वामित्व खोज्ने कसरत

इकागज |
जेठ ८, २०७९ आइतबार १०:५५ बजे

काठमाडौं – धनगढी उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल निर्वाचित भएका छन् । हमालले निकटतम प्रतिस्पर्धी कांग्रेसका नृपबहादुर वडलाई १२ हजार ४८ मतान्तरले हराएर उनी विजयी भएका हुन् । हमालले २६ हजार ८ सय ६५ मत ल्याउँदा वडले १४ हजार ८ सय १७ मत मात्रै ल्याए । 

हमाल विजयी भएपछि उनलाई सामाजिक सञ्जालमा बधाई तथा शुभकामना दिनेको लहर चलिरहेको छ । यहीबीच विवेकशील साझाका अध्यक्ष रविन्द्र मिश्र र विवेकशीलका तत्कालीन संयोजक मिलन पाण्डेबीच हमाललाई बधाई दिन प्रतिस्पर्धा जस्तो देखिएको छ । हमालको जितको स्वामित्व लिन उनीहरूबीच हानथाप जस्तो भएको देखिएको छ । हमालले २०७४ को निर्वाचनमा पनि धनगढीको मेयरमा उम्मेदवारी दिएका थिए । त्यसबेला उनी कांग्रेसकै वडसँग पराजित भएका थिए ।


तर, पार्टी भित्रका आन्तरिक द्वन्द्व र  आन्तरिक मतभेदले यसपटक उनले पार्टी त्यागेर स्वतन्त्रबाटै उम्मेदवारी दिएका थिए । 

उनले हाँसिल गरेको सफलतामा आफ्नो स्वामित्व लिन विवेकशीलका वर्तमान र तत्कालीन नेताबीच प्रतिस्पर्धा जस्तो देखिएको छ । नवनिर्वाचित मेयर हमाललाई  विवेकशील साझाका अध्यक्ष मिश्रले भ्रष्टाचारी जेल परून् भनेर शुभकामना दिए । उनले पार्टीहरूप्रतिको वितृष्णाले हमालले स्वतन्त्र उठ्न चाहेको बताएका छन् । 

‘गोपी हमालजीलाई धेरैधेरै शुभकामना ! भ्रष्टाचारी जेल परून्,’ मिश्रले लेखेका छन्, ‘झण्डै ५ वर्ष सहयात्रा गर्यौ । तपाईंकै नेतृत्वमा सुदूरपश्चिमका सबै जिल्लामा भ्रष्टाचार विरोधी यात्रा गर्यौं । पार्टीहरूप्रतिको वितृष्णाले स्वतन्त्र उठ्न चाहनुभयो । शानदार जित हासिल गर्नुभयो ।’

उनले हमाल भ्रष्टाचार विरोधी भएकाले त्यतिमा ध्यान दिए ठिक हुन पनि बताएका छन् ।  ‘तपाईं दृढ, सक्षम र दूरद्रष्टा (भिजनरी) हुनुहुन्छ,’ उनले लेखेका छन्, ‘अब तपाईंको छातिमा लेखिएजस्तै ‘भ्रष्टाचारी जेल परून्!’ बाँकी सबै ठीक हुन्छ ।’

मिश्रले  धनगढीको रूपान्तरणका लागि के गर्नुपर्छ भन्ने हमाललाई थाहा भएको भन्दै उनले आफ्नो शुभकामना दिएका छन् ।

यस्तै विवेकशीलका तत्कालीन संयोजक पाण्डेले पनि उनलाई सामाजिक सञ्जाल मार्फत शुभकामना दिएका छन् । पाण्डेले लेखेका छन्, ‘गोपीजीलाई धेरै धेरै बधाई । तपाईँको नेतृत्वमा धनगढी अझ सुन्दर बनोस् । अझ समृद्ध बनोस् ।’ 


Author

थप समाचार
x