शिक्षा

संस्कृत माध्यमिक विद्यालयमा ब्राम्हणभन्दा अन्य समुदायका विद्यार्थीकाे संख्या बढ्दै

अतिन आचार्य |
बैशाख १६, २०७९ शुक्रबार २०:२९ बजे

काठमाडौँ - पछिल्लो समय संस्कृत माध्यमिक विद्यालय दरबार हाई स्कुलमा जनजाति, दलित र मधेसी समुदायका विद्यार्थीहरूको आकर्षण बढदै गएको छ । कुनै समय विद्यालयमा संस्कृत पढाउन बन्देज थियो ।  माओवादी जनयुद्धकालीन सुरु भएदेखि संस्कृत शिक्षा विद्यालयमा पढाउन बन्द भएको थियो ।

अहिले भने विस्तारै संस्कृत भाषाप्रति झुकाव बढ्न थालेपछि समुदाय र सरकारले पनि चासो दिन थालेका छन् । नेपालकै पुरानो संस्कृत माध्यमिक विद्यालय दरबार हाई विद्यालयमा वर्षेनी विद्यार्थीको संख्या वृद्धि हुन थालेको छ ।  


विद्यालयमा केही समय पहिले ब्राम्हण समुदायका विद्यार्थीहरू मात्र भर्ना हुने गर्थे । संस्कृत विषय ब्राम्हण समुदायकाले मात्र पढ्ने आम भाष्य बनेको थियो । तर, अहिले भने त्यस्ता भाष्यहरू भत्कदै गएका छन् । विद्यालयमा सबै समुदायका विद्यार्थी भर्ना हुने क्रम बढ्दै गएका छन् ।

ब्राम्हण समुदाय इतरका विद्यार्थीहरूको भर्ना हुने क्रम बढ्दै गएको बताउँछन् विद्यालयका प्रधानाध्यापक शिवराज अधिकारी । उनका अनुसार दलित, जनजाति र मधेसी समुदायका विद्यार्थीहरू कुल संख्याको आधा भन्दा बढी छन् । विद्यालयमा हाल ४ सय २१ छात्र-छात्रा छन् । कक्षा ६ देखि १२ सम्म संस्कृत भाषा पढाइ भइरहेको छ । प्रत्येक कक्षामा ब्राम्हण समुदायका भन्दा अन्य समुदायका विद्यार्थीहरू बढी छन् ।  १२ कक्षामा ८० देखि ९० जना छन् । 

'मगर जनजाति र मधेसी समुदायका विद्यार्थीहरू कक्षामा छात्रा प्रथम छिन्,' उनले भने,' उनीहरूको पढाइ राम्रो भएर वर्षेनी संख्या बढ्दै गइरहेको छ ।'

विद्यालयको कक्षा ६ मा यो वर्ष ४० जनाका लागि भर्ना खुलेको छ । अन्य कक्षामा भने ७-८ जना विद्यार्थी भर्ना गर्ने योजना रहेको प्रधानाध्यापक अधिकारीले जानकारी दिए । मेधावी छात्रछात्रालाई विद्यालयले होस्टलमा राखेर पढाउने गरेको छ ।

कक्षा १० सम्मको ३५ र कक्षा १२ को ८ जनालाई हाेस्टलमा राखिरहेको उनले जानकारी दिए । विद्यालयमा एक जना विद्यार्थीको वार्षिक २ हजार खर्च लाग्ने गरेको उनले प्रस्ट पारे।

भूकम्प पछाडि संस्कृत पढने विद्यार्थीको संख्या कम भएको थियो । कोभिड-१९ महामारी पछि थप विद्यार्थीको संख्या बढेको अधिकारीले बताए । उनले भाैगाेलिक रुपमा टाँढाबाट आएका विद्यार्थीलाई पनि हाेस्टलकाे सुविधा दिने गरिएकाे बताए । ' देशभरबाट अध्ययन गर्न आएका छन,' अधिकारीले अगाडि थपे,'  बाहिरबाट आएर मेहनती विद्यार्थीलाई होस्टलमा राखिएको छ ।'

यस वर्षको शैक्षिक सत्रका लागि विद्यालयमा भर्ना पनि खुला गरिएको उनले जानकारी दिए । इच्छुक विद्यार्थीले वैशाख २१ गते फारम भर्ने र २२ गतेबाट उनीहरूको भर्ना प्रक्रिया अगाडि बढाइने उनले बताए ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x