शिक्षा

शिक्षक र व्यवस्थापन समितिका सदस्यले सन्तानलाई सामुदायिक विद्यालयमै पढाउनुपर्ने

इकागज |
चैत २६, २०८० सोमबार १३:४७ बजे

तुलसीपुर (दाङ)- तुलसीपुरस्थित एक सामुदायिक विद्यालयले शिक्षक र व्यवस्थापन समितिका सन्तानलाई सामुदायिक विद्यालयमै पढाउनुपर्ने निर्णय गरेको छ । 

वडा नं ६ स्थित माध्यमिक विद्यालय तुलसीपुर सेन्टर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, सदस्य, शिक्षक अभिभावक संघमा आबद्ध तथा शिक्षकले सन्तानलाई सामुदायिक विद्यालयमै पढाउनुपर्ने निर्णय गरेको हो । समितिको आइतबार बसेको निर्णयअनुसार सन्तानलाई अनिवार्यरुपमा सामुदायिक विद्यालयमै पढाउनुपर्नेछ । 


विद्यालयका प्रधानाध्यापक भागवत पौडेलका अनुसार सामुदायिक विद्यालयको शैक्षिकस्तर सुधारका लागि समिति, शिक्षक तथा संघमा आबद्धहरुले सोही विद्यालयमा पढाउनुपर्ने निर्णय भएको बताए । यसले सामुदायिक विद्यालयप्रतिको आकर्षण बढाउने प्रधानाध्यापक पौडेलको विश्वास छ । 

साथै आगामी शैक्षिकसत्रदेखि तीन विषयमा ‘ग्रेस मार्क्स’ थप गरी कक्षा चढाउने परम्परालाई पनि बन्द गर्ने विद्यालयले निर्णय गरेको छ । विद्यार्थीलाई सक्षमताका आधारमा कक्षा वृद्धि गर्दा नै त्यसले शैक्षिक उपलब्धि हासिल हुने प्रधानाध्यापक पौडेलले बताए । 

तीन माध्यममा पढाइ
विद्यालयले आगामी वर्षदेखि तीन तहमा पठनपाठन गराउनेसमेत तयारी गरेको छ । नेपाली, अङ्ग्रेजी र विशिष्टखालको अङ्ग्रेजी माध्यममा पठनपाठन गराउनेसमेत प्रधानाध्यापक पौडेलले बताए । उनले शिशु, एलकेजी र युकेजीमा २५/२५ जना, कक्षा १ देखि ५ सम्म ३०/३० जना र ६ देखिमाथि ४०/४० जनालाई त्यस्तो शिक्षा दिने तयारी रहेको उनको भनाइ छ ।  

विशिष्टखालको अङ्ग्रेजी पढाइका लागि कक्षा ६ देखिमाथिका विद्यार्थीलाई मासिक एक हजारदेखि एक सय पाँच सयसम्म शुल्क लिने गरी तयारी गरिएको प्रधानाध्यापक पौडेलले बताए । विशिष्टखालको कक्षाका लागि एसी, एड्भान्स ल्याप्टपसहितको व्यवस्थापन गरिएको छ । 

खेलमा पनि सक्रिय
उक्त विद्यालय खेल क्षेत्रमा पनि सक्रिय छ । कराँते, तेक्वान्दो, भलिबल, एथ्लेटिक्स, फुटबलको प्रशिक्षक राखेर खेल खेलाउने गरिएको छ । त्यसले परिणाम दिन थालेको पनि प्रधानाध्यापक पौडेलले बताए । 

उनका अनुसार विद्यालयमा सङ्गीतको कक्षा चलिरहेको छ । जसबाट विद्यार्थीले सङ्गीत गरेर आम्दानी पनि गरिरहेका छन् । पठनपाठनका लागि डायरी सिस्टम लागू भएको छ । जसमा कुन शिक्षक कति बजे पढाउन गएको, कति बजे निस्केको, कति बुझेकोजस्ता कुराहरू त्यो डायरीमा टिप्ने उनले बताए ।  

पाँच प्राविधिक विषय पनि अध्ययन 
विद्यालयमा पाँच वटा प्राविधिक कक्षा पनि सञ्चालन भइरहेका छन् ।  जेयोमेटिक डिप्लो, आइटी डिप्लोमा, इलेक्ट्रिकल ९–१२, इलेक्ट्रिकल र आइटीमा २४ महिने कक्षा सञ्चालन भइरहेका छन् । आगामी शैक्षिकसत्रदेखि कक्षा ११ र १२ मा विज्ञान विषय पनि पठनपाठन गराउने तयारी रहेको प्रधानाध्यापक पौडेलले बताए । रासस


Author

थप समाचार
x