शिक्षा

शिक्षक र सरकार आन्तरिक छलफलमा जुटेपछि वार्ता समय सर्‍यो

इकागज |
असोज ५, २०८० शुक्रबार १०:५२ बजे

काठमाडौँ- आन्दोलनरत शिक्षकहरूसँग शुक्रबार बिहान ८ बजे गर्ने भनिएको वार्ता चार घण्टा पर सरेको छ । 

असोज ३ गतेदेखि देशभरका शिक्षकहरूले काठमाडौँ केन्द्रीत आन्दोलन गरेपछि सरकारले उनीहरूलाई वार्तामा बोलाएको थियो । 


बिहीबार बिहान र राति भएको वार्ता निष्कर्षविहीन भएपछि आज बिहान ८ बजेका लागि बोलाइएको थियो । तर, सो वार्ता अब १२ बजेसम्ममा सिंहदरबारमा हुनेछ । 

शिक्षकहरूको मागका बारेमा सरकारले आन्तरिक छलफल गर्न अझै बाँकी रहेको भन्दै थप समय मागेपछि वार्ता १२ बजेका लागि सारिएको हो । नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मी किशोर सुवेदीको अनुसार यतिखेर सरकार र आन्दोलनरत शिक्षक दुवै आन्तरिक छलफलमा जुटेका छन् ।

सो अघि कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्कासहित, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङ, शिक्षा मन्त्री अशोक राइलगायतले बिहान एक चरण आन्तरिक छलफल गरेका थिए । सो छलफल पुर्ण नभएपछि थप समय माग गरिएको हो । 


Author

थप समाचार
x