शिक्षा

विश्वसँग प्रतिस्पर्धा गर्ने शिक्षा सिक्दै हेटौंडाका विद्यार्थी

इकागज |
भदौ १५, २०८० शुक्रबार १८:१३ बजे

मकवानपुर– बालबालिका खेल्न, नाच्न, गाउन मन पराउँछन् । विशेष गरी उनीहरू बाल मनोविज्ञानसँग जोडिएका क्रियाकलापमा सहभागी हुन पाउँदा खुसी हुन्छन् । बालबालिका जिज्ञासु स्वभावका हुने भएकाले विभिन्न क्षेत्रको जानकारी प्राप्त गरी नेतृत्व र व्यक्तित्व विकास गर्न पनि उत्तिकै आतुर हुन्छन् ।

अहिले सरकारी र निजी दुवै विद्यालयहरूले किताबी ज्ञानलाई मात्रै नभइ बालबालिकाको अतिरिक्त क्रियाकलापमा समेत जोड दिन थालेका छन् । बालबालिकाहरू स्कुल नजान रोइकराई गर्ने अवस्थाको क्रमशः अन्त हुँदैछ । विद्यालयहरूले पनि बालबालिकाहरूको चौतर्फी विकासमा जोड दिने गरी शिक्षण सिकाइको नीति अवलम्बन गर्दै गएको पाइन्छ ।


यसको पछिल्लो उदाहरण हो, मकवानपुर हेटौंडा–४ स्थित नवोदय शिशु सदन विद्यालय । यो विद्यालयले बालबालिकालाई ‘विश्वव्यापी प्रतिस्पर्धा गर्न सक्ने शिक्षा’ नीति अवलम्वन गरेको छ । त्यसका लागि विद्यालयले बालबालिकाको शारीरिक, मानसिक, भावनात्मक तथा संवेगात्मक क्षमता विकास गर्न अतिरिक्त कृयाकलापसँगै रचनात्मक अभ्यासहरू गरिरहेको छ । सैद्धान्तिक ज्ञानलाई व्यावहारिक र प्रयोगात्मक रूपमा परिणत गरी शिक्षामा जोड दिनुपर्ने विद्यालयका शिक्षक चन्द्रमणि रिमाल बताउँछन् । 

 

विद्यालयले अहिले नवोदय मुन कार्यक्रम सञ्चालन गरिरहेको छ । जस अन्तर्गत संयुक्त राष्ट्रसंघको ८ अंगको मुख्य कामबारे चर्चा गरिरहेका छन् । यस कार्यक्रममा कक्षा ८, ९ र १० का गरि ३०० जना बालबालिका प्रत्यक्ष सहभागी छन् । सामाजिक विषयमा गरेको अध्ययनलाई प्रयोगात्मक रूपमा अभ्यास गर्न पाउँदा रमाइलोसँगै सिकाई भएको छात्रा खुसी मल्लिकले बताइन् । कार्यक्रममा मकवानपुरसँगै गैडाकोट, चितवन बुटवल जिल्लाबाट विद्यार्थी सहभागी छन्  । 

उनले बालबालिकाहरूलाई कक्षामा रटाउनुभन्दा पनि प्रयोगात्मक शैलीबाट सिकाउँदा छिटो सिक्ने र दीर्घकालसम्म सम्झिरहने अनुभव बालबालिकाहरूले सुनाए । सिर्जनशील अध्यापनका कारण बालबालिकाहरू पनि सिर्जनशील भएको अभिभावक झवीन्द्र ज्ञवालीले बताए । 

विद्यालयले हेटौंडामा अन्तर्राष्ट्रिय नीति नियम, योजना तथा समस्याको समाधानबारे वृहत् विश्लेषणसहितको नमूना संयुक्त राष्ट्र संघीय सभाको आयोजना गरेको छ ।

विद्यार्थीहरूको नेतृत्व र व्यक्तित्व विकास, समालोचनात्मक सोचाइ, सहकार्यलगायत अन्तरनिहित प्रतिभाको विकास गराउने उद्देश्यले विद्यालयले वैचारिक कार्यक्रमको आयोजना गरेको हो ।

१४ गतेबाट सुरु भएको कार्यक्रम १६ गतेसम्म जारी रहने विद्यालयले जनाएको छ । कार्यक्रममा संयुक्त राष्ट्र संघीय सभामा हुने कार्यक्रमहरूको नक्कल गरी सहभागीलाई विश्वव्यापी मुद्दाहरू र यसको सम्भावित समाधानहरूको बारेमा धारणा राख्ने मौका दिइएको छ ।

बालबालिकाहरूलाई नै विभिन्न राष्ट्रका प्रतिनिधिको भूमिकामा उभ्याइएको छ । विद्यार्थीहरूले पनि राष्ट्रकै पक्षमा रहेर विश्वव्यापी मुद्दामा छलफल गरिरहेको नवोदय नमुना संयुक्त राष्ट्रसंघका महासचिव रायन खनालले जानकारी दिए ।

नमुना राष्ट्र संघीय सभाका लागि ७ वटा निकायहरू पहिचान गरिएको छ । राष्ट्र संघका विभिन्न निकायको कार्य क्षेत्र भिन्दाभिन्दै हुन्छन् र तिनै कार्य क्षेत्रका मुख्य पूर्वनिर्धारित समस्यामा वृहत् छलफल गरेर कार्यक्रम सञ्चालन भइरहेको महासचिव खनालले बताए ।

नमुना संयुक्त राष्ट्रसंघीय सभामा विश्व स्वास्थ्य सङ्गठन, संयुक्त राष्ट्र सुरक्षा परिषद, आर्थिक र वित्तीय मामिला परिषद, खाद्य र कृषि संगठन, अन्तर्राष्ट्रिय श्रम संगठन, संयुक्त राष्ट्र पर्यावरण कार्यक्रम र प्रतिनिधि सभा गरी ७ वटा निकायहरू परिकल्पना गरिएको छ । ती सातवटै निकायहरूको एजेन्डाहरूको पूर्वनिर्धारण गरिएको छ ।

कार्यक्रममा नवोदय शिशु सदनसहित मकवानपुरका अन्य विद्यालयका बालबालिकाहरूको पनि सहभागिता रहेको छ । विद्यालयले गत २ वर्ष यो कार्यक्रम भर्चुअल प्रविधिबाट गरेको थियो । 


Author

थप समाचार
x