शिक्षा

रिद्धिसिद्धि सिमेन्टको 'मकवानपुर स्मार्ट स्टूडेण्ट अफ द इएर २०८०' छात्रवृत्ति कार्यक्रमबाट ११ विद्यार्थी लाभान्वित

इकागज |
भदौ ३, २०८० आइतबार १५:३४ बजे

काठमाडौँ– रिद्धिसिद्धि सिमेन्ट लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मकवानपुर जिल्लालाई लक्षित गरी आयोजना गरेको 'मकवानपुर स्मार्ट स्टूडेण्ट अफ द इएर २०८०' को छात्रवृत्ति कार्यक्रम सफलतापूर्वक सम्पन्न गरी ११ जना विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ ।

रोबोटिक ल्याबमा बनेको स्मार्ट सिमेन्ट रिद्धिसिद्धि सिमेन्ट लि.ले आयोजना गरेको छात्रवृत्ति कार्यक्रममा १०९ विद्यार्थीहरू सहभागी भएका थिए र एसईई परीक्षामा उपलब्ध अङ्क, दौड प्रतियोगिता साथै आईक्यु परीक्षामा सोधिएका सम्पूर्ण अंक जोडी छात्रवृत्तिका लागि उत्कृष्ट ११ स्मार्ट विद्यार्थीहरू छनोट गरिएको थियो ।


छात्रवृत्ति कार्यक्रम अन्तर्गत कम्पनीले प्रथम हुने विद्यार्थीलाई मासिक रूपमा ५००० रुपैयाँ , दोश्रो हुनेलाई ३५०० रुपैयाँ, तेस्रो हुनेलाई  २५०० रुपैयाँ साथै सान्त्वना स्वरूप थप ८ विद्यार्थीलाई मासिक रूपमा १५०० रुपैयाँ एक वर्षसम्म उपलब्ध गराउने निर्णय अनुरूप मकवानपुरका ११ जना विद्यार्थीहरूले छात्रवृत्तिमा छनोट भएका हुन् ।

छात्रवृत्ति पाउने विद्यार्थीहरूमा प्रथम पुरस्कार पाउने ईशान्तकुमार मिश्र ,दोस्रो पुरस्कार पाउने अंशु कुमारी र तेस्रो पुरस्कार पाउने रिजन कठायत रहेका छन् भने सान्त्वना पुरस्कार पाउने विद्यार्थीहरू ९ शिवम् पटेल, भुषण दाहाल, भोलाकुमार साह कलवार, सुयोग अर्याल, दिपेश चौलागाईं, मनिषाकुमारी खड्का, जिज्ञासा पौडेल र विजय मोक्तान  रहेका छन् ।

विद्यार्थीलाई प्रोत्साहन होस् भन्ने उद्देश्यले रिद्धिसिद्धि सिमेन्ट लिमिटेडको आयोजनामा सञ्चालन गरिएको स्मार्ट विद्यार्थी स्मार्ट मकवानपुर छात्रवृत्ति योजनाले मकवानपुर जिल्लाका ११ जना विद्यार्थीलाई शैक्षिक क्षेत्रमा लाभान्वित गर्दै नयाँ विद्यार्थीहरूलाई पनि पठनपाठनतर्फ आकर्षित गरेर स्मार्ट विद्यार्थी बन्न थप मनोबल पुग्नेछ भन्ने अपेक्षा गरिएको छ ।


Author

थप समाचार
x