शिक्षा

विद्यालय भर्नामा खोप कार्ड अनिवार्य

इकागज |
बैशाख १९, २०८० मंगलबार १४:४३ बजे

बैतडी- बालबालिकालाई विद्यालय भर्ना गर्दा बैतडीमा खोप कार्ड अनिवार्य गरिएको छ । पाँच वर्षमुनिका बालबालिकालाई विद्यालयमा भर्ना गर्दा खोप कार्ड अनिवार्य गरिएको हो ।

जिल्ला खोप समन्वय समितिको बैठकले गरेको निर्णय अनुसार नै विद्यालयमा बालबालिकालाई भर्ना खोप कार्ड अनिवार्य गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । 


राष्ट्रिय खोप तालिका अनुसार बालबालिकाले खोप लाए/नलाएको जानकारी हुने भएकाले विद्यालय भर्ना गर्दा खोप कार्ड अनिवार्य गर्न विद्यालयलाई आग्रह गरिएको छ । उनले भने, 'खोप ऐन २०७२ मा विद्यालय भर्ना गर्न अनिवार्य खोप लगाएको हुनुपर्ने भनिएको छ । सोही अनुसार जिल्ला खोप समन्वय समितिको बैठकले पनि गरेको निर्णय हो ।'

बालबालिका भर्ना हुँदा अनिवार्य खोप कार्ड हुनुपर्ने निर्णयअनुसार शिक्षा विकास तथा समन्वय इकाईले प्रत्येक पालिकाका शिक्षा शाखालाई परिपत्र र पालिकाको शिक्षा शाखाले पालिकाभित्र रहेका विद्यालयलाई पत्राचार गरेको भट्टको भनाइ छ ।   

राष्ट्रिय खोप तालिका अनुसार बालबालिकालाई विभिन्न रोगविरुद्ध निःशुल्क खोप दिने गरिएको छ । बालबालिकालाई विभिन्न १३ प्रकारका खोप दिइन्छ ।

हाल जिल्लामा विद्यार्थी भर्ना अभियान सञ्चालनमा रहेको छ । विद्यार्थी भर्ना अभियान वैशाख मसान्तसम्म सञ्चालन हुने शिक्षा विकास तथा समन्वय इकाई बैतडीका सूचना अधिकारी पुस्करराज शर्माले जानकारी दिए । बैतडीमा पाँच सय ६२ विद्यालय छन् । रासस


Author

थप समाचार
x