शिक्षा

आरआर क्याम्पसमा विद्यार्थीको नारा

याे क्याम्पस हो कि संयुक्त पार्टी कार्यालय ?

सदिक्षा आचार्य |
बैशाख १७, २०८० आइतबार १८:४६ बजे

काठमाडौँ– हर्क बहादुर बोहरा रत्नराज्य क्याम्पसमा अर्थशास्त्र र राजनीतिशास्त्र अध्ययन गर्छन् । उनी स्नातक तह दोस्रो वर्षमा अध्ययनरत छन् । उनीसहित क्याम्पसका सबैले परीक्षा दिए अघिल्लाे वर्ष ।

वैशाख १० मा नतिजा आयो । तर, आन्तरिक मूल्यांकनमा चित्त बुझ्ने अंक आएन । कक्षामा दिनहुँ उपस्थित हुने उनीलगायत धेरै विद्यार्थीको यस्तै गुनासो उनले सुने । असन्तुष्ट विद्यार्थी टाेली भोलिपल्ट  क्याम्पस प्रशासनमा कुरा गरे चार घण्टा । १२ गतेपनि कुरा गर्न गए आठ बुँदे मागसहित । तर समस्या समाधानउन्मुख देखिएन ।


त्यसपछि आन्दोलन गर्ने निर्णय गरे । आन्दोलन सुरु गरेकाे पनि आज ६ दिन बितेकाे छ। त्रिभुवन विश्वविद्यालय अन्तर्गतको रत्नराज्य क्याम्पसमा आज पनि केही विद्यार्थीहरूको आन्दोलन जारी छ । विद्यार्थीहरू ‘आरआर क्याम्पस हो कि संयुक्त पार्टी कार्यालय’ भन्दै नारा लगाईरहेका छन् । 

आइतबार प्रदर्शनी मार्गस्थित उक्त क्याम्पसमा आन्दोलन भएको हो । २०७७ को स्नातक प्रथम वर्षको ब्याचको परीक्षाकाे नतिजा यही वैशाख १० मा प्रकाशन भएकाे थियाे । करिब ९० प्रतिशत विद्यार्थीको नतिजामा चरम लापरबाही देखिएको भन्दै असन्तुष्ट विद्यार्थीहरू वैशाख ११ देखि क्याम्पस परिसरमै आन्दोलनरत छन् ।

अनिवार्य अंग्रेजी र प्राक्टिकलमा अनुपस्थिति आएको भन्दै विद्यार्थीहरू आन्दोलनरत रहेको सोही क्याम्पसमा स्नातक तेस्रो वर्ष अध्ययन गर्दै गरेका संगम लम्सालले इकागजलाई जानकारी दिए । विषयगत शिक्षकले नम्बर पठाए पनि कलेज प्रशासनको चरम लापरबाही र राजनीतिकरणले गर्दा विद्यार्थीहरूको नम्बर घटाउने प्रवृत्ति व्याप्त रहेको विद्यार्थीहरूको गुनासो रहेको छ ।

आरआर मै अध्ययनरत एक विद्यार्थीले क्याम्पस प्रशासनले व्यक्तिगत चिनजान र साँठगाँठका भरमा नम्बर प्राप्त गर्ने गरेको आरोप लगाएका छन् । बीए प्रथम वर्षको परीक्षाको नतिजामा गडबडी र प्राध्यापक लोकनाथ कोइरालाको राजीनामाका विषयसहित ८ बुँदे माग राख्दै विद्यार्थीहरूले आन्दोलन गरेका हुन् ।

‘वास्तविकता अर्कै भएपनि यहाँ विषयगत शिक्षकलाई दोषी देखाइएको छ,’ लम्सालले भने, ‘ एक इमानदार शिक्षकलाई अपमान गर्दै राजीनामा दिन समेत बाध्य बनाइएको छ, राजीनामा पत्रमा विद्यार्थी कल्याण प्रमुख र क्याम्पस प्रमुखको नाम तोकिएको छ, बुझ्दै जाँदा दोषी हो भन्ने हामीलाई पनि लागेका छ ।’

आरआर क्याम्पसमा अध्ययनरत एक विद्यार्थीले सामाजिक सञ्जालमा अंग्रेजीका शिक्षक लोकनाथ कोइरालाले राजीनामा पेश गरेको फोटो ‘अपलोड’ गरेका छन् । आम विद्यार्थीहरू विकृत राजनीतिकाे सिकार रहेको विद्यार्थीहरूको गुनासो छ ।

सोही क्याम्पसमा अंग्रेजी विषय अध्यापन गर्दै आएका लोकनाथ कोइरालाले भने यो विषयमा बोल्न नचाहेको बताए ।

‘यो विश्वविद्यालय हो कि दलाल म्यानपावर हो’, ‘विश्वविद्यालय किन जाने’, ‘हाम्रो भविष्यमाथि खेल्न पाइँदैन’, ‘आरआर क्याम्पस हो कि संयुक्त पार्टी कार्यालय’
‘आरआरले भविष्य बनाउन हो कि, भविष्यमा खेलबाड गर्ने हो?’ लगायतका नारा विद्यार्थीहरूले लगाएका छन् ।


 
 


Author

थप समाचार
x