शिक्षा

शैक्षिक सत्र सुरु हुनु अगावै पुग्यो हुम्लामा पुस्तक

इकागज |
बैशाख १, २०८० शुक्रबार १४:२१ बजे

सिमकोट। समयमै पाठ्यपुस्तक नपुग्ने हिमाली जिल्ला हुम्लामा यस वर्ष शैक्षिक सत्र सुरु हुनु अगावै विद्यालयमा पाठ्यपुस्तक पठाइएको छ । जिल्लाका चार गाउँपालिकाका सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुगेको हो ।    
    
 शैक्षिक सत्र सुरु भएको महिनौँ दिनसम्म पुस्तक नपाएको गुनासो गर्ने विद्यार्थीले यस पटक भने शैक्षिक सत्र सुरु भएको दिन नै पुस्तक पाउने भएका छन् । पुस्तक नपाएको दुःख सुनाउने हुम्लाका विद्यार्थीको गुनासो यस वर्ष सम्बोधन भएको छ ।    
    
 जिल्लाको दक्षिण भेगमा रहेका सर्केगाड, चङ्खेली, ताँजकोट र अदानचुली गाउँपालिकामा तीन दिनअगाडि नै पाठ्यपुस्तक पुगिसकेको छ । योसँगै विद्यार्थीले वार्षिक परीक्षा हुँदासम्म हातमा किताब नहुने पीडा अन्त्य भएको छ ।    
    
 ताँजकोटका १८ र अदानचुली गाउँपालिका २१ सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुर्‍याउने जिम्मा लिएका लोकेन्द्र भण्डारीले केही दिनअगाडि सबै विद्यालयमा पुस्तक पुगिसकेको जानकारी दिए। उनका अनुसार नयाँ शैक्षिक सत्र सुरु नभएकाले सम्बन्धित गाउँपालिका र विद्यालयलाई हस्तान्तरण भने गरिएको छैन ।    
    
 सर्केगाड र चङ्खेली गाउँपालिकामा रहेका सामुदायिक विद्यालयमा तीन दिनअगाडि नै पुस्तक पुगिसकेको ढुवानीकर्ता मानदेव शाहीले बताए । नेपालगञ्जबाट गाडीमार्फत ढुवानी गरेर जिल्लामा पुर्‍याइएकाले ढुवानीबापत पाउनुपर्ने रकम नपाएको उनको गुनासो थियो ।    
    
 “पहिला जिल्ला शिक्षा कार्यालयमार्फत मङ्सिरको दोस्रो चौमासिकमा पाठ्यपुस्तक खरिदका लागि सम्बन्धित विद्यालयमा रकम उपलब्ध गराई पुस्तक खरिदको प्रक्रिया अगाडि बढाइन्थ्यो”, शाहीले भने । अहिले पुस्तक खरिदका लागि स्थानीय पालिकाले प्रक्रिया अगाडि बढाए पनि पुस्तक खरिदको रकम समयमा दिन नसकेको उनले बताए । पालिकाले पाठ्यपुस्तक खरिद तथा ढुवानीका लागि रकम भुक्तानी नगरे पनि बैंकबाट ऋण निकालेर शैक्षिक सत्र सुरु हुनु अगावै पुस्तक सम्बन्धित विद्यालयमा पुर्‍याएको शाहीको भनाइ थियो । पालिकाले सम्बन्धित विद्यालयलाई रकम नदिँदा जिल्लामा पुगेका पुस्तक डिलरबाट विद्यालयले खरिद गर्न नसकेको शाहीले उल्लेख गरे।    
    
 पुस्तक पुगे पनि चङ्खेली, सर्केगाड, ताँजकोट र अदानचुली गाउँपालिकाले पुस्तक खरिदका लागि आफ्ना मातहातका विद्यालयलाई भुक्तानी गर्न नसक्दा सम्बन्धित विद्यालयले खरिद गर्न सकेका छैनन् । पालिकाले सम्बन्धित विद्यालयको खातामा रकम जम्मा गरेको दिन डिलरबाट पुस्तक लैजान सकिने शाहीको भनाइ थियो । यी चार पालिकामा पैदल मार्गमार्फत केही दिनअघि पुस्तक पुगिसकेका छन् । कक्षा १ देखि १० सम्मका सबै विषयका पुस्तक पुगेको ढुवानीकर्ता शाहीले जानकारी दिए ।    

 



Author

थप समाचार
x