शिक्षा

एसईई परीक्षाको प्रश्नपत्र आउटको प्रयास गर्ने विद्यार्थीको परीक्षा रद्द , केन्द्राध्यक्षसहित पाँच जना निलम्बित

इकागज |
चैत १७, २०७९ शुक्रबार २१:३ बजे

फाइल तस्बिर

बारा- आजबाट सुरु भएको एसईई परीक्षाको अनिवार्य अंग्रेजी विषयको प्रश्नपत्र लिकको प्रयास गर्ने विद्यार्थी पवन साहको परीक्षा रद्द भएको छ ।

बाराको आदर्श कोतवाल गाउँपालिका वडा नं.१ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय चिउटाहामा परीक्षा सञ्चालन भइरहेका बेला परीक्षार्थी साहले लुकाई लगेको मोबाइलबाट प्रश्नपत्र लिक गरेका थिए । उनले प्रश्नपत्रको पहिलो पन्ना सामाजिक सञ्जाल फेसबुकबाट सार्वजनिक गरेका थिए ।


यसै घटनालाई लिएर त्यहाँका केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र निरीक्षकसहित ५ जना निलम्बनमा परेका छन् । बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाका अनुसार केन्द्राध्यक्ष दिनेशप्रसाद साह, सहायक केन्द्राध्यक्ष पद्मराज चौधरी, विजयप्रसाद चौधरी र निरीक्षकहरू कुन्दनप्रसाद कुशवाह र श्याम किशोर गुप्तालाई निलम्बन गरिएको हो ।

प्रश्नपत्र आउट गर्ने साहको सिम्बल नं.०३६०२९४६ भि हो । उनी सोही पालिकास्थित जनता माध्यमिक विद्यालय कचर्वाका परीक्षार्थी हुन् । उनको आजको मात्रै परीक्षा रद्द गरिएको प्रजिअ सापकोटाले जानकारी दिए ।

प्रश्नपत्र बाहिरिएको सूचना पाएलगत्तै पुगेका बाराका प्रमुख जिल्ला अधिकारी सापकोटाले घटनाको छानबिन गरेका थिए । 


Author

थप समाचार
x