शिक्षा

होली खेलेर १० लाख संकलन

इकागज |
फागुन २४, २०७९ बुधबार २१:४० बजे

फाइल फोटो

बैतडी - बैतडीका विभिन्न स्थानमा होली खेलेर रु १० लाख संकलन भएको छ । यहाँका विद्यालय, संघसंस्था तथा क्लबहरूले होली खेलेर रु १० लाख संकलन गरेका हुन् । होलीबाट संकलित रकम विद्यालयको शैक्षिक सुधार र सामाजिक कार्यमा खर्च गरिने भएको छ ।

जिल्लाको पाटन नगरपालिका–९ हुक्केडाँडामा रहेको सिद्धेश्वर मावि र पाटन नगरपालिका–३ गुरुडामा रहेको सिगास माविले होलीबाट संकलित रकम विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि खर्च गरिने जनाएका छन् । हुक्केडाँडाले होली खेलेर खर्च कटाएर रु एक लाख ७५ हजार दुई सय ६३ र  गुरुडाले रु चार लाख १० हजार जम्मा गरेको छ । संकलित रकम विद्यालयको सर्वाङ्गीण विकासका लागि खर्च गरिने सिद्धेश्वर मावि हुक्केडाँडाका विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेमसिंह भाटले जानकारी दिए । 'विद्यालयका शिक्षक, व्यवस्थापन समिति, अभिभावक, विद्यार्थी मिलेर होली खेलेका हौँ',  उनले भने, 'होली खेलेर संकलन भएको रकम शिक्षकको तलब, खेलकुद सामग्री खरिद र कक्षा कोठा व्यवस्थापनमा खर्च गर्छौं ।'


विद्यालयमा निजी स्रोत शिक्षक रहेकाले आर्थिक अवस्था कमजोर रहेको हुँदा तलबमा समेत खर्च गरिनेछ । विसं २०१८ मा स्थापना भएको उक्त विद्यालयमा कक्षा १० सम्मको पढाइ हुने गरेको छ । 

पाटन नगरपालिका–३ सिगास मावि गुरुडाले संकलन गरेको रु चार लाख १० हजार पनि विद्यालयको समग्र विकासका लागि खर्च गरिने जनाएको छ । उक्त विद्यालय विसं २०२२ मा स्थापना भएकामा हाल कक्षा १२ सम्म पढाइ हुने गर्दछ । 

होली खेल्न अभिभावकहरूको घरदैलोमा पुग्दा विद्यालय र अभिभावकसँगको सम्बन्ध विस्तारमा मद्दत पुगेको भाटको भनाइ छ । होलीमा बालबालिका, एकल महिला, बालविवाह, विद्यार्थीको आनीबानी सुधारसम्बन्धी सन्देशमूलक, चेतनामूलक गीतमार्फत सन्देश दिइएको थियो । होलीले समाज रूपान्तरणमा टेवा पुग्नेसमेत भाटको विश्वास छ । विद्यालयले शैक्षिक सुधारका लागि प्रत्येक वर्ष खेल्ने गरेको छ । 

पाटन–१० मा रहेको सरस्वती मावि सल्लेबासाले पनि होली खेलेर रु एक लाख ४६ हजार बचत गरेकाले उक्त रकमले विद्यालयमा सरस्वतीको मन्दिर निर्माणमा खर्च गरिने प्रधानाध्यापक लोकराज भट्टले बताए । जिल्लाको सुर्नया गाउँपालिका–४ डवरालीमा रहेको पञ्चदेव आधारभूत विद्यालयले पनि होली खेलेर रु एक लाख ८० हजार पाँच सय ५३ संकलन गरेको जनाएको छ । जिल्लाका सामुदायिक विद्यालयले पर्वको मौलिकताको संरक्षणका साथै विद्यालयको आर्थिक, भौतिक अवस्थालाई सुधार गर्न पनि होली खेल्ने गरेका छन् ।

यस्तै दोगडाकेदार गाउँपालिका–३ खिरेगाउँमा रहेको श्रीकेदार भूमिराज होली कमिटीले रु ६२ हजार संकलन गरेको सहसचिव गणेश विष्टले जानकारी दिए । संकलित रकम सामाजिक तथा धार्मिक कार्य, विवाह, व्रतबन्धमा आवश्यक पर्ने सामग्री खरिदमा खर्च गरिने जनाइएको छ ।

उता सुर्नया गाउँपालिकाका स्थानीय बासिन्दाले होली खेलेर जम्मा भएको रकमले शिवमन्दिर पुनःनिर्माण गर्ने जनाएका छन् । पालिकाको  वडा नं ६ मा रहेको शिव मन्दिर समितिले होली खेलेर दुई दिनमा रु ३८ हजार संकलन गरेको छ । संकलित रकम जीर्ण अवस्थामा रहेको शिव मन्दिरको पुनःनिर्माणका लागि खर्च गरिने समितिले जनाएको छ ।

शिव मन्दिरकै नामबाट साविकको शंकरपुर गाविस वडा नं ६ मा रहेको शंकर संस्कृत उच्च माविको नामकरणसम्म भएको मन्दिरलाई पुनःनिर्माण गर्न र सामाजिक सद्भाव कायम गर्न होली खेलिएको हो । 


Author

थप समाचार
x