सम्पादकीय

सम्पादकीय

पहिला कारबाही होस् अनि वाहवाही गरौंला

इकागज |
बैशाख २७, २०८० बुधबार १८:१६ बजे

नेपालमा भ्रष्टाचार र अनियमितताका काण्डमा ‘ठूला माछा’हरू जेल नपरेको धेरै भयो । ‘ठूला माछा’हरू संलग्न नभईकन कुनै काण्ड रचिदैनन् तर दुर्भाग्य, साना माछा, अझ एकदमै साना माछा मात्र फन्दामा पर्छन् । 

अमेरिका लैजाने नाममा सयौं नेपालीलाई भुटानी शरणार्थी बनाउने काण्डमा कार्यवाहक प्रधानमन्त्रीसमेत भइसकेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई गरिएको पक्राउले आशा र शंका दुवै बढाएको छ । अर्का पूर्वमन्त्री टोपबहादुर रायमाझी फरार छन् । खाणलाई प्रहरीले पक्राउ गरेपछि बल्ल एमालेले आफ्ना सचिव रायमाझीबारे विज्ञप्ति निकालेको छ ।


आजै काठमाडौँलगायत देशभर नागरिक प्रदर्शन हुने थाहा पाएपछि एमालेले आफ्नो लाज छोप्न हतारमा विज्ञप्ति निकालेको छ । तर, ‘भ्रष्टाचारीको मुखै हेर्दिनँ’ भन्ने ओलीले यतिका दिन कसको मुख हेरे, स्पष्ट छ । यदि ओली र ओलीको पार्टी यो काण्डमा चोखो थियो भने यस्तो विज्ञप्ति उसै दिन आउनुपर्थ्याे । यदि हाई प्रोफाइल गिरोह संलग्न छैन भने फरार हुनुपर्ने कुनै कारण छैन, चुकुल लगाएर बस्नुपर्ने कुनै कारण छैन । मोबाइल फोन अफ गरेर कोही निर्दाेष किन बस्छ र ? दोषी मात्र भाग्छ, लुक्छ । यसैबाट स्पष्ट छ, यसमा प्रधानमन्त्री, पार्टी सभापति-अध्यक्षहरूसम्मको हिस्सा छ । नभए आफ्ना एक दुई जना अभियुक्त जोगाउन कोही पार्टी नेतृत्व पार्टीको छवि नै दाउमा राखेर मौन वा समर्थनमा बस्दैन । छुटाउन दौडधुप पनि गर्दैन ।

मानव तस्करी अपराध मात्र होइन, यो महाअपराध हो । अझ गिरोहको नाइकेको रूपमा अर्बौं रकम असुलीमा पूर्वमन्त्री, सांसद, नेता तथा तिनका परिवारका सदस्य र कर्मचारी मुछिनु लाजमर्नु कुरो हो । अनि दलको नेतृत्वबाट भइरहेको ढाकछोप गम्भीर आपत्तिको विषय हो । 

यो राज्य संरक्षित संगठित अपराध हो, जसले नेपालको राजनीतिक र प्रशासनिक नेतृत्वको वास्तविक अनुहार स्पष्ट पारिदिएको छ । यस्तो गम्भीर संगठित अपराधको अनुसन्धान अघि बढाएर यो सरकार, प्रहरीको नेतृत्व गरिरहेका गृहमन्त्रीले राम्रो काम गरेका छन् । तर, आज जसरी गृहमन्त्री र प्रहरीको वाहवाही भइरहेको छ, यो हतारो हुनेछ । किनकि नेपालको अनुभवले भन्छ, यस्तोमा ताली बजाइहाल्ने होइन, निरन्तर खबरदारी गर्ने हो । 

आज भ्रष्टाचारी–अपराधीविरुद्ध, यो काण्डधारीविरुद्ध देशैभर नागरिक प्रदर्शन भएको छ । यो स्वागतयोग्य छ । शक्तिशालीलाई उम्काउने वा सामसुम पार्ने जोखिम उत्तिकै छ । यदि यस्तो भएमा माओवादी नेतृत्व सदाका लागि ‘प्रजा परिषद्’ मात्र हुनेछैन, देशैभर विद्रोह आगो बल्नेछ । यो हेक्का खासगरी प्रधानमन्त्री र गृहमन्त्री अनि प्रहरी प्रशासनलाई होस् । विगतमा जस्तै सजिलैसँग यसलाई सामसुम पारिदिन्छु भन्ने सोचिएको छ भने त्यो गम्भीर गल्ती हुनेछ । किनकि सडक र सदन अब पुरानो छैन । किनकि आन्दोलन ‘ज्योतिषीको साइत’ अनुसार अघि बढ्दैन । अनि विगतमा जस्तो गफै जोतेर बार्दलीबाट आन्दोलनलाई माखेसाङ्लो भनेर हेप्न सकिन्न । उन्मुक्ति र दण्डहीनताबारे नेपाली समाज तलतलसम्म जागरुक छ । भ्रष्टाचारबारे वाक्कदिक्कप्याक्क भइसकेको छ । कुशासनको चित्र स्पष्टै देखिसकेको छ, नेपाली समाजले ।
 


Author

थप समाचार
x