सम्पादकीय

सम्पादकीय

उपनिर्वाचनको सन्देश

इकागज |
बैशाख १०, २०८० आइतबार १८:१२ बजे

आज वैशाख १० गते नेपालका तीनवटा निर्वाचन क्षेत्रमा उपनिर्वाचन सम्पन्न भएको छ । छिटपुट घटनाबाहेक समग्रमा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । 
गत मंसिरमा भएको निर्वाचनबाट प्रतिनिधिसभा सदस्य निर्वाचित सांसद रामचन्द्र पौडेल राष्ट्रपति र रामसहाय प्रसाद यादव उपराष्ट्रपति भएपछि रिक्त रहेको पदमा उपनिर्वाचन भएको हो । यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पद खारेज भएपछि चितवनमा पनि फेरि निर्वाचन भएको हो । 

रिक्त क्षेत्रमा लोकतान्त्रिक विधिबाट सांसद चयन हुनु सुन्दर पक्ष हो । मतदाताले आफ्नो मत जाहेर गर्न पाएका छन् । पाँच महिनाकै अन्तरमा फेरि निर्वाचन गर्दा आर्थिक रुपमा खर्चिलो भने भएको छ । ती क्षेत्रका मतदाताले पनि दुःख पाएका छन् । सहरबाट गाउँ पुगेर मत दिनु परेको छ । व्यक्ति जहाँ छन्, त्यहीँबाट मत दिन पाउने व्यवस्था अझै गर्न सकिएको छैन । 


निर्वाचित सांसद अरु पदमा जाँदा कसरी जाने ? ती ठाउँमा खाली रहेको ठाउँ कसरी पूर्ति गर्ने ? सांसदका रुपमा निर्वाचित भइसकेपछि अरु पदमा तिनलाई नलैजाने कि ? विवादित पात्रलाई पहिले नै छानबिन गर्ने कि ? उपनिर्वाचन नै गर्नु नपर्न अवस्था कसरी सेजना गर्ने, यतातिर चासो हुनुपर्छ । 

उम्मेदवारबारे सुरुमै राम्ररी छानबिन र फैसला गरेको भए चितवनमा फेरि निर्वाचन गर्नु पर्दैनथ्यो । राजस्वको दुरुपयोग हुँदैनथ्यो । फेरि तिनै पात्र उम्मेदवार हुने फेरि उप–उप–निर्वाचन हुने त होइन ? यतातिर सरकार, निर्वाचन आयोग सचेत हुनुपर्छ । 

पाँच वर्षपछि मत दिन पाउने नागरिकले पाँच महिनामै मत दिन पाएका छन् । यो एक हिसाबले स्वागतयोग्य कुरा पनि हो । बालिग मताधिकार लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष हो । जे जस्तो अवस्थामा पनि फेरि निर्वाचन हुनु नेपालको सुन्दरता हो । 

अब जननिर्वाचित सांसदले संसद्लाई बलियो बनाउन भूमिका खेलून् । उनीहरू संस्थाहरू विग्रह गर्न होइन, सशक्त गर्न लागून् । संसद्लाई चलायमान बनाउने कुरामा उनीहरूको भूमिका सार्थक होस् ।

सांसदले मूलतः कार्यपालिकालाई बलियो बनाउने हो । कार्यपालिकालाई जिम्मेवार बनाउने काम उनीहरूले गर्नुपर्छ । उपनिर्वाचनमा सहभागी सबै मतदातालाई धन्यवाद । विजयी सबैलाई बधाइ र शुभकामना । 
 


Author

थप समाचार
x