सम्पादकीय

सम्पादकीय

नेताजी, नेपाल आमाको मुख हेर

इकागज |
बैशाख ७, २०८० बिहीबार १७:४१ बजे

आज वैदिक सनातन धर्म–संस्कृतिअनुसार आमाको मुख हेर्ने दिन । मातृऔँसी वा मातातीर्थ औँसी । आफ्ना जीवित र मृत आमाहरूलाई श्रद्धा र श्राद्ध गरेर आज औँसी मनाइएको छ । आमाहरूका फोटो भटाभट सार्वजनिक गरिएको छ । आमाहरूलाई सुख र शान्ति अनि आरोग्य र साथ दिने सवालमा सन्तानहरू लागिपरेको देखिन्छ नै । यो सुन्दर कुरा हो । देखावटी वा बनावटी नै सही, यस्ता दिवसहरूको नराम्रो असर केही छैन । एक दिन फोटो देखाएर मात्र के हुन्छ र भन्नुको पनि उति अर्थ छैन । यस्ता पर्वहरू दिवस अर्थात् दिन नै हुन् । यी संकेत हुन् सम्मान र मायाका ।

हामी आफ्नो देशलाई आमा भन्छौँ । धरती, पृथ्वी, भूमि हाम्री माता हुन् । मातृभाषा र मातृभूमि भन्ने चलन पनि आमाको भूमिका हेरेरै बनेको हुनुपर्छ । नेपाल आमा रोइरहेकी छन् । नेपाल आमा सन्तानका कारण दुःखी छन् भन्छौँ । आमाको दूधको भाराको कुरा गर्छाैं । यी सबै कुराको अर्थ हो– आफूलाई जन्म दिने आमालाई दुःख नदेऊ । धरतीले पनि हामीलाई टेक्ने, हिँड्ने मौका दिन्छ । उसले निःस्वार्थ रूपले हामीलाई सबथोक दिन्छ ।


यो देश अर्थात् आमाका सन्तान नेताजीहरूले आमाको मुख हेरे त ? कहिले हेरे ? हेरे भने के देखे त ? आमा रोइरहेकी छैनन् र ? आमा दुःखमा छैनन् छ ? आमाको जिउ जताततै कोपरिएको छैन र ? डोजरे विकासले आमा छियाछिया भएकी छैनन् र ? आमा बाँच्नै नसक्ने गरी प्रदूषित धुवाँमा निसासिएकी छैनन् र ? विश्वकै प्रदूषित आमा कसले बनायो ? यिनै सन्तानले हैन र आमालाई प्रदूषित, दूषित, अविकसित, गरिब र निरीह बनाएको ?

जसरी सन्तानले आज आफ्नी आमाको मुख हेरेका छन्, नेताहरूले उसै गरी आमाको मुख हेर्न जरुरी छैन र ? आमालाई बेच्ने, पेल्ने, रुवाउने सन्तानले नै आमाको कथित अभिभावक बनिटोपलेर कर खाइरहेको छैन र ?

आमा आफ्ना सन्तानहरूको लुछाचुँडीमा निस्सासिएकी छन् । आमालाई विरूप बनाउने सन्तानलाई अरु सन्तानले कारबाही गर्नुपर्छ अब । आमाको मुखधरी नहेर्ने नेता–सन्तानले परिवारका अरु सदस्यको भलो हुने काम गर्छन् भनेर सोच्नु मूर्खता हो । नेपाल आमाका बलिया सन्तान आज विदेशिएका छन् । रहरले विदेशिनु त ठीकै पनि होला तर, कहरले विदेशिएका छन् । नेपाल आमाका सन्तान बेरोजगार छन् । महँगीको चपेटामा परेका छन् । शिक्षा र स्वास्थ्य अति भद्रगोल हुँदा दुःखी छन् । पैसातन्त्रको चपेटाले निराश बनेका छन् ।

आमाको मुख हेर्ने दिनमा नेपाल आमाको मुख हेर्ने चेतना पलाओस् । नेपाल आमालाई धेरै दुःख दिनु भनेको अब उनलाई मार्नु नै हो । आमाका हत्यारालाई नेताजी भनेर जयजयकार गर्ने हो भने आमा अब धेरै बाँच्दिनन् । अब आमाका अरु सन्तानले सशक्त हस्तक्षेप गरेर आमालाई हत्याराहरूको चंगुलबाट मुक्त गर्नैपर्छ । 


Author

थप समाचार
x