सम्पादकीय

सम्पादकीय

एन्फा, खेलाडीलाई गर्मीमा कमसेकम पानी त खुवाऊ

इकागज |
बैशाख ५, २०८० मंगलबार १७:२४ बजे

राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन फुटबल लिगले अखिल नेपाल फुटबल संघ (एन्फा) को वर्तमान अवस्था छताछुल्ल पारेको छ । शीर्ष डिभिजनको लिग सञ्चालन गरे पनि एन्फा भने मैदानमा उत्रिएका खेलाडीका लागि पानी समेत उपलब्ध गराउन नसक्ने अवस्थामा पुगेको छ । 

‘ए’ डिभिजन लिगअन्तर्गत नै सोमबार ललितपुरको च्यासल मैदानमा थ्री स्टार क्लब र चर्च ब्वाइज युनाइटेडबीचको खेल चलिरहँदा टिम पदाधिकारीले पानी माग्दा एन्फाले पानी नभएको जानकारी गराएको थियो । पानी नपाएपछि चर्को गर्मीमा खेलाडीहरूले पानी नखाएरै खेल खेलेका थिए । एन्फाको गैरजिम्मेवारीपनका कारण क्लब पदाधिकारीहरू आक्रोशित बनेका छन् ।


१४ टिमको सहभागिता रहेको ‘ए’ डिभिजन लिग डबल राउन्ड रोविनका आधारमा खेलाउने एन्फाले निर्णय गरेको छ । तर, अहिलेसम्म केवल नवौँ चरणको खेल मात्र खेलाइएको छ । एन्फाको निर्णय अनुसार एउटा टिमले कम्तीमा पनि २६ खेल खेल्नुपर्ने हुन्छ । जबकि एउटा टिमले अहिलेसम्म जम्मा ९ खेल मात्र खेल्दै गर्दा एन्फा लाचार हुन पुगेको छ । गर्मी याममा लिग गराएर पानी समेत उपलब्ध नगराउनु अक्षमताको पराकाष्ठा हो । खेलाडीलाई पानी पिउन नदिनु न्यूनतम् कर्तव्यको विरुद्धमा मात्र छैन, मानवीय हिसाबले पनि निन्दनीय छ ।

गणेश थापाको हालिमुहाली अन्त्य गर्दै नयाँ टिम आएपछि एन्फाले व्यापक काम गर्ने फुटबल प्रेमीको अपेक्षा थियो । तर, नयाँ एन्फा नेतृत्वले पनि एक पछि अर्को गर्दै विवादास्पद निर्णय गर्दै पुरानो कार्यकाल बिर्साउने प्रयत्न गरिरहेको छ । यसमा बेलामा लिग गर्न नसक्नु एन्फाको सबैभन्दा ठूलो कमजोरी हो । यसमा एन्फाले क्लबकै कारण लिग हुन नसकेको बताउने गरेको थियो । तर, क्लबलाई मनाउन नसक्नु पनि एन्फाकै असफलता मान्न पर्छ ।

पछिल्लो समय खेलाडीको विदेश पलायन सबैको चासो र चिन्ताको विषय बनेको छ । खेलाडीको विदेश पलायन रोक्न समेत लिगले सहयोग गर्ने तथा खेलाडीलाई नेपालमा खेल्न सक्ने राम्रो वातावरण बनाउने योजनाहरू अघि सार्ने तयारी रहेको समेत एन्फा पदाधिकारीहरूले दाबी गरेका थिए । तर, खेलाडी पलायन पनि रोकिएको छैन, लिग चलिरहँदा पनि एक पछि अर्का चर्चित खेलाडी विदेश पलायन भइरहेका छन् । एन्फाको आश्वासनले खेलाडी पलायनमा कुनै असर गरेको छैन । खेलाडी पलायन भएकै कारण टिमका लागि पर्याप्त खेलाडी पुर्‍याउन एन्फाले विदेशी खेलाडीको कोटा समेत थप्न लगाएको थियो ।

अर्कोतर्फ एन्फाले लिग सञ्चालनका लागि प्रायोजकबाट ठूलो रकम प्राप्त गर्ने योजना बनाएको भएपनि एन्फाले लिगका लागि मुख्य प्रायोजक समेत पाउन सकेको छैन । जसका कारण एन्फा भने आर्थिक संकटबाट गुज्रिरहेको पदाधिकारीहरूले दाबी गरिरहेका छन् । आर्थिक संकटकै कारण एन्फाले ‘बी’ डिभिजन लिग समेत सञ्चालन गर्न नसक्ने बताइरहेको छ । जसका कारण ‘बी’ डिभिजन क्लबहरूले सार्वजनिक रूपमै एन्फाविरुद्ध प्रदर्शन गर्नुका साथै क्षतिपूर्ति समेत माग गरिरहेका छन् ।

अर्कोतर्फ एन्फा पदाधिकारीहरू पनि विभाजित भएका छन् र अध्यक्ष पंकज विक्रम नेम्वाङले आफ्ना सदस्यहरूलाई एक ढिक्का बनाएर राख्न सकेका छैनन् । जसका कारण एन्फाले गर्ने हरेक निर्णय विवादित बन्दै गएको छ ।


Author

थप समाचार
x