सम्पादकीय

सम्पादकीय

राजनीतिक प्रदूषण र विश्वकै प्रदूषित सहर काठमाडौँ

इकागज |
बैशाख ४, २०८० सोमबार १८:२१ बजे

नेपाल वायु प्रदूषणको चपेटामा परेको छ । गत शनिबार र आइतबार काठमाडौँ उपत्यका विश्वकै प्रदूषित सहरको सूचीमा पहिलो नम्बरमा पुग्यो । 

वायु गुणस्तर सूचकांकमा २०९ अंकसहित शनिबार काठमाडौँ विश्वकै प्रदूषित वायुयुक्त सहर बनेको छ । आइतबार पनि प्रदूषित सहरको सूचीमा काठमाडौँ पहिलो नम्बरमा थियो । 


विश्वका १०१ सहरको रियल टाइम प्रदूषण मापन गर्ने आइक्युएयर नामक संस्थाको तथ्यांकमा यस्तो विवरण देखिएको हो । आइक्युएयरका अनुसार सन् २०२२ मा विश्वका १३१ देशमध्ये प्रदूषणका दृष्टिले नेपाल १६औँ स्थानमा थियो ।

वायु प्रदूषणका कारण अनेक हुन सक्छन् । तर, आगलागीका कारण मात्र यति प्रदूषण बढेको होइन । यहाँ वायु इन्धनको अत्यधिक खपत छ । धुलो र धुवाँको समस्या उस्तै छ । राजधानीमा जंगल मासिएको छ । वरिपरिका डाँडाकाँडा खोस्रिइएको छ । हरियालीविनाको छ, सहर । 

वायु प्रदूषणका कारण श्वासप्रश्वासका बिरामी बढेका छन् । दीर्घ रोगीहरू बढेका छन् । यो भयावह अवस्था छ । छिमेकी भारतको राजधानी नयाँ दिल्लीको भन्दा प्रदूषण बढेको छ । यसबारे नेताहरू, शासकहरू सचेत हुनुपर्छ ।

विद्युतीय सवारीको प्रयोग बढाउनुपर्छ । नवीकरणीय ऊर्जाको प्रयोग बढाउनुपर्छ । महँगोमा इन्धन किनेर प्रदूषण बढाउनु हुँदैन । वनजंगलको देशमा प्रदूषण बढेको भन्नु लाज मर्नु कुरो हो । 

वायु मात्र होइन, यहाँ जल पनि प्रदूषित छ । ध्वनि पनि प्रदूषित छ । माटो पनि प्रदूषित छ । प्रदूषणको यो शृंखला बढेको खासमा राजनीति प्रदूषित भएर हो । हाम्रा शासकलाई कंक्रिट खपतको मात्र चासो छ । सिमेन्ट धेरै खपत गरेर त्यसबाट लाभ लिनु छ । हरियाली जोगाउनुपर्छ भन्ने चिन्ता छैन । 

मानिस जति जति दौडे पनि उसलाई चाहिने सास हो । सास सबैभन्दा खास कुरा हो । ‘हावा कुरा नगर’ भनिन्छ । तर, हावा कुरा नै सबैभन्दा ठूलो रहेछ । हावाको कुरा महत्वपूर्ण छ । हावा स्वच्छ र सफा हुनुपर्छ । जीवन धान्ने नै हावाले अर्थात् सासले मात्र हो । 


Author

थप समाचार
x