सम्पादकीय

सम्पादकीय

फेरि कोराेना : सजग रहौं

इकागज |
चैत २९, २०७९ बुधबार १९:५२ बजे

कोभिड–१९ को सन्त्रासबाट आम मानिसले केही राहत अनुभव पाएका थिए । तर यो भाइरसको नयाँ रुप फेरि देखिएको छ र संक्रमितको संख्या पनि बढ्दो छ । त्यसै पनि अर्थतन्त्र नराम्रोसँग खस्किरहेका बेला कोराना भाइरसले जनजीवन प्रभावित तुल्याउने निश्चित छ । मानिसहरू मास्क लगाउन छाडिसकेका थिए । भौतिक दूरी कायम राख्ने, साबुन पानीले हात धुने, टाढैबाट नमस्कार गर्ने जस्ता चालचलन पुरानै लयमा फर्केको थियो, मानौं कोभिड १९ जरोदेखि नै निर्मूल भइसक्यो । तर होइन रहेछ । हुँदाहुँदा बिरामीको मृत्यु नै भयो, धेरै अन्तरालपछि । यसले पुनः जनस्वास्थ्यमा सबाल खडा गरिदिएको छ ।

भाइरसहरूको उत्परिवर्तन भइरहन्छ । तर त्यो कति खतरनाक छ भन्ने कुरा महत्वपूर्ण हो । कोभिड–१९ का विभिन्न प्रजातिका भाइरस भेटिए । सबैभन्दा डेल्टा देखिएको थियो, जसले गर्दा हालसम्म १२ हजारभन्दा बढी नेपालीको ज्यान लिइसकेको छ । यो भाइरसले कुन बेला कस्तो स्वरुप पविर्तन गर्ने हो, भन्नै नसकिने । वैज्ञानिकहरूले गरेका अनुसन्धानका आधारमा यसको घातक पक्ष कमजोर हुँदै गइरहेको छ । तर त्यसो भन्दैमा हामीले सजगता अपनाउन भने छाड्नु हुँदैन ।


वैश्विक महामारीको यो चपेटा सुरु भएको तीन वर्षभन्दा बढी भइसकेको छ । यो अवधिमा धेरै मानिसको ज्यान गयो । ठूलो आर्थिक क्षति भयो । विकास निर्माण र सार्वजनिक क्षेत्रमा खर्च गर्नुपर्ने रकम खोप र औषधि खरिद गर्नमै सीमित भयो । यसले मानवीय संकट मात्र नित्याएन, मुलुकको अर्थतन्त्रलाई तहसनहस पार्‍यो । धेरै उद्योग, कलकारखाना बन्द गए । कोरोनाकालमा बन्द भएका कतिपय उद्योग अझै खुल्न सकेका छैनन् । खुलेका जति तङग्रिन पाएका छैनन् । यही बेला रुसले युक्रेनमाथि आक्रमण गर्दा विश्व अर्थतन्त्र नै डावाडोल हुन पुग्यो, त्यसको असर नेपालजस्तो अल्पविकसित मुलुकमा नपर्ने कुरै भएन ।

विश्वमा कुनै महामारी नआएका बेलामा समेत नेपालको आर्थिक र सामाजिक जीवन सामान्य हुँदैन । साधारण कुरा प्राप्त गर्नका लागि पनि नागरिकले ‘संघर्ष’ गर्नुपरेको हुन्छ । अघिपछि सामान्य अवस्थामा समेत आमनागरिक स्वास्थ्य सेवाको पहुँचभन्दा बाहिर छन् । सरकारी अस्पतालमा यन्त्र छैन । भए पनि चल्दैन । निजीमा पठाउँछन् । निजीमा सबै नेपालले उपचार गर्न पाउँदैनन् । पाए पनि घरखेत बेच्नुपर्ने अवस्था छ । नेता, धनीमानी विदेशमा गएर उपचार गराउँछन्, आम नेपाली अझै पनि सिटामोल खान नपाएर मृत्यु वरण गर्न बाध्य छन् ।

कोराेनाले अनौपचारिक अर्थतन्त्र तहसनहस तुल्यायो । राज्य निरीह बन्यो । अझ त्यस्तो संगीन अवस्थामा देशका मन्त्रीहरू स्वास्थ्य सामग्री र उपकरण खरिदमा अनियमितता गर्नमा उत्रे । व्यापारीहरू कसरी हुन्छ फाइदा लुट्नमा तल्लीन भए । सेवा प्रवाह भएन । बोलिदिने कोही भएन । निरीह नेपालीहरू चुपचाप भए । यी सबै कुव्यवस्थाका कारण हो । कुशासनका कारण हो । सुशासन भइदिएको भए कोराना उपचारका लागि आयात गरिएका सामग्रीमा भ्रष्टाचार किन हुन्थे ? नेपाली नेता र कतिपय कर्मचारीहरू यस्तो नाजुक अवस्थामा समेत मौका पर्दा छाड्दा रहेनछन् भन्ने सन्देश प्रवाहित भयो । 

अब यो कोरोनाले कुन रुप लिने हो, यसै भन्न सकिन्न । आखिर मारमा पर्ने आमसर्वसाधारण नेपाली हो । फेरि पनि उही गरिबी, अभाव, उपचारविहीनता र निरीहताबाहेक अरु छैन । तर राज्य संयन्त्र यस्तो बेइमानी छ, गर्नुपर्ने साधारण कर्म पनि गरिदिंदैन । मानौं आमनागरिकको जीवन रक्षा र स्वास्थ्य उनीहरूको ओठेभक्ति मात्र हो । राज्य र उसका मान्छेले केही गरिदिन्छ भन्ने आश नागरिकले नगरे हुने भइसकेको छ । संक्रमण बढ्दो छ । यसका लागि फेरि पनि नागरिक नै सचेत हुनुको विकल्प छैन । मास्क लगाउने, साबुन पानीले हात धुने, भौतिक दूरी कायम राख्ने र उही कुरा पुनः दोहोर्‍याउने। राज्य हाँक्नेहरूसँग आफ्ना नागरिकप्रति कर्तव्य छ भने उनीहरूले विगतको गल्ती दोहोर्‍याउनु हुन्न ।


Author

थप समाचार
x