सम्पादकीय

विशेष सम्पादकीय

हजार जनालाई विभूषित गर्ने वैशाख १ को कार्यक्रम रद्द गरियोस्

इकागज |
चैत २८, २०७९ मंगलबार १९:१५ बजे

गृह मन्त्रालयले सूचना जारी गरेको छ— २०८० साल वैशाख १ गते शुक्रबार ११ बजे राष्ट्रपति कार्यालय, शीतल निवासमा ९८२ जनालाई विभूषित गरिने कार्यक्रम छ । विभूषणको यो घोषणा २०७९ सालको संविधान दिवसमा गरिएको थियो ।

यो त उदाहरण मात्र हो । वर्षौंदेखि यो देशमा हजारौँ ‘विभूषण नायक’ जन्मिएका छन्, तर देश भने निरन्तर ओरालो लागेको छ । अब अहिले त झन् देश आर्थिक रूपमा टाट पल्टेको छ । कर्मचारीलाई तलब खुवाउनसमेत हम्मेहम्मे हुने अवस्था छ । यस्तै अवस्थालाई चित्रण गर्न बनेको गीत होला सायद, ‘कस्तो छ पोखरा, भात खाने थाल छैन हग्ने कोपरा ।’


हो, आधारभूत आवश्यकताबाटै वञ्चित एक तिहाइ जति (अ)नागरिक पीडामा छन् । तर, तिनै गरिब किसानको करमा महाभोज चलिरहेको छ । यो लोकतान्त्रिक गणतन्त्रको सबैभन्दा घिनलाग्दो दृश्य हो । फेरि एक दुई जना मात्र होइन, करिब हजार जनालाई विभूषित गरिँदै छ । समाजमा तिनीहरूको अभूतपूर्व योगदान के हो ? तिनीहरूले गरेको आविष्कार के हो ? सत्कर्म के हो ? केही थाहा छैन तर सम्मानित हुँदै छन् खलनायकहरू । हजार जनाको लिस्टमा दुई–चार जना जो साँच्चिकै सम्मानका लायक छन् । तिनीहरूको पनि बेइज्जत गरिएको छ ।

विभूषण खानेहरूको निष्पक्ष रूपमा सम्पत्ति अनुसन्धान गर्ने हो भने यिनीहरू अपवादबाहेक जेल जानेछन् । छातीभरि तक्मा र विभूषणसहितको लुगामा जेलभित्र बसेको दृश्य रोचक हुनेछ । त्यो तस्बिरले हाम्रो देशको चाकडीको लामो कथा हाल्नेछ ।

प्रश्न उठ्छ, समाजमा बर्सेनि हजार जना महामानव छन् भने समाजमा राम्रो र सकारात्मक संकेत किन छैन ? गरिबको करमा यत्रो महाभोज किन ? कर कहाँ खर्च गर्ने ? त्यो पैसाले एक हजार जना गरिबलाई शीतल निवासमा बोलाएर नाना–माना दिन सक्दैनौ ? किसानको ऋण मिनाहा गर्न सक्दैनौ ? गरिब, मैलाधैलालाई खै विभूषण ? कर तिर्ने मैलाधैला, विभूषण थाप्ने चाहिँ सुकिलामुकिला शासक, प्रशासक ? भ्रष्टाचारी र दुराचारीको सम्मानमा कर खर्च गर्ने यो कहाँको तरिका हो ? के यही हो सामाजिक न्याय ? के यही हो राज्य हुनुको अर्थ ? 

विभूषणको कुनै इज्जत छैन । नेपाली समाजले त विभूषित पात्रलाई विभूषणकै कारण भाउ दिन छोडिसकेको छ । विदेशी समुदायले पनि अब यसलाई गम्भीरतापूर्वक नलिए हुन्छ । अपवादबाहेक यहाँका सरकारी, निजी, गैरसरकारी पुरस्कार र सम्मान किनबेच हुन्छ । चाकडी गर्ने गएगुज्रेका पात्रले धेरै सम्मान थुपारेका छन् यहाँ । 
आलोचनात्मक सोच राख्ने, आफ्नै तरिकाले गुमनाम भएर निष्काम कर्म गर्नेहरूले केही पाएका छैनन् । पार्टी र गुटको नजिक नहुने खास लेखक, कलाकार, पत्रकार यहाँ मरेर बाँचेका छन् । शिक्षक, किसान, मजदुर, गृहिणी, कुक, सडक सफाइ गर्ने, कार्यालय सहयोगी, गाडी चालकहरू, महिला, दलित, अल्पसंख्यक, अपांगता भएकाहरू कहिल्यै पुरस्कृत हुँदैनन् । तर, छिपछिपे र टापटिपेहरूलाई विभूषणको ओछ्यान छ । त्यो ओछ्यान होइन, रछ्यान हो ।

आर्थिक संकट, फेरि कोभिडको संकट सबै पक्षलाई ध्यान दिँदै १ गतेको विभूषण कार्यक्रम रद्द गरियोस् । १ गते महाभोज गरेर होइन, मितव्ययी बनेर वर्षभरि चुस्त व्यवस्थापनको संकेत स्पष्ट गरियोस् । गरिबको कर दुरूपयोग गर्ने यस्ता चाकडीवाला किनबेचको संस्कार सधैंलाई बन्द गरियोस् । राम्रा पात्रलाई समाजले चिनेकै छ । उनीहरूलाई अनावश्यक वाहवाही पनि चाहिएको छैन । देश खराब तर शासकीय पात्रहरू असल हुनै सक्दैनन् । यिनलाई सम्मान गर्ने हैन, बरु कारबाहीको दायरामा ल्याउनुपर्छ । विभूषण खानेहरूको निष्पक्ष रूपमा सम्पत्ति अनुसन्धान गर्ने हो भने यिनीहरू अपवादबाहेक जेल जानेछन् । छातीभरि तक्मा र विभूषणसहितको लुगामा जेलभित्र बसेको दृश्य रोचक हुनेछ । त्यो तस्बिरले हाम्रो देशको चाकडीको लामो कथा हाल्नेछ ।

नयाँ वर्षकै दिन विभूषणकाे बिजाेग मञ्चन बन्द गरियाेस् ।


Author

थप समाचार
x