सम्पादकीय

सम्पादकीय

राजनीति भनेको सम्भावनाहरूको खेलै हुन्छ, लाजनीति हाबी भएपछि...

इकागज |
पुस १०, २०७९ आइतबार १८:३१ बजे

राजनीति ‘लाज नमान्ने नीति’ अर्थात् ‘लाजनीति’ मा परिणत भएकै कारणले भन्ने गरिन्छ, ‘राजनीति भनेकै सम्भावनाहरूको खेल हो ।’ अर्थात् राजनीतिमा जसरी हुन्छ आफूलाई सत्तामा पुर्‍याउन र टिकाउन जस्तोसुकै रणनीति अपनाइन्छ । हिजोसम्म कुकुर–बिरालो जसरी झगडा गरिरहेका थिए, अर्काे पक्षसँग गाला जोडिरहेका थिए । तर, रातारात चुनावअघिको गठबन्धन टुट्यो । चुनावपछि नयाँ सत्ता गठबन्धन बनेको छ, त्यो पनि भरपूर मतका साथ । नेपालको सन्दर्भमा सत्तामा पुग्ने, टिक्ने, बाहिरिने, झगडा गर्ने जस्ता ‘सम्भावनाहरूको खेल’ नौलो होइन, यस्ता दृश्य देख्‍न र हेर्न आमनागरिक अभ्यस्त भइसकेका छन् ।

त्यही सम्भावनाको खेलमा तेस्रो शक्तिका नेता, माओवादी केन्द्रका सदाबहार अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बन्न पुगेका छन् । पहिलो शक्ति नेपाली कांग्रेस प्रमुख विपक्षमा पुगेको छ ।


केपी ओलीले दाहाललाई र दाहालले केपी ओलीलाई सार्वजनिक रूपमा गाली गरेका भिडियोहरू यतिखेर सामाजिक सञ्जालमा ‘भाइरल’ भइरहेका छन् । हिजो एउटा मानवको स्तरबाट गिरेर गरिएका गालीहरू पुनः दोहोर्‍याएर हेर्दा वा सुन्दा नेपालको राजनीतिमा नाजायज केही होइन भन्ने छर्लंग भएको छ । सत्ताका लागि जस्तोसुकै सहमति र समझदारी गर्न सक्ने र कुनै लाज नभएकाहरूका हातमा सत्ता पुग्दा तिनले गर्ने कर्म कस्तो होला ?

जब सत्ता–राजनीति सिद्धान्त र विचारमा भन्दा कुर्सीमा मात्र आधारित हुन्छ, यस्ता दृश्य सामान्य बन्छन् । वास्तवमा सैद्धान्तिक र वैचारिक रूपले सबै जसो दल एकै प्रकृतिमा परिणत हुन्छन्, नयाँ नाममा उदाएका हुन् कि पुराना । बहुदलमा सबै दल एउटै हुनु निर्दलजस्तै हो । त्यही भएर हिजो गठबन्धनको आलोचना भएको थियो । यतिखेर त्यही गठबन्धन हो, केवल नाम मात्र फेरिएको हो ।

उही पुरानै पात्र र प्रवृत्तिको पुनरावृत्ति भएपछि आममतदाताले परिवर्तनको अनुभूति गर्न नपाउने हुन् कि भन्ने आशंका बढेर गएको छ । आफ्नो दललाई सत्तामा पुग्ने जनादेश नभए पनि दाहाललाई जसरी पनि प्रधानमन्त्री हुनैपर्ने रहर जाग्यो । यसलाई साथ दिए एमाले अर्थात् केपी ओलीले । हिजो एक अर्कालाई देखी नसहने, गाँड काेराकाेर गर्ने र चरम भ्रष्टाचारीका रूपमा व्याख्या गरिएका एकले अर्कालाई सत्तामा पुग्नका लागि सबै बिर्सिए । हिजो करिब दुई तिहाईको सरकार चलाउन नसकेर मुलुकलाई राजनीतिक अस्थिरता र अँध्यारो सुरुङभित्र धकेलेका ओलीसँग पुनः मिल्नु नेपाली राजनीतिको दुर्भाग्य बनेको छ ।

गठबन्धन गर्दैमा राजनीतिक स्थिरता नहुने यसले प्रष्ट देखाएको छ । अब मुलुक झन् अस्थिरतातर्फ उन्मुख हुने खतरा बढेको छ । कुनै पनि बेला सरकारमा बसेको दलले आफ्नो समर्थन फिर्ता लिन सक्ने र प्रधानमन्त्रीले संसद्‍मा विश्वासको मत लिनुपर्ने हुन्छ । टाउकोमाथिको यो तरबार जतिखेर पनि झुन्डिरहने भयो । सत्तामा सहभागी दलका नेताका जायज/नाजायज अपेक्षा पूरा नहुँदा सरकार ढल्ने अवस्था रहनु राजनीतिक रूपले अस्थिर हुनु हो ।

यद्यपि संसदीय अभ्यासमा जसको बहुमत पुग्छ, उसकै सरकार बन्ने हो । हिजो गठबन्धन बन्दाखेरि पनि राजनीतिक दलहरूको आफ्ना नाम, सिद्धान्त, विचार र पहिचान समाप्त भएकै थियो । अहिलेको सत्ता गठबन्धनले पनि त्यही गर्‍यो । यसको अर्थ नेपालमा अब को वामपन्थी, को दक्षिणपन्थी, को लोकतन्त्रपन्थी, को नयाँ, को पुराना भन्ने नै रहेन । केवल रह्यो, जसरी हुन्छ सत्ता चाहियो । त्यसैको उपज संसद्‍मा ३२ सिट प्राप्त दलका नेता प्रधानमन्त्री हुनु हो । त्रिशंकू संसद् हुँदा २० सिट जितेको पूर्वपञ्चहरूको पार्टीले दुई, दुई पटक प्रधानमन्त्री हुने अवसर पाएको थियो, कारण थियो यही राजनीतिक अस्थिरता ।

जनताको माझमा परीक्षित हुन बाँकी जनमत पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी मात्र हुन् । अरू सबैका परीक्षण भइसकेको छ । यिनको विगत हेर्ने हो भने यिनीहरूबाट मुलुकको हितमा काम हुने अपेक्षा निकै कम गर्न सकिन्छ । त्यही भएर आम मतदाताले परिवर्तन खोजेका थिए । मतदाताको नियति नै उनै पुरानै पात्र आए । सत्तामा गएका र जाने दलहरूले एकाएक बुद्धत्व प्राप्त गरी नाटकीय रूपमा आफूलाई रूपान्तरित गरे भने अझै पनि मौका नभएको होइन ।

विगतका गल्ती, कमजोरीबाट पाठ सिकेर र आगामी दिनमा मतदाताको ती मतलाई सम्झेर मुलुकको हितबाहेक अहित नचिताउने अनि त्यहीअनुरूप कर्म गर्ने हो मतदाताले माफ दिन सक्छन् । अब पनि भ्रष्टाचार गर्ने, धनार्जनमा मात्र दत्तचित्त हुने हो भने यिनका कारण सिंगो व्यवस्था नै धरापमा नपर्ला भन्न सकिंदैन । तसर्थ, हिजोका कुकृत्य गर्न छाड्ने नै यी दलहरू सुध्रने र सप्रने एकमात्र आधार हो । हिजोकै कुकर्म गर्ने हो भने राजनीतिक अस्थिरता उदय हुनेछ । त्यही अस्थिरताले २०६१ माघ १९ गते जन्मने मौका पाएको थियो । अब त्यस्तो नहोस् ।
 


Author

थप समाचार
x