रङ्गमन्च

भैरव अर्यालको आत्मासँग साक्षात्कार गर्ने आँखीझ्यालः ह बिन्दु राम पण्डित

प्रदिप देवकाेटा |
असोज १२, २०८० शुक्रवार ११:२८ बजे

टाढा टाढा एउटा गाँउमा

बाजे बराजु मरेकै ठाँउमा


म पनि अचानक अस्ति खसेको छु

त्यसैले आफू आफ्नै किरिया बसेको छु ।

 

ए कोही नआओ बोलाउन मलाई

म भित्र आफ्नै कोलाहल छ

निषेधै निषेधको कोरा बारी बसेको छु

आफ्नै वियोग वेदनाको हलाहल छ ।।

यी हरफहरू सुन्दा सामान्य कविताका फगत पङ्क्ति लाग्न सक्छन् तर यी हरफहरू नेपाली साहित्य जगतका एक चम्किला नक्षत्र अस्ताउनै लाग्दा लेखिएको एउटा सुसाइड नोट- कविता हो जस्लाई तपाई पुनः एक पटक प्रत्यक्ष देख्न, सुन्न र अनुभव गर्न सक्नु हुन्छ, बत्तिसपुतलीमा अवस्थित गोठाले नाटक घरका स्वप्निल भित्ताहरूमा ।

देशको अस्तव्यस्त राजनीतिक, सामाजिक, आर्थिक, प्रशासनिक कामकाजबाट वाक्कदिक्क भएर आफ्ना आक्रोशहरूलाई व्यङ्ग्यको झटारो हान्न सिपालु भैरव अर्याल,आखिरमा तिनै समाजमा जरो गाडेर बसेका ऐँजेरूहरूले चुसेर जिर्ण शरीर, मक्किएको आत्माविश्वास, चरम मानसिक यातना र आत्मग्लानिमा परेर पटक पटकको असफल आत्महत्याको प्रयास पछि अन्ततः चालिस वर्षको अल्पआयुमा आफ्नो जीवनलिला समाप्त गर्लान् भनेर कस्ले चिताएको थियो होला र ।

नेपाली साहित्य जमातमा हास्य व्यङ्ग्यकार भैरव अर्याललाई नचिन्ने सायदै कोही होलान् । यदि अपवाद कोही रहेछन् भने पनि उनीहरूलाई “जय भुँडी” निबन्ध संग्रहको “जय भोलि” लेख्ने क्या! भन्यो भने तु सम्झिहाल्छन् । नव पुस्ताले बिर्सँदै गएका भैरव र्याललाई जीवन्त पार्न र उनले बाँचेको त्यो कष्टकर समयलाई आँखीझ्यालबाट नियाल्न निर्देशक बरात लिम्बू र उनको टिमले, दैलो प्रोडक्सनको प्रस्तुतिमा शिल्पी थिएटरमा भाद्र २७ देखि असोज १३ गते सम्म नाटक ‘ह बिन्दु राम पण्डित’ नियमित रुपमा मञ्चन गरिरहेको छ ।

भैरव अर्यालका प्रसिध्द कृतिहरू जय भुँडी, काउकुती, इतिश्री निबन्ध संग्रह भित्रका विभिन्न निबन्धका कथावस्तुलाई टपक्क टिपेर, अहिलेको मैलिक परिवेश र संवादमा नाट्य आलेख तयार पारेका बरात लिम्बूले वर्तमान समयमा देखिएका राजनीति, प्रशासन, सामाजिक संस्कार र मानिसको मनोवृत्तिलाई भैरव अर्यालकै अन्दाजमा मीठो व्यङ्ग्यसहित करिब डेढ घन्टा लामो खुराक तयार पारेका छन् ।

नाटक दुईवटा सेटिङमा सकिन्छ, एउटा यमलोक र अर्को मर्त्य लोक अर्थात पृथ्वीमा । नाटकको सुरूवातमै हामी मञ्चको केन्द्रभाग, यमलोकमा एउटा दु:खीआत्मा लम्पसार परेको देख्छौँ जो भर्खरै पृथ्वीमा सडक दुर्घटनामा परेर यता आएको छ । नाटकको मुख्य पात्र हवल्दार राम पण्डित अर्थात् छोटकरीमा ह.राम पण्डित आफ्नो पाप र पुण्यको हिसाब किताब मिलाउन, स्वर्ग जाने कि नर्क जाने भनेर फैसला सुन्न चित्रगुप्तको कार्यालयमा हाजिर छ तर पृथ्वी (मर्त्य)लोकलाई सदियौँदेखि अस्तव्यस्त पारेको भोलिवादले यमलोकमा पनि आफ्नो धर्म भने छोडेको छैन् ।

चित्रगुप्तको कार्यालयमा मरेर यमलोक पुगेका दुःखी आत्माहरूको बहिखाता हेर्ने, पाप र पुण्यको लेखाजोखा गर्ने विभिन्न विभागहरू छन् र त्यहाँ पनि मर्त्यलोकमा जस्तो निवेदन दिने, रसिद काट्ने, फाईल मिलाउने जस्ता कार्यहरू त्यहाँका कर्मचारीहरूले गर्दैनन् बरू मरेर यमलोक पुगेका  ह.राम पण्डित जस्ता सेवाग्राहीलाई कहिले कुन कोठा त कहिले कुन कोठामा फाईल पठाएर, कहिले सर्भर डाउन छ भनेर  र केहीले घुस मागेर हैरान पारिरहन्छन् र  अन्ततः सेवाग्राहीको अवस्था यस्तो सम्म हुन्छ कि मरेर यमलोक पुगेको ती आत्मा पनि यो झंझट, भोलिवादबाट मुक्ति पाउन पुनः मर्न चाहान्छ तर फेरि मरेर जाने कहाँ ? यो व्यङ्ग्य हिजो भैरव अर्यालले “जय भोलि” लेखिरहँदा होस् या आजको दिन पर्यन्तः पनि उत्तिकै सान्दर्भिक छ, र यथार्थ पनि त उही छ । भैरव अर्यालकै शब्दमा भोलिवाद हाम्रो संस्कृति हो, दर्शन हो, राजनीति हो, प्रशासन हो, सामाजिक व्यवहार हो अनि त्यसको गुलाम हौँ ।

नाटकको सुरुवात केही फितलो पक्कै छ, जस्तो कि अहिले टिकटकमा भाइरल गीत “बादल बर्षा बिजुली” मा टिकटक बनाएको होस् या स्वयमं यमराजको इन्ट्री हुँदा बोलिने ‘मुर्रा’ शब्द र ‘रक् याण्ड रोल’को हातको इसारा जुन आवश्यक थियो जस्तो लाग्दैन । यी त यस्ता कुराहरूले नाटकमा मसला र हाँसो त दिन्छ तर पूरा नाटकको महत्वलाई बढाउन सक्दैन बरू त्यसको ठाँउमा अन्य ध्वनि, विम्ब वा आकृतिहरूको प्रयोग गर्न सकिन्थ्यो होला । हुनसक्छ अहिले सामाजिक सञ्जालमा चलेका केही भाइरल गीत, मिम र ट्रोलहरूलाई सुरुवातमै प्रयोग गरियो भने दर्शकले नाटकसँग आफूलाई कनेक्ट गर्न सक्छन् र अहिले हामीले जे देखिरहेका छौँ त्यो नै हामीले भोगिरहेको जीवनको सापट हो भनेर दर्शकलाई आश्वस्त पार्न पनि निर्देशकले यस्तो चलाखी गरेको हुन सक्छन्। कथाले नाटकको मुख्य संवेदनालाई छाम्न केही समय जरूर लिन्छ किन्तु जब कथा अघि बढ्दै जान्छ तब दर्शकलाई आँखा झिमिक्क पार्न दिँदैन ।

नाटकमा अभिनयरत पात्रहरूको अभिनय कला उत्कृष्ट छ विशेष गरी राम पण्डितको भूमिकामा देखिएका विकाश जोशीको अभिनय कौशल निकै सशक्त छ । उनको त्यो जोस, जाँगर र उर्जाले नाटकलाई जीवन दिएको छ अनि  मिल्सन राईको त्यो कवि अन्जाद पनि बडो गज्जबको छ । ऊनले देवकोटाको नक्कलमा चुरोट सल्काएको, त्यसको धूँवाका केस्राहरूलाई औँलाहरूले टप्प टप्प टिपेको दृश्य निकै आकर्षक छ, लोभ लाग्दो छ । झन भैरव अर्याललाई आफ्नै आँखा अगाडि, उस्तै लवज र भेषभुषामा देख्दा एक चोटी शरीर सिरिङ अवश्य हुनेछ । साथै अन्य कलाकारहरूको अभिनयले पनि दर्शकको मन जित्ने छ, नाटक हेरिसकेपछि पनि ती पात्रहरूलाई भेँटु भेँटु लाग्ने छ । अर्को गजबको कुरो चैं यमलोकमा पापपुण्यको हिसाब भइरहँदा दर्शकहरूले आफ्नो अघि स्टेजमा यमराजको आसनमा चढ्न बनाइएका खुट्किलाहरूका ऐनामा स्वयम् आफूलाई देख्न पाउँछ र सायद मनमनै आफ्नो पाप पुण्यको पनि हिसाब लगाइरहेका हुन्छन् ।

नाटकको उत्तरार्धमा मर्त्यलोकको सेटिङमा एउटा हस्पिटल देखाइन्छ जहाँ प्रमुख पात्र राम पण्डित भर्खरै मृत्यु शैयाबाट उठेको हुन्छ किनकि उसको यमलोकमा पापपुण्यको हिसाब मिलेको हुँदैन । केही प्राविधिक त्रुटीका कारण उसलाई पुन पृथ्वीमा पठाइन्छ । जब उ मृत्यु शैयाबाट उठ्छ उसमा  हामी दुई फरक पात्रहरूको मनोदशा देख्न सक्छौ, एक स्वयम् भैरव अर्याल र अर्को उनले रचना गरेको पात्र । लेखकसँग पात्रले गर्ने विद्रोह, पात्रले आफूले भोगेको समयसँग पोख्ने आक्रोश, निर्धो लेखकको सुस्केरा अनि मानसिक तनावले प्रताडित एक महत्वकांक्षी पति वा बाबुको चित्कारमा नै नाटकको अन्य हुन्छ । अन्त हुनु पुर्व भैरव अर्यालले यो धरतीको सादा पन्नामा आफ्नो अन्तिम कृतिको रचना गर्छन् आफ्ना औँलाहरूको कलम बनाएर र लेख्छन् आफ्ना प्रियजनहरूलाई अन्तिम पत्र । आफ्नो सुसाई नोट-कविता । यो दृश्य निकै कारुणिक छ । यसले जस्तै कठोर मुटु भएकाहरुको मुटु पनि नमज्जाले हल्लाइदिन सक्छ । नाटकको अन्तमा उनको आवाजमा केही लाइनहरू लाउडस्पिकरमा बज्छन् र त्यसपछि सम्पूर्ण कलाकारहरू क्रमशः स्टेजमा उनको कविता गाउँदै दर्शकहरूलाई भैरव अर्याल बिदाइका हात हल्लाउछन् ।

नाटकलाई यस्तो ठाँउमा ल्याएर निर्देशकले बिट मारेका छन् कि दर्शकको अघिको हाँसो अब गम्भिरतामा टुङ्गिन्छ । वास्तवमै भैरव अर्यालको अन्तिम समय पनि यस्तै दुखान्तमा गएर सकिएको थियो जुन कुरा उनले बाग्मती नदीमा हामफालेर आत्महत्या गर्नुपूर्व आफू कार्यरत गोरखापत्र संस्थालाई लेखेको एउटा राजिनामा पत्रमा उल्लेख गरिएको छ। उक्त पत्रमा आफूले गोरखापत्रबाट रु चार हजार सापटी लिएको र त्यो तिर्न अझै बाँकी भएको अनि आफूले सञ्चय कोषबाट पाउने रकमबाट काटेर बाँकी आफ्नो श्रीमति शोभा अर्याललाई दिनु भनी ऊल्लेख गरेका रहेछन् जुन कुरा नाटकमा पनि बारम्बार देख्न सुन्न पाइन्छ ।

नाटक हेरिरहँदा  उनको कथालाई विस्तारमा बुझ्दा आजसम्म पनि भैरव अर्यालको आत्मा यतै कतै अल्झिएको पो छ की? उनका सिर्जनाका पात्रहरूमा, शब्दका कुरुसहरूमा, पुस्तका सुकिला पान्नाहरूमा उनी अझै जीवितै छन् ।

एक पटक भैरव अर्याललाई नजिकबाट बुझ्न, उनलाई शब्द, संगीत र दृश्यमा महसुस गर्ने मौका जुरेको छ र उनको शब्दको सुवासमा रमाउँदै हुर्केको पुस्ता होस् या भर्खरै साहित्यको चुस्कि लागेको नवयुवा होस्, भैरव अर्यालको त्यो नोस्टालजियामा जिउन एक पटक ‘ह बिन्दु राम पण्डित’ नाटक हेर्नैपर्छ । अनि यो नाटक हेर्नलाई भोलि भोलि नभन्नुहोला नि किनकि भोलि कहिल्लै आउँदैन तर यो नाटक सकिन केवल केही दिन मात्र बाँकी छ ।


Author

थप समाचार
x