रङ्गमन्च

के हरियाले बाँझो खेतमा ट्युबेल गाड्ला ?

सामीप्यराज तिमल्सेना |
साउन ७, २०८० आइतवार १०:१८ बजे

काठमाडौँ- कृषि तथा पशु पन्छी विकास मन्त्रालयले शुक्रबार मात्र जारी गरेको तथ्यांकले यो साल ६८ प्रतिशत मात्र रोपाइँ भएको जनाउँछ । गत साल यही समयमा ८८ प्रतिशत रोपाइँ भएको मन्त्रालयको आँकडा छ । अर्थात् यो साल २० प्रतिशत खेत बाँझै रहनेछन् ।

यसरी २० प्रतिशत खेत बाँझै रहेको कारण चाहिँ बिऊ वा हल गोरु नभएर होइन ।  पानी नभएर हो । यो साल वर्षायाममा पनि पुग्दो पानी नपरेपछि किसान बाँझो खेत टुलुटुल हेर्न बाध्य भएका हुन् । 


वर्षायाममा पनि किसानले खेत रोप्न नपाएका समाचार आइरहेका बेला यही मौसमको छेकोमा पुरानो नाटकघरमा एउटा नाटक मञ्चन भइरहेको छ, ‘ट्युबेल’ । रोशन सुवेदीको परिकल्पना तथा निर्देशन रहेको नाटकले पनि किसानको यही समस्यालाई विषय बनाएको छ । अर्थात् बाँझो खेतमा सिँचाइको कल्पना । ट्युबेल राखेर बाह्रै महिना केही न केही खेती गर्ने किसानको सपना । 

कथाले हामीलाई २४ वर्षअघि पुर्‍याउँछ , २०५६ सालमा । प्रजातन्त्रको दोस्रो पुनर्बहालीपछि सरकारले भूमिगत जलस्रोत विकास परियोजना अन्तर्गत सिँचाइको असुविधा भएका ठाउँमा ट्युबेल उपलब्ध गराउने कार्यक्रम सुरु भएको छ । यसका लागि सरकारी प्रतिनिधि लालबहादुर खड्का (भुवन लुहार) तथ्यांक संकलन गर्दै र उपयुक्त ठाउँमा ट्युबेल राख्ने ठाउँ खोज्दै एक दिन सेढवा आइपुग्छन् ।

उनको तजबिजले ट्युबेल राख्नका लागि हरिया (राजीव चौधरी) को जमिन उपुयुक्त ठहरिन्छ । लालबहादुरले हरियालाई यसको सूचना दिन्छन् । खेत बाँझो भएर आजित भएका हरियाका लागि यो खबर कम्ता खुसीको खबर हुँदैन । उनले श्रीमती मुन्नी (निशा दाहाल)लाई पनि यो खुशखबरी सुनाउँछन् । दम्पती नै दंग पर्छन् । तर ट्युबेल राख्न पनि सरकारको सर्त छ , २० प्रतिशत रकम ट्युबेल राखिने जग्गा धनिले तिर्नुपर्नेछ । ८० प्रतिशत सरकारले अनुदान दिन्छ । कथानुसार सरकारले यसरी ट्युबेल गाड्न ५ लाख खर्च हुने अनुमान गरेको छ जुन समुदायले सामूहिक रुपमा तिर्नुपर्नेहुन्छ । तर हरियाको खेतमा गाडेको ट्युबेलले आफूहरुको खेतीमा सिँचाइ नहुने भन्दै गाउँका मानिस तर्कन्छन् ।

खेतमा पानी ल्याएर सुन फलाउने सपना देखेको हरियाले येनकेन गरेर सरकारलाई १ लाख बुझाउँछ । तर यसरी सरकारलाई पैसा बुझाएको केही समयमा नै सरकारी कर्मचारीले अनुदानको स्वरुप फेरिएको र किसानले २० हैन ८० प्रतिशत रकम बुझाउनु पर्ने नयाँ नियम लागू भएको सूचना दिन्छन् । अर्थात् अब हरियाले थप ३ लाख बुझाउनु पर्ने हुन्छ । सँगै लालबहादुरले बाँकी पैसा नबुझाउने हो भने पहिला तिरेको १ लाख रुपैँया पनि फिर्ता नहुने तीतो सूचना दिन्छन् । खेती गरेर बाह्रै महिना सुन फलाउने हरियाको सपना चकनाचुर हुन्छ । नहरमा माछाका भुरा संगलेर जीवन चलाउने हरियाले बाँकी ३ लाख तिरेर खेतमा ट्युबेल गाड्ला ? नाटकको कथा यही वरिपरि घुमेको छ ।

वर्षायाममा पनि किसानले खेत रोप्न नपाएका समाचार आइरहेका बेला यही मौसमको छेकोमा पुरानो नाटकघरमा एउटा नाटक मञ्चन भइरहेको छ, ‘ट्युबेल’ ।

राजधानीका नाटकघरमा मञ्चन हुने नाटकमा मधेसका चरित्रमा फाट्टफुट्ट देखिने रोशनको जन्मस्थान महोत्तरी हो भने कर्मस्थान पर्सा । रोशनले नाटकलाई प्रस्तुत गर्ने यही कर्मभूमिको भाषा छनौट गरेका छन् । अर्थात् नाटक पुरै भोजपुरी भाषामा छ । लालबहादुर बनेका भुवन लुहारले बाहेक बाँकी सबै चरित्रले भोजपुरी भाषा बोल्छन् जुन यो नाटकको सुन्दर पक्ष हो । कलाका कथा र चरित्रमा स्वामित्वको कुरा उठिरहेको समयमा उनले मधेसको कथालाई त्यही समुदायको भाषा र चरित्रद्धारा प्रस्तुत गरेका छन् । यसका लागि रोशनले डिस्टिङसन पाउँछन् । 

यो नाटकको दोस्रो राम्रो पक्ष चाहिँ कथाको उठान हो । सरकारी कागज र सरकार हाँक्ने मन्त्री –प्रधानमन्त्रीका ओठमा सुपरग्लु झैँ टाँसिरहने शब्द हो, नेपालको कृषि । कृषिसँगै किसानका समस्या पनि भाषणहरूमा पनि नछुटाइ उच्चारण गरिन्छन् । तर नेपालमा किसानहरू पहिले खेती नै गर्न नपाएर तडपिने गरेका छन् त खेती गरेका किसान मल नपाएर । अझ यही साल त गाईगोरुमा देखिएको लम्पी स्किन भन्ने रोगले किसानका पेटमा लात बजारिरहेको छ ।

यस्तो अवस्थामा किसानका समस्यालाई उजागर गर्नु पनि नाटकको उल्लेखनीय पक्ष हो । तेस्रो कुरा चाहिँ नाटकमा हामीले बिल्कुलै नयाँ अनुहार देख्छौँ जो कथाको माटोसँग तादाम्यता राख्छन् । तर नाटकमा नयाँ भए पनि मञ्चमा देखिने हरेकको अभिनय उत्तम छ । लेखकले सिर्जना गरेको दुनियाँलाई कलाकारले नबिझाउने गरी मञ्चमा प्रस्तुत गरेका छन् । मञ्चको परिकल्पना पनि सुन्दर छ । लुगा, लवजसँगै सेट निर्माणले पनि दर्शकलाई स्वादले तराई पुर्‍याउँछ ।

तर रोशन सुवेदीको लेखन कथालाई गहिराईमा लैजान भने चुकेको छ । लेखनले हरियाका लागि ट्युबेल कति जरुरी थियो भनेर दर्शकलाई महसुस गराउँदैन । अनि नाटकमा सरकारको भूमिका पनि नाटकीय छ । केही समय पहिले २० प्रतिशत अनुदान दिए पुग्ने निर्णय सरकारले कसरी रातारात फेर्छ ? वा यसमा लालबहादुरको षड्यन्त्र थियो भने यसको संकेत दर्शकले पाउँदैनन् ।

सिँचाइको कुरालाई लिएर मञ्चमा दन्तबझान गर्ने हरिया र चित्तरन्जन (रोहित रजक) खेतको भूगोल अझै मज्जाले प्रष्टिएको भए, चित्तरन्जनले हरियामाथि गर्ने जालझेल थप रोचक हुनसक्थ्यो । अनि ट्युबेल राख्नका लागि सारा पैसा हरियाले मात्र तिर्नुपर्ने कुरा पनि लेखकीय/निर्देशकीय लिबर्टी जस्तो महसुस हुन्छ । किनकि सरकारले ट्युबेल त्यो गाउँकै सिँचाइका लागि राख्ने गरेको होला नकि हरियाका लागि मात्र । त्यसैले पैसा पनि गाउँले सबैले तिर्नुपर्ने होला न कि हरिया एक्लैले ?

नाटकमा मूलभूत रुपमा प्रश्न गर्ने ठाउँहरु छाड्दा छाड्दै पनि तराईको कथा मञ्चमा उक्लनु सकारात्मक कुरा हो । यो कुराको जस रोशन र उनका कलाकार– प्राविधिक टिम सबैलाई जान्छ । यदि तपाईँ नाटकमा उही अनुहार र खस नेपाली भाषा मात्र सुनेर अलि उग्राउनु भएको छ भने तपाईँले ट्युबेल चलाउन सक्नुहुन्छ । 

नाटकमा राजीव चौधरी , निशा दाहाल, श्रवण यादव, अरविन्दकुमार मोर्य, रोहित रजक, कुन्दन र भुवन लुहारलाई मञ्चमा देख्न सकिन्छ भने जानुका नेपाल, शरद राई र दीपेश राईलाई पनि मञ्चमै देख्न सकिन्छ तर गायन–वाद्यवादनको भूमिकामा ।  

नाटक साउन १५सम्म बुधबारबाहेक हरेक दिन साढे ५ बजे मञ्चन हुनेछ । शनिबार भने दिउँसो १ बजे पनि मञ्चन हुनेछ ।


Author

सामीप्यराज तिमल्सेना

सिनेमा, संगीत र नाटक विधामा कलम चलाउने तिमल्सेना मनोरञ्जन ब्युरो चिफ हुन्।


थप समाचार
x