रङ्गमन्च

समीक्षा

लामबद्ध सपनाहरूको सामूहिक अवसान

शिशिर उप्रेती |
चैत १९, २०७९ आइतवार ८:१८ बजे

के हुन्छ जब सपना पर धकेलिन्छ ?
के सपनाहरू घाममा सुकाएको
किसमिस जस्तो चाउरिन्छ ?
या त कहिल्यै निको नहुने
घाउ जस्तो बल्झी रहन्छ ?
के सपना सिनो जस्तो दुर्गन्धित हुन्छ ?
या त चिनीको बाक्लो झोल माथि
पाप्रो बनेर बस्छ ?
सायद सपनाले गह्रुङ्गो भारीले झैँ
थिची रहन्छ ।
कि सपना एक दिन विस्फोट हुन्छ ?

अमेरिकन ज्याज कवि ल्याङस्टन ह्युजको कविता ‘हर्लेम’ का हरफहरू हुन यी । अमेरिकामा गोराहरूद्वारा निर्मित सामाजिक र राज्य संरचनामा कालाहरूको स्वतन्त्रता र न्यायको सपना माथि भएको निर्मम प्रहार कवितामार्फत अभिव्यक्त गरेका छन् यी अश्वेत कविले ।


भनिन्छ सपना टुट्नुको पीडा संसारका सबै पीडाहरू भन्दा  पीडादायी हुन्छ । हरेक मानिस केही न केही सपना बोकेर बाँचेको हुन्छ । तिनै सपनाहरूलाई मलजल गर्दै आफ्नो जीवनको महत्त्वपूर्ण समय खर्चिन्छ । अनि कुनै दिन यस्तो बिन्दुमा आइपुग्छ कि न सपना पूरा हुन्छ न जीवन बाँकी रहन्छ । त्यस पश्चात् के ? यसको जवाफ पाउन अमेरिकी नाटककार आर्थर मिलरले लेखेको 'डेथ अफ अ सेल्सम्यान', विप्लव प्रतीक द्वारा अनुवादित र अनुप बराल द्वारा निर्देशित , थापागाँउको मण्डला थिएटरमा मञ्चन भइरहेको नाटक 'एउटा सपनाको अवसान' हेर्नुपर्छ ।
 
साहित्यको सर्वोत्कृष्ट पुलिट्जर पुरस्कार विजेता आर्थर मिलरले १९४८ मा लेखेर १९४९ मा पहिलो पटक मञ्चन भएको नाटक 'डेथ अफ अ सेल्सम्यान' आज पनि नेपाली समाजमा त्यतिकै प्रासङ्गिक र सान्दर्भिक छ । नेपालको सन्दर्भमा नाटकको प्रासङ्गिकता त्यति बेला आकासियो जब नाटकको मञ्चन पूर्व तयारी भई रहँदा इलामका युवा व्यापारी प्रेम प्रसाद आचार्यले संसद् भवन अगाडि अवसान भएका सपनाहरूले भरिएको लामो चिठ्ठी लेखेर आत्मदाह गरे । 
 
उपभोक्तामुखी समाज पुँजीवादी शासन व्यवस्थाको उपज हो । समानको उत्पादन, त्यसको खरिद तथा उपभोग यसको केन्द्रमा रहन्छ । वस्तु अर्थव्यवस्थाले मानिसलाई एक्लो बनाइ दिन्छ । उपभोक्तामा परिणत व्यक्तिले आफ्नो व्यक्तित्व र स्वतन्त्रता गुमाउँछ र उ भाव शून्य हुन्छ । जब सुख र खुसी बिचको फरक छुट्टाउन उ असमर्थ हुन्छ अनि सुरु हुन्छ जीवनको घनचक्कर । भौतिक सुख र खुसी प्राप्त गर्ने चाहानाको जाँतोमा पिसिन थालेपछि सीमित विकल्प बीच उत्तम विकल्पको चयन गर्नु पर्ने बाध्यात्मक परिस्थिति नाटकको 'प्रासङ्गिक सशक्तता' हो ।
 
बीरेन प्रताप कार्की (रोयिदिभ श्रेष्ठ ) एउटा व्यापारी हो । उ दिनरात समान बेच्न देशका फरक फरक सहरमा यात्रा गर्छ । लीला (दिया मास्के) एक असल श्रीमती र ममतामयी आमा हुन जसले पारिवारिक जिम्मेवारी अद्भुत रूपमा निर्वाह गर्छिन् । सनुप (दिव्य देव र जीवन गौतम) सानो सानो सामान चोरी गर्ने (क्लेप्टोमेनिक) र मनोवैज्ञानिक विचलनमा बाँचेको पात्र हो । सगुन (विकास जोशी र अभिषेक खड्का) नारीप्रति आसक्त (वुमनाइजर) पात्र हो ।

चन्द्रवीर (सन्देश शाक्य) एक असल भाव भएको यस आधुनिक र क्रुर समाजमा मानवता जीवितै रहेको प्रमाण दिने सहयोगी छिमेकी हो । नाटक मूलभूत रूपमा बीरेन र लीलाको वरिपरि घुमिरहन्छ । छोरा सनुपले कथालाई 'क्याटालिस्टिक इफेक्ट' दिइरहन्छ । बीरेनको जेठो छोरा सनुपसँगको तिक्ततापूर्ण सम्बन्ध नाटकलाई 'इन्टेन्सिफाइड एक्सन' तिर डोर्‍याउने कसी हो । सनुपको विक्षिप्त बाल मनोविज्ञानको प्रभाव नाटक भरिनै देख्न पाइन्छ ।
 
 सानो सानो चरित्रमा भए पनि सूर्यमान लिम्बु, अविरल प्रताप अधिकारी, मेनुका प्रधान, शेखर चापागाईँ, उत्पल झा,सारा जे अधिकारी, निकिता आचार्य र विशाल पुलामीले नाटकको प्रवाहलाई पूर्ण न्याय गरेका छन् । नेपाली सुगन्ध दिने पात्रहरूको चरित्र निर्माणमा अनुवादक विप्लव प्रतीक र निर्देशक अनुप बरालले उम्दा काम गरेका छन् । लीला बाहेक बीरेन, सगुन र सनुपका आफ्नै त्रासदीय दोष छन् जसले उनीहरूलाई दुःखको अन्तयहिन भुमरीमा घुमाई रहन्छ । ।
 
जीवनभरिको कमाइले एउटा घर र गाडीको किस्ता तिर्न नपुगेको अवस्थामा छोराको व्यावसायिक योजनामा आर्थिक योगदान गर्न असमर्थ हुनुको पीडा बीरेनको प्रमुख छटपटीको कारण हो । नाटक सुरु हुँदा एक दुई पटक जानी जानी वा अनजानमा गाडी ठोक्काएको चर्चा र पछि आत्महत्या गर्न लुकाएर राखेको पासो भेटिएको प्रसङ्गले नाटकलाई थप कौतुहलता प्रदान गर्छ । बीरेन आफू असफल भएको निष्कर्ष सहित आफूले सम्भावना देखेको छोराको सफलतामा जीवन- पर्यन्त रमाउने निर्णय गर्छ । दुर्घटना बिमाबाट आर्जन हुने रकमले छोरोको सपना पूरा होस् भनेर जीवन त्याग गर्न योजना बनाउँछ । 
 
'यौटा सपनाको अवसान' नाटकले मूल रूपमा समाजमा बाँचिरहेका व्यक्तिहरूको सपनाको अवस्था र सपना देख्दा चुकाउनु पर्ने मूल्यको भावलाई उठान गरेको छ । नेपाली संरचनाको परिवारमा सामान्यतया सपना देख्ने छुट परिवारको मुलीलाई मात्र लाई हुन्छ अर्थात् पुरुषलाई । उसका सपनाले अरू सदस्यहरूको सपना देख्ने अधिकारलाई कुण्ठित गरेको हुन्छ । बीरेनप्रताप कार्कीका सपना मुनि दबेका लीला र सनुपका सपनाहरूको तिलाञ्जली नाटकले सुन्दर रूपमा प्रस्तुत गरेको छ । 

बीरेनको सपना पूरा गर्न लीलाको त्याग र सहनशीलता महत्त्वपूर्ण छ तर के बीरेनको सपना पुरा गर्नु नै लीलाको सपना हो ? उनका व्यक्तिगत आकाङ्क्षा र सपानहरूको यस समाजमा कुनै स्थान छैन ? टुटिसकेको पारिवारिक सम्बन्धलाई बचाउन लीलाको प्रेमिल तर एकोहोरो योगदानलाई हाम्रो समाजले कसरी मूल्याङ्कन गर्छ? के लीलाको सपनाहरूको चिहानमा नै  बीरेनको सपनाहरू झाँगिनु पर्ने हो ? 

यो सँगै जोडिएको अर्को गम्भीर प्रश्न के छ भने सपना साकार गर्न व्यक्ति कति असल हुनु पर्छ ? नाटक भर परिवारको सफलता र सुखको लागि बाँचे जस्तो देखिने बीरेन एक महिला सँगको अवैध सम्बन्धको जालोमा फसेको छ । छोरा सनुपले बाबुको विवाहेत्तर सम्बन्धको बारेमा थाहा पाएपछि उसका सपनाहरूको पनि अवसान हुन्छ । सम्बन्धका पातला धागाहरू सम्हालेर राख्न नसक्दा झ्वाट्ट टुट्ने खतरा पनि हुने रहेछ भन्ने सन्देश नाटकले दिएको छ ।
 
यस नाटकले  वहसमा ल्याउन खोजेका केही महत्त्वपूर्ण विषयहरूको चर्चा आवश्यक छन् ।मानिसलाई जीवित रहन आवश्यक पर्ने मूल्य र मान्यताहरू के हुन? के ती मूल्य र मान्यताहरू आजको आधुनिक समाजमा महत्त्वपूर्ण छन्? हामीले प्रेम पूर्वक पालेको भौतिक सफलताको मृगतृष्णा काहा गएर समाप्त हुन्छ? सपनाको कुनै हद हुन्छकि हुँदैन? हामी किन नक्कली अस्तित्वको निर्माणमा लिप्त छौ? नाटकले यिनै विशेष परिस्थितिको विश्लेषण मार्फत सहज जवाफ दिने दुस्साहस गरेको छ ।

यस यथार्थवादी आधुनिक नाटकलाई चरित्रको सूक्ष्मता र मानवीय उत्प्रेरणाका उल्झेका  धागाहरूले नाटकीय स्वरूप दिएका छन् । आकाङ्क्षा र यथार्थ बिचको बेमेल आधुनिक समाजको चरित्र बनेको छ र मानवका अधिकांश दुख यसै सँग जोडिएका छन् । पुरा गर्न सकिने सपना बाहेकका सपनाहरूको अवसान निश्चित प्राय छ ।

कथालाई दृश्यमा उतार्नु सहज काम पक्कै हैन । नाटकका दृश्यहरू यति सशक्त छन् कि कुनै सिनेमा हेर्न लत बसेका दर्शकहरूलाई आराम सँग लोभ्याउन सक्छ यो नाटकले । बिचमा मध्यान्तरसहित तयार गरिएको नाटकमा निर्देशकीय कलाको भरपुर प्रयोग गरेका छन् अनुप बरालले । नाटकमा सिनेमामा झैँ प्रयोग गरिएको 'फ्ल्यास ब्याक' र 'फ्ल्यास फरवार्ड' टेक्निक विशिष्ट लाग्छ । बीरेनको भूमिकामा रोयले जवान हुँदा र बुढ्यौलीको 'पर्फमेन्स स्विच' - सम्भवतः अभिनयको कठिन मध्येको एक काम - गज्जवसँग गरेका छन् ।
 
सेट डिजाइनमा अमृत कार्कीले खुलेर काम गरेका छन् । मध्यम वर्गीय परिवारको 'सपना घर' निर्माणमा सृजनशीलता देखाएका छन् उनले ।दर्शकलाई नाटक हेर्दा पात्रहरू मञ्चमा हैन घरकै परिवेश महसुस गराउन सक्नु सेटको सफलता हो । नाटकको प्रकाश सञ्चालन, संयोजन र परिकल्पना खास छ ।जु नको प्रकाशमा झ्याल बाहिर हेरेर गीत गाइरहेकी एक्ली लीलाको अनुहारमा परेको मधुरो प्रकाशले 'सररियल इफेक्ट' दिएको छ ।

पात्रको मनोवैज्ञानिक प्रवाह प्रस्तुत गर्न प्रकाश र ध्वनिको संयोजनले महत्त्वपूर्ण भूमिका खेलेको छ । प्रप्स र कस्ट्युमको प्रयोगले कथाको भावलाई थप मजबुत बनाएको छ । सनुपको सपना टुटे सँगै माथिबाट झरेर टुटेको ट्रफीले सशक्त प्रभाव छोड्छ । नाटकको अन्त्यमा मल्टिमिडिया प्रोजेक्टरमा जलेको बीरेनको तस्बिरले दर्शकलाई ऐँठन गराउँछ । डिनर गर्न दरबारमार्गको एक सानदार होटेलमा गएका बीरेन, सनुप र सगुनको पृष्ठभूमिमा गीत गाएर नाचिरहेकी युवती घरको दुई छोराहरूको बेडरूममै नाचेको दृष्य भने नभएको भए पनि फरक पर्ने थिएन ।
 
नाटककोको सुरुवातमा अलि सुस्त 'एक्सपोजिसन' पाएका दिव्य देव (सनुप) नाटक अघि बढ्दै जाँदा खुलेका छन् । बीरेनको कल्पनामा अक्सर आउने उनका दाइ बन्धु (शेखर चापागाईँ) बीरेनको चेतनाको प्रवाह हो कि यथार्थ हो भनेर दर्शकलाई छुट्टाउन अलि गारो हुन्छ तर यो एक नाटकीय प्रयोग हो जुन निर्देशक अनुप बरालले हिम्मत गरेर प्रस्तुत गरेका छन् । लीला (दिया मास्के) को मौनता र सनुपको विद्रोह नाटकको प्रमुख 'थिएट्रिकल टेन्सन' हो ।

सुरुवात, मध्य र अन्त्यको लिनियर विकास क्रम खोज्नेलाई यो प्रयोगात्मक नाटकले अलि बढी धैर्यताको माग गर्छ । नाटकको क्लाइमेक्स र रिजोलुसन सशक्त छ । चैत्र १० देखि वैशाख १०सम्म मञ्चन हुने यो नाटक कला, रङ्गमञ्च, सिनेमा, साहित्य सँग सम्बन्धित सबैले हेर्नै पर्ने सूचीमा पर्छ ।

उप्रेतीका अन्य लेखहरू


Author

थप समाचार
x