रोग र उपचार

‘मानसिक रोगीलाई परामर्श र औषधिबाट निको पार्न सकिन्छ’

इकागज |
बैशाख १८, २०७९ आइतबार १७:४५ बजे

फाइल फोटो

काठमाडौँ - मानसिक रोग भएका व्यक्तिलाई परामर्शबाट नै रोग निको पार्न सकिने चिकित्सकले बताएका छन् । 

मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र, नेपालको १९औँ वार्षिक उत्सव कार्यक्रममा त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल, मानसिक रोग विभागका प्रमुख डा सरोज ओझाले भूकम्प र कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमले मानसिक रोगी बढ्दै गएकाले परामर्शबाट नै रोग निको पार्न सकिने बताए । 


उनले भने, `मानसिक रोगीलाई आधा परामर्श र आधा औषधिबाट निको पार्न सकिन्छ ।` उनले सरकारले मानसिक स्वास्थ्यमा लगानी गरी नेपालमा नै मानसिक स्वास्थ्यको गुणस्तर सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिए । 

 परामर्श केन्द्रले अहिलेसम्म गरेको अध्ययनअनुसार ४० प्रतिशत चिन्ताजन्य समस्या, २६ प्रतिशत डिप्रेशन र मानसिक असन्तुलन, छारे रोगजस्ता अन्यमा समस्या देखिएको जनाएको छ । 

मनोविज्ञ करुणा कुँवरले कोभिड–१९ को महामारीपछि बालबालिकामा मानसिक रोग देखिएको बताए । उनका अनुसार बालबालिकामा डराउने, दुःखी देखिने, आत्तिने, चिन्तित देखिने, अनुशासनजन्य समस्या, ध्यान एकीकृत गर्न नसक्ने, विद्यालय नआउने, विद्यालयमा अनुपस्थित हुनेलगायतका समस्या देखिने गरेका छन् ।

उनले कोभिड–१९ को महामारीमा ९ देखि १६ वर्ष उमेर समूहका बालबालिका आत्महत्या गरेको पाइएको बताए ।  `कोभिड–१९ को बन्दाबन्दीमा पहिलो एक हप्ता बालबालिका छुट्टै जस्तै मनाएका थिए । तर बन्दाबन्दीको १५ दिनपछि बालबालिका आत्तिएको पाइयो`, उनले भने, `लगातारको बन्दाबन्दीले विद्यालय जान, साथीभाइसँग भेट्न, खेल्न नपाएर धेरैमा आत्तिएर मानसिक समस्या नै देखिएको पाइयो ।`

केन्द्रका अध्यक्ष डा एसपी कलौनीले विद्यालय तहमा बालबालिकाको मानसिक स्वास्थ्य परामर्श दिनका लागि कार्यक्रम सञ्चालन गरिएको बताए । उनका अनुसार १० देखि १५ प्रतिशत विद्यार्थीलाई विशेष खालको मनोवैज्ञानिक पद्दतिबाट उपचार गराउनुपर्ने आवश्यकता देखिएको छ । 

यस्तै केन्द्रले गरेको अध्ययनमा वैदेशिक रोजगारीमा गएकामध्ये सबैभन्दा बढी ७३ प्रतिशतमा चिन्ताजनक समस्या, १७ प्रशितमा डिप्रेशन, चार प्रतिशतमा आघात र तीन प्रतिशतमा आत्महत्याका प्रयास भएको पाइएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार वैदेशिक रोजगारमा गएकामध्ये १०।४ प्रतिशत आत्महत्या गर्ने जनाएको छ । 
रासस


Author

थप समाचार
x