रोग र उपचार

छात्राहरु भन्छन्ः ‘स्कुल छुटाउन कसलाई पो मन हुन्थ्यो’

इकागज |
चैत ३०, २०७८ बुधबार १७:११ बजे

फाइल फोटो

वीरेन्द्रनगर - सूर्यज्योति माविका छात्रा प्रमिला उपाध्यायको महिनावारीको समयमा विद्यालय अनियमित हुन्थ्यो । 

महिनावारीका बेला पेट दुख्ने समस्याका कारण उनी नियमित रुपमा कक्षामा बस्न सक्दैनथिन् । तर, आजभोलि उनी महिनावारी भएको बेला पनि नियमित कक्षामा बस्छिन् । 


`गाह्रो भएको केही बेर आराम गर्छौं, अनि कक्षामा सहभागी हुन्छौँ`, प्रमिलाले भनिन्, `विद्यालयमा महिनावारीको समयमा आराम गर्ने बेड र सेनेटरी प्याड भएपछि हामीलाई सजिलो भएको छ ।`

गुर्भाकोट आनन्द मावि गुमीका छात्रा निशा बुचा महिनावारीका समयमा नियमित विद्यालयमा आउन सकेकी थिइनन् । 

महिनावारीको समयमा पेट दुख्नुको साथै बेन्चमा लामो समयसम्म बस्न समस्या हुन्थ्यो । `स्कुल छुटाउन त कस्लाई पो मन हुन्छ र`, उनले भनिन्, `विद्यालयमा आराम गर्ने ठाउँ हुन्थेन । अनि महिनाको तीन चार दिन विद्यालय आउँदैनथ्यौँ ।` 
    
उनी मात्रै होइन, महिनावारीका समयमा निशाजस्तै गुर्भाकोट नगरका छात्राहरु अनियमित हुन्थे । जसका कारण उनीहरुको पढाइ छुट्थ्यो । कहिलेकाहीँ त विद्यालयमै भएको अवस्थामा महिनावारी भयो भने विद्यालयमा प्याड नहुँदा हतारहतार घरमा फर्कनुपर्ने बाध्यता हुन्थ्यो । बेन्चमा लाग्ने हो की कसैले कपडामा लागेको देख्ला भन्ने डर उनीहरुको मनमा हुन्थ्यो तर, अहिले नगरका सबै छात्राहरु महिनावारीका समयमा विद्यालयमा नियमित हुन्छन् । 

अहिले महिनावारी समस्याका कारण कुनै पनि किशोरीहरु विद्यालयमा अनियमित हुनुपर्दैन । विद्यालयमा आरामको लागि बेड र सेनेटरी प्याडको व्यवस्था भएपछि उनीहरु नियमित हुन थालेका हुन् । आनन्द माध्यमिक विद्यालयमा उहाँहरुका लागि चारवटा बेड राखिएको छ । त्यसैगरी विद्यालयमा छात्राको लागि प्याडको पनि व्यवस्था गरिएको छ । 

`गाह्रो हुँदा केहीबेर आराम गरेर फेरि कक्षा कोठामै फर्कन्छौँ`, विद्यालयमा अध्ययनरत छात्रा निशाले भनिन्, `महिनावारी हुँदा अहिले त नियमित विद्यालय आउँछौँ ।`

विद्यालयका प्रध्यानाध्यापक धनपति ढकालले ‘बेडरेष्ट’ कक्षा स्थापनासँगै कुनै पनि किशोरीहरु विद्यालय छोडेर घर जानुपर्ने अवस्था नआएको बताए । `विद्यालयमा कक्षा ६ देखि १२ सम्म २०० बढी किशोरीहरु छन् । महिनावारी हुँदा प्रायः किशोरी विद्यालयमा आउँदैनथे र आए पनि हाजिर लगाएर फर्किन्थे`, उनले भने, `अहिले महिनावारीका कारण कुनै पनि छात्राले विद्यालय छोड्नुपर्ने अवस्था आएको छैन ।`

महिनावारीको समयमा छात्रालाई नियमित गराउनका लागि गुर्भाकोट नगरपालिकाले ‘बेड रेष्ट’ कार्यक्रम सञ्चालन गरेको हो । नगरकार्यपालिकाको निर्णयानुसार नगरपालिकाले उक्त कार्यक्रम सञ्चालनमा ल्याएको हो । 

सुरुवातमा नगरपालिकाले आनन्द माध्यमिक गुमीमा परीक्षणको रुपमा यो कार्यक्रम सञ्चालनमा ल्याएको थियो । पछि यहाँका २२ वटै विद्यालयमा यो कार्यक्रम लागू गरेको छ । कार्यक्रमअनुसार सो विद्यालयको एउटा कोठामा महिनावारीको समयमा छात्रालाई आरामको लागि पाँच वटा बेड राखिएको छ । त्यसैगरी विद्यालयमा सेनेटरी प्याडको पनि व्यवस्था गरिएको छ ।

‘बेड रेष्ट’ कार्यक्रमले राम्रो प्रभाव पारेको नगरप्रमुख हस्त पुनले बताए । यसले गर्दा छात्राहरु नियमित विद्यालय आउन थालेको उनले बताए । महिनावारीको समयमा किशोरीलाई विद्यालयमा नियमित गराई उनीहरुको सिकाइ उपलब्धिमा वृद्धि गराउने उद्देश्यले यो कार्यक्रम सञ्चालनमा ल्याइएको गुर्भाकोट नगरपालिकाका उपप्रमुख मैना विकले बताइन् । `महिनावारीको समयमा किशोरीहरुको विद्यालय नियमित नभएकाले ‘बेड रेष्ट’ कार्यक्रम सञ्चालनमा ल्याएका हौँ`, उनले भनिन्, `यस्तो समयमा किशोरीहरु विद्यालयमा नआउने र आए पनि बीचमै कक्षा छोडेर जाने प्रवृत्ति देखिएको थियो ।` त्यसैगरी महिनावारी भएको बेलामा किशोरी चार/पाँच दिनसम्म विद्यालयमा नियमित उपस्थित नभएको कारण पनि उनीहरुको पठनपाठनमा समेत बाधा पर्दै आएको उनको भनाइ छ । 

`नगरभित्रका विद्यालयमा छात्र र छात्राको सिकाइ उपलब्धिलाई अध्ययन गर्दा छात्राको कम पाइयो । यसको समस्या खोतल्दै जाँदा महिनावारीको समयमा नियमित विद्यालयमा नआउनु रहेछ`, उपप्रमुख विकले भनिन्, `छात्राको सिकाइ उपलब्धि कम देखिनुका कारण बारेमा अध्ययन गर्दा महिनावारी समस्या भएकाले यसको समाधानका लागि अभियान थालेका हौँ ।` नगरका २२ वटा  विद्यालयमा ‘बेड रेष्ट’ कार्यक्रम सञ्चालन गरी छात्रालाई विद्यालयमा नियमित गराउने कार्यक्रमसमेत तय गरिएको उपप्रमुख विकको भनाइ छ । 

`महिनावारीको समयमा तल्लो पेट दुख्ने समस्या हुन्छ र जसले गर्दा पठनपाठनमा बाधा पुग्छ`, उनले भनिन्, `विद्यालयमा भएको बेला यस्तो समस्या भएमा किशोरीलाई केही समय विद्यालयमा राखिएको बेडमा आराम गरेर पठनपाठनका लागि सहयोग पुग्नेछ ।`    त्यस्तै यहाँका प्रत्येक विद्यालयमा सेनेटरी प्याड उपलब्ध गराइएको छ । यसैगरी हरेक विद्यालयमा एकजना महिला शिक्षकलाई स्रोत व्यक्तिका रुपमा जिम्मेवारी दिएर महिनावारीको समयमा किशोरीलाई सेनेटरी प्याडको प्रयोग र परामर्श दिने व्यवस्थासमेत गरिने उपप्रमुख मैनाले बताइन् । रासस  


Author

थप समाचार
x