रोग र उपचार

विद्यालयमै बिरामी हुन थाले विद्यार्थी, विद्यालय बन्द

इकागज |
चैत २४, २०७८ बिहीबार १८:२८ बजे

फाइल फोटो

हुम्ला - धमाधम विद्यार्थी बिरामी पर्न थालेपछि विद्यालय बन्द गरिएको छ । हुम्लाको दक्षिण भेगमा रहेको सर्केगाड गाउँपालिका–४ मा रहेको हिमज्योति माध्यमिक विद्यालयका विद्यार्थी धमाधम बिरामी थालेपछि विद्यालय बन्द गरिएको हो । कक्षा ६ देखि १० सम्मका विद्यार्थीमा अनौठो बिरामी देखिएको छ ।

सुरुको दिन कक्षा ६ मा अध्ययनरत एक छात्रामा हात खुट्टा बाउँडिने समस्या देखिएको भए पनि अहिले २० जनाभन्दा विद्यार्थीमा यो समस्या देखिएको प्रधानाध्यापक जयबहादुर धामीले बताए । 


छात्रा बिरामी हुँदा छात्रहरुमा देवता आउनुका साथै अनौठो बिरामी देखापरेको प्रधानाध्यापक धामीले बताए । छात्राछात्रमा काँप्ने, रुने, कराउने र चिच्याउने गर्नुका साथै शरीर बाउँडिने समस्या देखा परेको हो । 

पहिलो दिन एक जनामा देखिएको थियो भने दोस्रो दिन दुई जनामा हुँदै यो समस्या तेस्रो दिन २० जनाभन्दा बढीमा देखिएको उनले बताए । 

कक्षा १० मा अध्ययनरत दुई जनामा यो समस्या देखिएको छ । विद्यार्थी अचानक बिरामी हुन थालेपछि जनस्वास्थ्य सेवा कार्यालय हुम्ला, गाउँपालिकाको स्वास्थ्य शाखा र प्रदेशमा बिरामी विद्यार्थीको उपचारका लागि मनोचिकित्सकको चाँडो व्यवस्था गर्न पत्राचार गरिएको प्रधानध्यापक धामीले बताए । 

बिरामीको समस्या दिन प्रतिदिन बढ्दै गएपछि बिहीबार दुई वटा विषय पठनपाठन गराएर एक दिनका लागि विद्यालय बन्द गरिएको जानकारी प्राप्त भएको छ । 

विद्यार्थी बिरामी हुन थालेको तीन दिन भएको हो । महिला पुरुष विद्यार्थीमा देवता आएर धामी झाँक्रीको जस्तै शरीर काँप्ने गरेका छन् । 

कक्षा  ६ देखि १० सम्मका छात्रछात्रा बिरामी पर्न थालेपछि अभिभावक चिन्तित भएका छन् । हुम्लामा यो समस्या विद्यार्थीमा पहिलो पटक देखापरेको हो ।


Author

थप समाचार
x