रोग र उपचार

जनप्रभात स्कुलमा पाकिस्तानी दूतावासको नि:शुल्क चिकित्सा शिविर

इकागज |
चैत १३, २०७८ आइतबार १४:३७ बजे

काठमाडौँ- पाकिस्तानी राजदूतावासले नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक संघ (एनपीएफसीए) को सहकार्यमा काठमाडौंको जनप्रभात उच्च माध्यमिक विद्यालय कालीमाटीमा निःशुल्क चिकित्सा शिविर आयोजना गरेको छ ।  संघले नि:शुल्क चिकित्सा शिविरको १६ औं संस्करण आयोजना गरेको हो ।

नि:शुल्क चिकित्सा शिविरको उद्घाटन नेपालका पूर्व उपप्रधानमन्त्री सी.पी. मैनाली, पाकिस्तानका राजदूत जदूत सैयद हैदर शाह, र काठमाडौँ महानगरपालिकाकी उपमेयर श्रीमती हरिप्रभा खड्गी (श्रेष्ठ) संयुक्त रुपमा गरेका थिए । 


चार सयभन्दा बढी पुरुष, महिला र बालबालिकालाई नि:शुल्क उपचार र तीन महिनाको औषधि वितरण गरिएको थियो । बिरामीहरूलाई कोभिड-१९ विरुद्धको रोकथामका उपायहरूबारे जानकारी गराइएको थियो।

राजदूत शाहले जनप्रभात उच्च माध्यमिक विद्यालयका लागि फोटोकपी मेसिन उपहार पनि हस्तान्तरण गरेका थिए । उपमेयर खड्गीले काठमाडौंँ महानगरपालिकामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरी विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराएकोमा पाकिस्तानी राजदूतावास र एनपीएफसीएलाई धन्यवाद दिइन् । उनले मानवतालाई उदारतापूर्वक सहयोग गरेकोमा पाकिस्तान सरकार र एनपीएफसीएको प्रशंसा गरिन्। उनले जनप्रभात उच्च माध्यमिक विद्यालयलाई सहयोग गरेकोमा कृतज्ञता पनि व्यक्त गरिन् ।

नेपालका पूर्व उपप्रधानमन्त्री माननीय सीपी मैनालीले नेपाल र पाकिस्तानबीचको गहिरो र सौहार्दपूर्ण सम्बन्धको स्मरण गर्दै नि:शुल्क चिकित्सा शिविर आयोजना गरेकोमा पाकिस्तानी राजदूतावास र एनपीएफसीएलाई धन्यवाद दिँदै सहयोगको निरन्तरताको कामना गरे । 

आफ्नो मन्तव्यमा राजदूत शाहले नि:शुल्क चिकित्सा शिविरले नेपाल र पाकिस्तानबीचको जनस्तरको सम्बन्धको झल्को दिएको बताए । उनले मानवताको सेवा गर्ने भावना कायम राखेकोमा एनपीएफसीए, डाक्टर र मेडिकल स्टाफलाई धन्यवाद दिए। राजदूत शाहले आगामी दिनमा पनि यस्ता स्वास्थ्य शिविरका लागि पाकिस्तानले निरन्तर सहयोग गर्ने आश्वासन पनि दिए ।


Author

थप समाचार
x