रोग र उपचार

हेटौंडा अस्पताललाई 'ए' ग्रेड एम्बुलेन्स हस्तान्तरण

इकागज |
मंसिर ५, २०७८ आइतबार १३:१० बजे

हेटौंडा - स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले हेटौंडा अस्पताललाई ए ग्रेडको एम्बुलेन्स हस्तान्तरण गरेका छन् । आज (आइतबार) एक कार्यक्रमकाबीच नेपाल भारत सहयोगमा आएको आइसियु र मेडिकल विशेषज्ञसहित  सुविधा भएको एम्बुलेन्स हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. रामचन्द्र सापकोटालाई हस्तान्तरण गरिएको हो । 

मन्त्री खतिवडाले संघीय ढाँचा अनुरुप स्वास्थ्य क्षेत्रमा काम गरेको दाबी गरेका छन् । रेविजविरुद्धको खोप निशुल्क उपलब्ध गराई नागरिकलाई सेवा दिएको जानकारी दिँदै अब स्वास्थ्य क्षेत्रको सुधारमा आफ्नो ध्यान केन्द्रीत भएको उनले बताए ।


 मन्त्री खतिवडाले हेटौंडा अस्पतालको क्रमित रुपले सुधार हुँदै गएको बताए ।  हेटौंडा अस्पतालले पहिलो पटक ए ग्रेड एम्बुलेन्स पाएको बताउँदै अबको एक हप्तापछि सो एम्बुलेन्स संचालनमा आउने अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा रामचन्द्र सापकोटाले जानकारी दिए । 

उनका अनुसार विशेष परिस्थतिका 'क्रिटीकल' बिरामीहरुकी लागि मात्र यो एम्बुलेन्सको सेवा दिइनेछ । एम्बुलेन्समा मोनिटरसहित ठुलो खालको २ अक्सिजन सिलिन्डर हुनेछ । धेरै अक्सिजन आवश्यक हुने बिरामीहरुलाई राखेर लैजान यो एम्बुलेन्स संचालनमा आउने उनले बताए ।

ए ग्रेड एम्बुलेन्सको भाडा बी र सी ग्रेडको एम्बुलेन्सको भाडा भन्दा महंगो हुनेछ । यद्यपि ए ग्रेड र बी ग्रेड एम्बुलेन्सको भाडादर मकवानपुरमा तोकिएको छैन । एम्बुलेन्स संचालनको लागि जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले भाडादर सिफारीस गर्ने र प्रदेश सरकारले तोक्ने व्यवस्था भएको स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्यायले बताए । 

यसअघि हेटौंडा अस्पताललाई बी ग्रेडको एम्बुलेन्स बागमती प्रदेश सरकारले एक थान प्रदान गरेको थियो । अबको दुई हप्ताभित्र भाडादर तोक्न जिल्लाबाट प्रदेश सरकारलाई सिफारीस गर्ने उनले बताए । हेटौंडा अस्पतालमा ए ग्रेड एम्बुलेन्स एक  थान, बी ग्रेड एम्बुलेन्स एक थान छ । पुरानो स्थानीय क्षेत्रमा संचालन हुँदै आएको एम्बुलेन्स भने मर्मतका लागि ग्यारेजमा पठाइएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा रामचन्द्र सापकोटाले जानकारी दिए ।


Author

थप समाचार
x