रोग र उपचार

२५ वर्षमा ३० लाख जनाको आँखाकाे उपचार

इकागज |
कात्तिक ३०, २०७८ मंगलबार २१:१६ बजे

फाइल फोटो

झापा - प्रदेश नं १ कै अग्रणी सामुदायिक अस्पतालका रूपमा रहेको मेची आँखा अस्पतालले २५ वर्षको अवधिमा ओपिडीमार्फत ३० लाख ३७  हजारभन्दा बढीको उपचार गरेको छ । स्थापनाको २५औँ वर्षगाँठका अवसरमा बिर्तामोड नगरपालिका–३ सैनिकमोडमा आयोजना गरिएको कार्यक्रममा उक्त अवधिमा अस्पतालले तीन लाख ४३ हजार व्यक्तिको आँखाको शल्यक्रिया गरेको जनाएको छ । 

दुई सय शय्याको अस्पतालमा अहिले १४ चिकित्सकसहित २१५ कर्मचारी कार्यरत छन् । अस्पतालको सेवा उत्कृष्ट भएकै कारण छिमेकी मुलुक भारतको पश्चिम बङ्गाल, आसाम, मणिपुर, विहारलगायत राज्यबाट दैनिक सयौँको सङ्ख्यामा बिरामी उपचारका लागि आउने गरेको डा पुरुषोत्तम जोशीले जानकारी दिए ।  


विसं २०५३ मा बिर्तामोडका केही लायन्सकर्मीको पहल र नेतृत्वमा स्थापना भएको मेची आँखा अस्पताल अहिले पूर्वकै सफल र अग्रणी अस्पतालका रूपमा स्थापित हुनपुगेको छ । करिब १२ वर्ष साविक चारपाने–१ मा घर भाडामा लिएर अस्पताल सञ्चालन गरिएको सो अस्पताल २०५७ सालमा आफ्नै भवनमा सरेको हो । 

झापामा आँखाका रोगीको बढ्दो सङ्ख्या र अस्पतालमा उपचार गराउन पूर्वी नेपालसहित ठूलो सङ्ख्यामा भारतीय बिरामीसमेत आउन थालेपछि आई केयर फाउण्डेशन नेदरल्याण्डले मेची आँखा अस्पताललाई सहयोग गरेको थियो । 

२०५७ सालमा फाउण्डेशनले बिर्तामोड–३ सैनिकमोडमा तीन बिघा १७ कठ्ठा ६ धुर जमिन खरिद गरी सुविधासम्पन्न अस्पताल भवन निर्माण गरेको हो । भवनसँगै अत्याधुनिक प्रविधिका उपकरणसमेत सहयोग तथा खरिद गरी जडान गरेर मेची आँखा अस्पतालले आँखाका बिरामीको उपचार गर्दै आएको छ ।रासस 


Author

थप समाचार
x