रोग र उपचार

भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामी बढे

इकागज |
साउन १७, २०७९ मंगलबार १६:४ बजे

फाइल फोटो

बैतडी - मौसममा आएको परिवर्तनसँगै बैतडीका स्वास्थ्य संस्था र अस्पतालमा भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामीको सङ्ख्या बढेको छ ।  लगातारको वर्षाका कारण यहाँ भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामी बढेका  हुन् ।  

जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा हाल भाइरल ज्वरोका बिरामी बढी आउने गरेका छन् ।  जिल्ला अस्पताल बैतडीमा हाल एक सयको हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका छन् । जसमध्ये आधामा भाइरल ज्वरो देखापर्ने गरेको जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए । 


पहिलेको तुलनामा बिरामीको सङ्ख्या बढ्दै गएको छ, लक्षणहरु कोरोनासँग मिल्दोजुल्दो हुने गरेको छन् । कुनै कुनैमा कोरोना सङ्क्रमण पनि देखिन थालेको छ  । उनले भने, `गएको सातादेखि अस्पतालमा बिरामीकोे चाप बढ्दै गएको हो, कुनै कुनै ज्वरोका बिरामीलाई भर्ना गरेर पनि उपचार गर्नु परेको छ ।` निरन्तर वर्षा भइरहेको र दूषित पानीको प्रयोगले  भाइरल ज्वरोका बिरामी बढेका हुन् ।   

उपचारका लागि आउने बिरामीमध्ये धेरैजसो ज्वरो र रुघाखोकीका आउने श्रीकोट स्वास्थ्य चौकीका प्रमुख वीरसिंह भाटले बताए । उनले भने, `एक हप्तायता स्वास्थ्य चौकीमा आउने बिरामीहरुमध्ये धेरै ज्वरो र रुघाखोकीका छन् । भाइरल ज्वरोबाट  बालबालिका बढी प्रभावित भएका छन् ।`

सरकारीमा मात्रै नभएर निजी मेडिकलमा पनि भाइरल ज्वरोका बिरामी बढेका छन् । केही दिनदेखि आफ्नो मेडिकलमा पनि ज्वरोका बिरामी बढ्दै गएका प्रकाश मेडिकल हलका सञ्चालक प्रकाशचन्द्र भट्टले बताए । बालबालिकालाई समेत भाइरल ज्वरोले नछोडेको उनको भनाइ छ । 

मौसममा परिवर्तन र नियमित वर्षाका कारण पानी दूषित हुँदा बिरामीको चाप बढेको हो  । वर्षातको समयमा पानीका मुहान दूषित हुने भएकाले पानी शुद्धीकरण गरेर मात्रै प्रयोग गर्न तथा पानी उमालेर पिउन जिल्ला अस्पताल बैतडीका प्रमुख चिकित्सक दीपेश श्रेष्ठको आग्रह रहेको छ । यसका साथै व्यक्तिगत र वातावरणीय सरसफाइमा पनि विशेष ध्यान दिन स्वास्थ्यकर्मीहरुले सुझाएका छन् ।


Author

थप समाचार
x