रोग र उपचार

‘एक मस्तिष्क मरणबाट आठको ज्यान जोगिन्छ’

इकागज |
असार ३१, २०७९ शुक्रबार १८:१९ बजे

काठमाडौँ - एउटा मस्तिष्क मरणबाट आठ जनाको ज्यान जोगाउन सकिने देखिएको छ । नेपाल प्रेस इस्न्टिच्युटले आज यहाँ आयोजना गरेको कार्यक्रममा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले एउटा मस्तिष्क मरणबाट आठ जनामा  अङ्ग प्रत्यारोपण गर्न सकिने बताए । 

उनका अनुसार मिर्गौला, फोक्सो, मुटु, कलेजो, ‘प्याङ्क्रियाज’ र आनो आन्द्रा मस्तिष्क मरणबाट अङ्ग प्रत्योरोपण गर्न सकिन्छ । `एक जनाको मस्तिष्क मृत्युको विभिन्न अङ्ग प्रयोग गरेर आठको ज्यान बचाउन सकिन्छ,` उनले भने, `खरानी भएर जाने वा गाडेर सकिने अङ्ग दान गर्दा खेरी कसैले पुनःजीवन पाउन सक्छन् र अङ्ग पनि त्यो व्यक्तिमा गएर बाँचिरहने भयो ।`


नेपालमा जनचेतनाको अभावका आफ्नो मृत्युपश्चात अङ्ग दान गर्न हिच्किचाइरहेका छन् । जवकी अङ्गदान गर्दा अङ्ग बिग्रेका व्यक्तिले पुनःजीवन पाउने उनको भनाइ छ । केन्द्रले अहिलेसम्म ९०० जनाको मिर्गौला र नौ जनाको कलेजो प्रत्यारोपण गरिसकेको छ । हिजो मात्र एकै दिन चार जनाको मिर्गौला प्रत्यारोपण गरेको उनले जानकारी दिए । मस्तिष्कका मृत्यु व्यक्तिको अङ्गबाट हालसम्म आठ जनाको मिर्गौला र दुई जनाको कलेजो प्रत्यारोपण भइसकेको छ । 

हालै मात्र नेपाल सरकार मन्त्रिपरिषद्का प्रधानमन्त्री तथा सम्पूर्ण मन्त्रिपरिषद्का सदस्यले आफ्नो मृत्युपश्चात अङ्गदान गर्ने घोषणा गरिसकेका छन् । केन्द्रमा १० जना सर्जन, नौ जना फिजिसियन, प्रत्यारोपण संयोजकसहित तीन जनाको टोली र सात जना एनेस्थेसियोलोजिष्ट लगायतको टोली २४ घण्टा प्रत्यारोपणका लागि तयारी अवस्थामा रहेका छन् । 

कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङ्गले मस्तिष्कघात पछि अङ्गदान दिनुपर्ने विषयमा जनचेतना कमी भएको बताए । आफूले पनि अङ्गदान गरिसकेको जानकारी दिँदै उनले अङ्गदानसम्बन्धी जनचेतना जगाउनुपर्ने बताए । `मैले पनि मस्तिष्क घातपछि अङ्गदान गर्ने घोषणा गरिसकेको छु । समाजका मानिसलाई अङ्दानसम्बन्धी सचेत गराउनुपर्ने छ । अङ्गदानको महत्व धेरै छ`, उनले भने।   

मन्त्रालयका सचिव डा रोशन पोखरेलले अङ्दानबारे जनचेतना जगाउन आवश्यक रहेको बताए । उनले  सातवटै प्रदेशमा  मिर्गौला प्रत्यारोपण पुर्‍याउन तयारी गरिएको बताए । वरिष्ठ न्यूरोसर्जन डा वसन्त पन्तले मस्तिष्कको मरणबाट अन्य मानिसको ज्यान बचाउन सकिने बताए । उनले मस्तिष्क मरण भए पनि अन्य अङ्गको मरण विस्तारै हुने भएकाले अन्य अङ्गलाई निकालेर अरु मानिसमा प्रत्यारोपण गर्न सकिने बताए । 

`मस्तिष्क मरणसँगै हरेक अङ्ग मर्दै जान्छ । ह्वात्तै मानिस मर्दैन । सबै अङ्ग मरेपछि मस्तिष्क मरण हुन्छ`, उनले भने, `मस्तिष्क मरण भए पनि अङ्ग बाचेको हुनाले अङ्ग निकालेर अरु बिरामीमा प्रत्यारोपण गर्न सकिन्छ ।` उनले अङ्गदानसम्बन्धी जनचेतना जगाउनका लागि धार्मिक अग्रजलाई अघि सार्नुपर्ने बताए ।  “धार्मिक अग्रजलाई अङ्गदानसम्बन्धी जनचेतना जगाउनुपर्दछ`, उनले भने, `क्रिश्चियनले पनि अङ्गदान गरेको पाइन्छ । धार्मिक नेतालाई अगाडि सारेर जनचेतना जगाउँदा अङ्गदान गर्ने मानिस बढ्न सक्छ ।` रासस


Author

थप समाचार
x