रोग र उपचार

रुपन्देहीमा सिकलसेलका बिरामी बढे

इकागज |
असार २४, २०७९ शुक्रबार २१:४६ बजे

फाइल फोटो

रुपन्देही - थारु समुदायमा बढी देखिएको सिकलसेल एनिमियाका बिरामीको सङ्ख्या रुपन्देहीमा बढ्दै गएको छ । जिल्लामा खासगरी थारु समुदायको बाहुल्य रहेको क्षेत्रमा यो रोग बढ्दै गएको हो । स्वास्थ्य कार्यालय रुपन्देहीले सिकलसेल तथा थालसेमिया रोगसम्बन्धी कार्यक्रममा सार्वजनिक गरिएको तथ्यांकअनुसार जिल्लामा २७  रोगी रहेका छन् ।

जसमा महिला १८ र पुरुष नौ रहेका छन् । सबैभन्दा बढी तिलोत्तमामा पुरुष चार र महिला पाँच गरी नौ रहेका छन् । त्यसैगरी सियारीमा पुरुष एक, महिला तीन, शुद्धोधनमा पुरुष एक, महिला तीन, गैडहवामा पुरुष दुई, महिला दुई, बुटवलमा महिला तीन, ओमसतियामा महिला पुरुष एकरएक र सैनामैनामा एक महिला रहेका छन् ।


रुपन्देहीसहित लुम्बिनी प्रदेशको ६ जिल्लामा बिरामीको सङ्ख्या बढ्दै गएको छ । बर्दियामा सबैभन्दा बढी बिरामी रहेको स्वास्थ्य कार्यालयको तथ्यांकले देखाएको छ । २१९ महिला र १७५ पुरुष गरी ३९४ बिरामी बर्दियामा मात्रै रहेका छन् । 

बाँके जिल्ला यो रोगको धेरै बिरामी रहेको आधारमा लुम्बिनी प्रदेशमा दोस्रो नम्बरमा पर्ने गर्दछ । बाँकेमा ६५ महिला र ५७ पुरुष गरी १२२ बिरामी रहेको तथ्यांकले देखाउँछ । दाङमा १३ महिला, १८ पुरुषसहित ३१, कपिलवस्तुमा एक, महिला र एक पुरुष गरी दुई बिरामी रहेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जानकारी दिएको छ । 


Author

थप समाचार
x