कूटनीति

नेपालले विपक्षमा मतदान गरेकोमा इजरायलको रोष

चन्द्रशेखर अधिकारी |
मंसिर १७, २०७८ शुक्रवार १९:५ बजे

काठमाडौँ – दक्षिण एसियामा नेपालले सबैभन्दा पहिला स्वतन्त्र राष्ट्रको मान्यता दिएको पुरानो मित्र मुलुक इजरायलको विपक्षमा नेपाल निरन्तर उभिएको भन्दै सरकारसँग इजरालयली राजदूत हनान गोडेरले गम्भीर आपत्ति जनाएका छन् । 

बुधबार न्यूयोर्कमा भएको भोटिङलाई लिएर इजरायली राजदूत हनानले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का र परराष्ट्र सचिव भरतराज पौड्याललाई मात्र होइन राजनीतिक दलका नेताहरूसँगसमेत भेटेर आपत्ति प्रकट गरेका हुन् ।


नेपाल र इजरायलबीच प्रगाढ द्विपक्षीय सम्बन्ध छ तर किन बहुपक्षीय मामिलामा नेपालमा तटस्थ नरहेर इजरायलको विरूद्धमा अघि बढेको भन्दै हनानले भने, ‘यसले नेपालको परराष्ट्र नीति र सोचलाई नै असर गर्छ । नेपालले इजरायलाई पहिले लगाएको गुन हामीले बिर्सेका छैनौं तर अहिले किन बारम्बार घाउमा नून छर्किने काम गरेको हो थाहा छैन ।’

इजरायल ठूला मुलुकबीचमा कसरी आफूलाई अघि बढाएको होला भन्दै संयमता इजरायलले मात्र देखाउनुपर्ने हो र ? भन्ने प्रश्न गर्दै निराश भावभंगिममा उनले आफूलाई प्रस्तुत गर्दै भने, ‘किन नेपाल इजरायलको विरूद्धमा न्यूयोर्कमा उभिन्छ । कूटनीतिज्ञले किन यस्ता कुरामा ध्यान दिँदैनन् ? वा यहाँबाट यस्तै निर्देशन जान्छ ।’

राजदूत हनानले एक दशकदेखिको मतदानको स्वरूप देखाउँदै बहुपक्षीय मञ्चमा किन नेपाल इजरायलविरूद्ध उभिएको भन्दै उनले राजनीतिक नेतृत्वसँग गम्भीर आपत्ति जनाएका छन् । उनले कूटनीतिक सम्बन्धको दुई आधार अर्थात ‘टु लेग’ रहेको बताउँदै नेपाल र इजरायलबीच दुईपक्षीय सम्बन्ध असाध्यै राम्रो भएकाे तर बहुपक्षीयमा भने नेपालले इजरायलको समर्थन गरिरहेको छैन भने ।

‘हामी नेपाललाई इजरायलको पक्षधर हुनु पनि भन्दैनौं तर नेपाल तटस्थ त बस्‍न सक्छ नि ? किन हामीलाई खेदो खन्ने काम गरेको हो,’ राजदूतले भने, ‘भारतसमेत तटस्थ रहँदा पुरानो मित्र मुलुक नेपाल किन तटस्थ रहन सक्दैन । के कारणले तटस्थ रहन रोक्छ नेपाललाई ?’  

बुधबारको भोटिङमा नेपाल प्यालेस्टाइनको पक्षमा उभिएपछि इजरायली राजदूत विचलित बनेका छन् । नेपालसँगको मित्रतालाई प्रगाढ बनाउन आफूले सहकार्य गर्दै आएको तर नेपालले राष्ट्रसंघमा आफूलाई फरक ढंगले प्रस्तुत गरेर मेरो उर्जामा र इजरायलीको मस्तिष्कमा आघात पुर्‍याउने काम भएको छ ।

राजदूत हनानले इकागजसँग कुरा गर्दै भने, ‘नेपालको दुईपक्षीय सम्बन्ध निकै राम्रो, सबल, अन्तक्र्रियात्मक, प्रशंसनीय छ । जुन देखिन्छ पनि । तर बहुपक्षीय सम्बन्ध कसैले देख्दैन, जुन सम्बन्ध न्यूयोर्क र जेनेभामामात्र देखिन्छ । त्यहाँ हुने ‘भोटिङ’मा दुईपक्षीय सम्बन्ध प्रतिविम्बित हुनुपर्ने भइरहेको छैन ।’ बुधबार भएको भोटमा पनि सिधै नेपाल इजरायको विपक्षमा देखिएको उनले बताए ।

'इजरायललाई नेपालले सधैं समर्थन गरेको हेर्न हामी चाहन्छौं, तर त्यो अवसर नपाए पनि नेपाल आफ्नो कूटनीतिक नीतिमा खरो उत्रे हुने थियो । नेपालले भन्दै आएको विषय हो- असंलग्न परराष्ट्र नीति तर इजरायलको विपक्षमा भोट गरेपछि कसरी असंलग्न नीति भयो । इजरायको पक्षमा भोट हाल्न पर्ने स्थानमा असंलग्न भन्ने तर विपक्षमा भोट हाल्न तम्सिहाल्ने यो कुन तवरको कूटनीति हो बुझ्न गाह्रो भएको,' उनले बताए ।

नेपाल साँच्चै असंलग्न नीतिमा अडिग रहने हो भने यस्ता विषयमा पनि असंलग्न नै हुन आवश्यक छ । कतिपय विषयमा नेपाल अनुपस्थित हुने वा उपस्थित भए पनि कुनै पक्षमा आफूलाई नढल्काईकन तटस्थ राख्न आवश्यक छ । राष्ट्रसंघमा चार तवरले सदस्य राष्ट्र प्रस्तुत हुन सक्छ । त्यो हो पक्ष, विपक्ष, तटस्थ र अनुपस्थित । नेपाल त्यसमा खासै अग्रसर देखिएको छैन ।

खासमा हरेक वर्ष २५/२६ भोट इजरायलविरूद्ध हुन्छ । १९३ भोटमा ८२ इजरायलविरूद्ध उभिएको नेपालले देख्छ । त्यसमा ५६ मुलुक त इस्लामिक बहुल (जसलाई हामी बसेको भूभाग नै सह्य छैन) रहेको नेपालले भुलेको उनी तर्क गर्छन् ।

अनि इजरायलविरूद्ध २५/२६ नै त भए होलान् । तर इजरायलको पक्षमा २५ अनि स्वतन्त्र बस्ने ५३ र उपस्थित नहुने ३३ जोड्दा हुने १११ भोट (विश्वको मत) कता छ, त्यो नेपालले आँकलन गरेको देखिँदैन । नेपाल पनि तटस्थ रहँदा विश्वका ११२ एकातर्फ हुन्छ भन्ने सोच इजरायलको छ ।

राष्ट्रसंघ भोटिङमा पक्ष, विपक्ष, स्वतन्त्र र अनुपस्थित चार विकल्प हुन्छ । नेपाल अनुपस्थित हुँदैन विपक्षमा नै भोट गर्छ । अनि नेपालको असंलग्न परराष्ट्र नीति कहाँ मेल खान्छ, यहाँ ? नेपाल त इजरायलको विरोधी कित्तामा सधैं उभिएको छ, अन्तर्राष्ट्रिय फोरममा । नेपालजस्तो पुरानो र स्वतन्त्र मुलुक हाम्रो पक्षमा उभियोस् भन्ने चाहना इजरायलको सधैं रहन्छ । 

नेपालले इजरायल जोडिएको विभिन्न २४ प्रकारको फरक फरक संकल्पमा भोट गर्छ । त्यसमध्ये दुई वटामामा नेपालले आफूलाई संयम देखाएको देखिन्छ । त्यो हो विकास र कृषिसम्बन्धी संकल्प । जुन विषय इजरायलसँग भन्दा पनि नेपालसँग जोडिएकाले हो ।

नेपालले त इजरालय लेवननको केस होस् या प्यलेस्टाइनको होस वा इरानको सबैमा इजरायललाई चिढ्याउने काम गरेको उनले बताए । यसको असर दुईपक्षीय सम्बन्धमा पर्नसक्ने संकेत गर्दै इजरायली राजदूतले सरकारको गम्भीर ध्यानाकर्षण नै गरेको छ । नेपालले जेरूसेलमको केश होस् या अन्य कुनैमा पनि आफ्नो इजरायलको समर्थन गरेको छैन । विरोधमात्र गर्दै आएको तर कतिपय स्थानमा तटस्थ रहे पनि हुने कुरालाई राजदूतले राखेका छन् ।

केही दिनमा पनि अन्य तीन चारवटा संकल्प जाने तरखरमा रहेको र त्यसमा पनि इजरायलको विरूद्धमा नेपालले भोट गरेमा इजरायलले नेपालसँगको सम्बन्धकैबारेमा सोच्न सक्ने संकेत गरेको देखिन्छ । 

नेपाल कैयन् मुस्लिम मुलुकविरूद्ध उभिनुपर्नेमा भने पक्षमा भोट पनि गरिरहेको छ । त्यो हामीलाई सरोकार भएन, नेपालको आफ्नो कूटनीतिक तरिका होला भन्दै राजदूत लभने, ‘इजरायविरूद्धमा जानैपर्ने बाध्यता त म देख्दिनँ । नेपाललाई सधैं भन्न मिल्ने पाटो बीपी कोइरालाले उहिले छाडिदिनु भएको छ । हामीले समर्थन गरेको मुलुकविरूद्धमा हामी कसरी जाने ? भन्दै पक्षमा भोट नगरे पनि विपक्षमा भोट नगरी ‘तटस्थ’ बसे हुने थियो । ’

इजरायलमा केयर गिभरसमेत गोलाप्रथामार्फत लगेर न्यायिक पक्षमा जोड दिएका राजदूतले यहाँको नेता र कर्मचारीको नाडी पक्कै छामेका भए पनि उनले नेपालसँगको सम्बन्धमा यस्तो धारणा राख्नपर्ने अवस्था ‘कपी पेस्ट’ कूटनीतिका कारण भएको परराष्ट्र अधिकारीले बताए । उनीहरू भन्छन्, ‘हामी किन जोखिम लिने । पहिला जे गरेको थियो त्यही गर्ने हो । फरक ढंगले चल्न राजनीतिज्ञको स्पष्ट निर्देशन आउनुपर्छ ।’

उनले केही महिनामा नै एक हजारभन्दा बढी कामदार इजरायल जाने र इजरायलले पनि नेपालको कृषि क्षेत्रमा सहयोग गर्नेजस्ता विषय रहेको भन्दै उनले भने, ' दुईपक्षीय सम्बन्धमा कुनै समस्या छैन तर बहुपक्षीय सम्बन्धमा सधैं किन नेपालले यसो गर्छ भन्ने उनको धारणा हो । नेपाललाई थप सहयोगको कुरा इजरायलको विदेश मन्त्रालय होस् या अन्यले नेपालले गरेको मतदानको ढाँचा देखाउँछन् । हामीलाई समर्थन नगरेर कुनै व्यक्तिलाई फाइदा होला, तर मुलुकहितमा भने हामीले पनि उत्तिकै ध्यान दिएका छौं ।'


Author

चन्द्रशेखर अधिकारी

अन्तर्राष्ट्रिय राजनीति र रक्षा मामलामा कलम चलाउने अधिकारी प्रबन्ध सम्पादक हुन् ।


थप समाचार
x