कूटनीति

बीआरआई : टाढाको आफन्तभन्दा नजिकको छिमेकी वेश

अजय अलौकिक |
भदौ २२, २०७८ मंगलबार २०:५१ बजे

बेइजिङ - साझा विकास तथा समृद्धिकालागि व्यापार तथा भौतिक पूर्वाधारको सञ्‍जाल निर्माण गरी एसियालाई विश्‍वसँग जोड्ने उद्देश्यसहित सन् २०१३ मा चीनद्वारा प्रस्तावित बेल्ट एण्ड रोडले आज आठ वर्ष पूरा गरेको छ । आज यो बेल्ट एण्ड रोड जसलाई बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) पनि भनिन्छ, विकास, निर्माण तथा सम्पर्क सञ्जालको क्षेत्रमा साझा जीत र हित हासिल गर्ने एउटा आशलाग्दो अन्तर्राष्ट्रिय सहकार्य मञ्‍च बन्‍न सफल भएको छ ।

आजको कोभिड-१९ महामारीको पृष्ठभूमिमा पनि बिआरआईले चुनौतीको सामना गर्दै मानवीय सुरक्षा र आर्थिक विकासको सुनिश्चितताकालागि प्रयास जारी राखेको छ । बिआरआईमा आबद्ध देशहरूलाई कोभिड-१९ विरूद्ध लड्न र उनीहरूको अर्थतन्त्रलाई स्थिर बनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ ।


चीनले बीआरआईमा आबद्ध देशसहित ९० वटा देशहरूलाई कोभिडविरूद्धको ७०० मिलियन डोज खोप उपलब्ध गराइसकेको छ । साथै भाइरसको रोकथाम तथा नियन्त्रण र बिरामीको उपचारमा आवश्यक सामग्रीको सहयोग तथा निर्यातसँगै स्वास्थ्य टोलीसमेत पनि खटाएको छ । यो आठ वर्षमा बिआरआई विश्‍वकै एउटा विशाल मञ्च बनिसकेको छ । हालसम्म विश्‍वका विभिन्‍न देश र अन्तर्राष्ट्रिय संघसंस्था गरी १७१ वटा सहभागी यसमा २०५ वटा सहकार्य सम्झौतासमेत भइसकेका छन् ।

यो बिआरआई हाल कोभिडको कहरबीच पनि स्वास्थ्य क्षेत्रसँगै आर्थिक विकास र निर्माणको क्षेत्रमा अग्रसर छ । साथै दिगो विकासकालागि सन् २०३० संयुक्त राष्ट्र संघको एजेण्डा साकार तुल्याउन समेत यसको भूमिका महत्त्वपूर्ण देखिएको छ । विश्‍व बेङ्कको एक रिपोर्टअनुसार, बिआरआईका परियोजनाहरूले विश्‍वव्यापी रूपमा सन् २०३० सम्ममा पूर्ण गरिबीमा रहेका ७.६ मिलियन मानिस र मध्य गरिबीका ३२ मिलियन मानिसलाई उकास्न सहयोग गर्नेछ ।

सहकार्यको माध्यमबाट विकास र समृद्धिको प्रवर्द्धन गर्ने तथा आपसी समझदारी र विश्‍वास बढाएर चौतर्फि आदानप्रदानलाई बलियो बनाइ शान्ति र मित्रताको पथमा लम्किँदै साझा जीतको लक्ष्य बोकेको यो मञ्चको पहल आजभन्दा ठीक आठ वर्षघि आजकै (सेप्टम्बर ७) दिन भएको थियो ।

चीनका राष्ट्रपति सी चिनफिङले सन् २०१३ सेप्टम्बर ७ मा कजाकिस्तानको राजधानी अस्तानास्थित नजरबायेव विश्‍वविद्यालयमा पहिलो पटक बीआरआईसम्बन्धमा आफ्नो भनाइ सार्वजनिक गरेका थिए । उनले त्यहाँ ‘हाम्रा मानिसहरूबीचको मित्रताको प्रवर्द्धन र एक उज्ज्वल भविष्यको निर्माणका लागि मिलेर काम गरौँ’ शीर्षकमा आफ्नो मन्तव्य राखेका थिए ।

उनले आफ्नो जन्मथलो सान्शी प्रान्त प्राचिन रेशममार्गको आरम्भ बिन्दु रहेको बताउँदै दुई हजार वर्षअघि हान वंशकालमा, चिनियाँ दूत चाङ छिआनलाई शान्ति र मित्रताकालागि मध्य एसियामा खटाएको कुराको स्मरण गरेका थिए । उनैको दुई पटकको यात्राले चीन र मध्य एसियाली देशहरूका साथै पूर्व र पश्चिम एसिया तथा यूरोप जोड्ने रेशममार्गको मैत्रीपूर्ण ढोका खोलेको उल्लेख गरेका थिए ।

साथै उनले दुई हजार वर्षअघिको मित्रताको त्यो अध्याय आजसम्म पनि रहेको उल्लेख गर्दै एकता, आपसी विश्‍वास, समानता, समावेशी, पारस्परिक अध्ययन तथा साझा जीतको आधारमा विभिन्‍न जाति, धर्म र आस्था र सांस्कृतिक पृष्ठभूमि भएका देशहरू शान्ति र विकासको साझेदारी गर्न पूर्ण रूपमा सक्षम रहेको देखाउनुका साथै प्राचीन रेशममार्गबाट बहुमुल्य प्रेरणा मिलेको बताएका थिए । उनले यसै पृष्ठभूमिमा उभिएर नविन रेशममार्गको निर्माणको उद्घोष गरेका थिए ।

उनले आर्थिक सम्बन्धलाई नजिक ल्याउन, सहयोगलाई गहन बनाउन र यूरेसियाली क्षेत्रमा विकासको विस्तार गर्न हामीले एक नविन दृष्टिकोण लिनुपर्छ र संयुक्त रूपमा सिल्क रोडको साथमा आर्थिक बेल्टको निर्माण गर्नुपर्ने बताए । उनले अगाडि भने, 'यो मार्ग सबै देशलाई लाभान्वित गर्ने एउटा विशाल बाटो हुनेछ । यसलाई वास्तविकतामा बदल्नकालागि हामीले आआफ्नो क्षेत्रमा काम सुरू गर्नुपर्छ र समयसँगै सम्पूर्ण क्षेत्रलाई जोड्नुपर्छ ।'

राष्ट्रपति सीले यहीँ नजर बाहेक विश्‍वविद्यालयलाई सम्बोधन गर्दै यसो पनि भनेका थिए, 'टाढाको आफन्तभन्दा नजिकको छिमेकी काम लाग्छ ।' उनले पुस्तापुस्तामा मित्रता हस्तान्तरण गर्न जोड दिँदै सदा सौहार्द वातावरणमा बस्ने असल छिमेकी बन्‍न आग्रह पनि गरेका थिए । साथै उनले चीन शान्तिपूर्ण विकास र स्वतन्त्र परराष्ट्र नीतिका लागि प्रतिबद्ध रहेको भन्दै विभिन्‍न देशका जनताहरूले स्वतन्त्र रूपमा रोजेको नीतिहरूलाई सम्मान गर्ने पनि औँल्याएका थिए ।

यसै गरी, सन् २०१३ अक्टुबरमा ईण्डोनेसिया भ्रमण क्रममा राष्ट्रपति सीले सामुद्रिक रेशममार्गको उद्घोष गरेका थिए । सोही वर्षको नोभेम्बरमा चिनियाँ कम्युनिस्ट पार्टीको १८ औँ अधिवेशनको तेस्रो पूर्ण बैठकले बेल्ट एण्ड रोड ईनिसिएटिभलाई अगाडि बढाउने निर्णय पारित गरेको थियो ।

नेपाल पनि सन् २०१७ देखि चीनको यो नविन रेशममार्गमा आबद्ध भएको छ । नेपालको उत्तरतर्फको छिमेकी देश चीन हिमाल र नदीले जोडिएको प्रागैतिहासिक कालदेखि मित्रवत् सम्बन्ध रहेको देश हो । नेपालमा बिआरआई फ्रेमवर्कमार्फत् परियोजनाहरू सञ्चालित छन् । कोभिड-१९ महामारीबीच आर्थिक विकास तथा पूर्वाधार निर्माणको क्षेत्रमा सुस्तता देखिए तापनि स्वास्थ्य क्षेत्रमा सहयोग जारी छ साथै कोभिडपछि नेपालमा बिआरआई फ्रेमवर्कमार्फत् हिमाल वारपार सम्पर्क सञ्जाललगायत विविध परियोजनाहरूले तीव्रता पाउने छ ।


Author

थप समाचार
x