कूटनीति

१८ वर्षदेखि कमजोर बनिरहेको नेपाली पासपोर्ट

जीवन कुँवर |
फागुन १७, २०८० बिहीबार ८:४६ बजे

काठमाडौँ- नेपाली पासपोर्ट हरेक वर्ष खस्किँदै गएको छ । ‘द हेन्ली पासपोर्ट इन्डेक्स’ले हालै सार्वजनिक गरेको रिपोर्टअनुसार यो वर्ष पनि नेपाली पासपोर्टको साख गिर्दो छ ।

‘द हेन्ली पासपोर्ट इन्डेक्स’ले अन्तर्राष्ट्रिय हवाइ यातायात आयोगले प्रदान गर्ने तथ्याङ्कको आधारमा पासपोर्टको मापन गर्ने गर्छ । विश्वभरका राष्ट्रहरूको पासपोर्टको शक्ति मापन हरेक वर्ष ‘द हेन्ली पासपोर्ट इन्डेक्स’ले गर्दै आइरहेको छ ।


पासपोर्ट कमजोर हुनुको विभिन्‍न कारणहरू हुन् सक्छ । जस्तै देशको आर्थिक विकासमा पनि भर पर्छ । राजनीतिक, द्वन्द्व, आतंकवादी हमला, बाह्य पर्यटक, पर्यटन, जीडीपी, द्विपक्षीय व्यापार र सांस्कृतिक र सभ्यतामा पनि भर पर्छ ।

सन् २००६ देखि सन् २०२४ सम्मको डाटा हेर्ने हो भने नेपाली पासपोर्ट हरेक वर्ष कमजोर भइरहेको छ । सन् २००६ मा ७६ औँ स्थानमा रहेको नेपाली पासपोर्ट हाल १०३ औँ स्थानमा छ । नेपालको पासपोर्टले ४० देशमा भिसा फ्रि (भिसा नचाहिने) अथवा भिसा अन अराइभल (गन्तव्यमा पुग्नासाथ भिसा पाउने) व्यवस्था हुन्छ ।

त्यसोत द्वन्द्वग्रस्त हाइटी, सुडान, साउथ सुडान र कंगोमा सुरक्षाका लागि नेपालले प्रहरी र नेपाली सेना पठाउँछ । तर तिनै देशको भन्दा पनि नेपाली पासपोर्ट कमजोर छ । सुडानको पासपोर्ट १००औँ स्थानमा छ । सुडानको पासपोर्टले ४५ देशमा अन अराइभल भिसा पाउँछ ।

साउथ सुडान ९९ औँ स्थानमा छ र उसले ४६ देशमा अन अराइभल भिसा पाउँछ । कंगोको पासपोर्ट ९४ औँ स्थानमा छ भने उसले ४७ देशमा अन अराइभल भिसा पाउँछ । त्यस्तै हाइटी ९२ औँ स्थानमा छ भने हाइटीले ले ५५ देशमा अन अराइभल भिसा पाउँछ ।

छिमेकी देश भारत ८५ औँ स्थानमा छ र भारतको पासपोर्टले ६२ देशमा अन अराइभल भिसा पाउँछ ।

त्यस्तै अर्को छिमेकी देश चीन ६४ औँ स्थानमा छ । चीनको पासपोर्टले ८६ देश जानका लागि अन अराइभल भिसा पाउँछ ।

त्यस्तै केही वर्षअघि मात्रै विविध कारणले अर्थतन्त्र ध्वस्त भएको श्रीलंकाको पासपोर्ट १०१ औँ स्थानमा छ । श्रीलंकाको पासपोर्टले ४३ वटा देशमा अन अराइभल भिसा पाउँछ ।

विश्वका शक्तिशाली पासपोर्ट भएका देशहरू
फ्रान्स, जर्मनी, इटाली, जापान, सिंगापुर र स्पेन शक्तिशाली पोसपोर्टको पहिलो नम्बरमा छन् । यी ६ देशले १९४ देशमा अनअराइभल भिसा पाउँछन् ।

त्यस्तै दोस्रो शक्तिशाली पासपोर्ट भएको चार देश रहेका छन् । जसमा फिनल्याण्ड, नेदरल्याण्ड्‌स, साउथ कोरिया र स्वीडेन रहेका छन् । उनीहरूले १९३ देशमा अनअराइभल भिसा पाउने हेन्ली पासपोर्ट इन्डेक्सले उल्लेख गरेको छ ।​

अस्ट्रिया, डेनमार्क, आयरल्याण्ड, लक्जमबर्ग र युके शक्तिशाली पोसपोर्टको तेस्रो स्थानमा पर्छन् । उनीहरूले १९२ देशमा अनअराइभल भिसा पाउँछन् ।

बेल्जियम,नर्वे र पोर्चुगल चौथो शक्तिशाली पासपोर्ट भएको देश हुन् । यी तीन देशले १९१ देशमा अनअराइभल भिसा पाउँछन् ।

त्यसैगरी १९० देशमा अनअराइभल भिसा पाउनेहरूमा अस्ट्रेलिया, ग्रीस, माल्टा, न्युजिल्याण्ड र स्वीट्जरल्यान्ड रहेका छन् ।

सबैभन्दा कम अनअराइभल भिसा पाउनेहरू १५ देशहरू
- १०९ स्थानमा रहेको अफगानिस्तानले २८ देशमा
- १०८ रहेको सिरियाले २९ देशमा 
- १०७ मा रहेको इराकले ३१ देशमा
- १०६ मा रहेको पाकिस्तानले ३४ देशमा
- १०५ रहेको यमनले ३५ देशमा
- १०४ मा रहेको सोमलियाले ३६ देशमा
- १०३ मा रहेको नेपाल र प्यालेस्टानले ४० देशमा
- १०२ मा रहेको नर्थ कोरिया र बंगलादेशले ४२ देशमा
- १०१ मा रहेको श्रीलंकाले ४३ देशमा
- १०० मा रहेको इरान, लेबनान, नाइजेरिया र सुडानले ४५ देशमा

१८ वर्षदेखि कमजोर नेपाली पासपोर्ट
सन् २००६ मा नेपालको पासपोर्ट ७६ औँ स्थानमा थियो । त्यसपछि नेपालको पासपोर्ट लगातार कमजोर बनिरहेको छ । 

हेन्ली पासपोर्ट इन्डेक्सका अनुसार सन् २००७ मा ७८औँ स्थानमा, सन् २००८ र २००९ मा ८० औँ स्थानमा, सन् २०१० मा ८८ औँ स्थानमा, सन् २०११ मा ९६ औँ स्थानमा र सन् २०१२ मा ९८ औँ स्थानमा रहेको थियो ।

नेपाली पासपोर्ट सन् २०१३ मा ८९ औँ स्थानमा, सन् २०१४ मा ९० औँ स्थानमा, सन् २०१५ मा १०५ औँ स्थानमा, सन् २०१६ मा ९८ औँ स्थानमा, सन् २०१७ मा ९७ औँ स्थानमा, सन् २०१८ मा १०१ औँ स्थानमा र सन् २०१९ मा १०१ औँ स्थानमा रहेको हेन्ली पासपोर्ट इन्डेक्सले जनाएको छ ।

त्यस्तै सन् २०२० मा १०१ औँ स्थानमा, सन् २०२१ मा ११० औँ स्थानमा, सन् २०२२ मा १०५ औँ स्थानमा, सन् २०२३ मा १०३ औँ स्थानमा र सन् २०२४ मा पनि १०३ औँ स्थानमा रहेको हेन्ली पासपोर्ट इन्डेक्सले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ ।


Author

जीवन कुँवर

राजनीति तथा समसामयिक विषयमा कलम चलाउने कुँवर सिनियर करेस्पाेन्डेन्ट तथा डेस्क संयोजक हुन् ।


थप समाचार
x