कूटनीति

नेपालको विकास हिन्द महासागरमा निर्भर : परराष्ट्रमन्त्री साउद

इकागज |
माघ २७, २०८० शनिबार १५:४६ बजे

काठमाडौँ- परराष्ट्रमन्त्री एनपी साउदले नेपालको विकास आकांक्षा हिन्द महासागरमा निर्भर रहेको उल्लेख गर्दै हिन्दुकुश हिमालयको इकोसिस्टम र जलवायु अवस्था बुझ्ने माध्यमका रूपमा रहेको बताएका छन् । 

अष्ट्रेलियाको पर्थमा सातौं इन्डियन ओसन कन्फरेन्स (सातौं हिन्द महासागर सम्मेलन) मा सम्बोधन गर्दै मन्त्री साउदले सागर र हिमाली समस्याहरू समाधान एकीकृत र समग्रमा गर्नुपर्ने बताए । 


अष्ट्रेलिया सरकार र इन्डिया फाउन्डेसनको आयोजनामा भइरहेको सम्मेलनमा मन्त्री साउदले हिन्द महासागरलाई भूगोलका रूपमा सीमित नभइ संसारको सभ्यताको केन्द्र रुपमा रहेको बताएका हुन् । उनले भने, 'हिन्द महासागर भू-राजनीतिक, भू-रणनीतिक र भू-आर्थिक महत्वका दृष्टिकोणले हेर्नुपर्दछ ।' 

सम्बोधनका क्रममा मन्त्री साउदले थपे, ‘यहाँ दुःखका साथ भन्नुपर्छ, हिन्द महासागरले परम्परागत र गैर परम्परागत दुवै सुरक्षा चुनौतीको सामना गर्नुपरेको छ ।

समुद्री आतंकवाद, डकैती, लागूऔषध र हतियारको ओसारपसार, मानव बेचबिखन, गैरकानुनी आप्रवासन एवम नेभिगेसनको स्वतन्त्रतामा अवरोधलगायत सुरक्षा चुनौतीहरू गम्भीर रूपमा खडा हुनु दुःखद छ ।’ 

हिन्द महासागर नेपालको वैदेशिक व्यापारका लागि एक हिस्सेदार र अन्तर्राष्ट्रिय बजारमा पुग्ने लाइफलाइनका रूपमा रहेको मन्त्री साउदले उल्लेख गरे। 

नेपालले महासागरको महत्वलाई विश्वव्यापी जनहितका रूपमा मान्यता दिएको बताउँदै मन्त्री साउदले समुद्री संरक्षण र दिगो उपयोग, मानव जातिको साझा हित, राष्ट्रिय अधिकार क्षेत्रभन्दा जैविक विविधताको संरक्षणमा जोड दिए ।


Author

थप समाचार
x