कूटनीति

विपीन जोशीको रिहाइका निम्ति कूटनीतिक प्रयास जारी

इकागज |
पुस ७, २०८० शनिबार १६:४ बजे

फाइल फोटो

काठमाडौँ - परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले प्रजातन्त्र पुनःस्थापनापछि नेपाली पत्रकारिता क्षेत्रमा क्रान्तिकारी परिवर्तन आएको बताएका छन् । 

काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै ‘समुन्नत नेपाल निर्माणमा सञ्चारमाध्यमको भूमिका’ विषयको गोष्ठीमा उनले २०४७ सालदेखि नेपाली पत्रकारिता क्षेत्रमा ठूलो परिवर्तन आएको बताए । 


“प्रजातन्त्र पुनःस्थापनापछि नेपाली पत्रकारिता  संस्थागत भएको छ, प्रजातान्त्रिक मुलुकमा पत्रकारितालाई चौथो अङ्गका रुपमा राज्यले मान्यता दिएको छ”, परराष्ट्रमन्त्रीले भने । उनले संविधान जारी गरेपछि  तीनै तहको निर्वाचन गरेर  सरकार लोकतन्त्रलाई सुदृढ तुल्याउन क्रियाशील भएको बताए । उनले जलवायु परिवर्तनको मुद्दा र शान्ति प्रक्रियालाई टुङ्गो पुर्‍याएको विषयमा नेपालले विश्वसँग स्पष्ट ढङ्गले कुरा गरेको स्पष्ट पारे । 

फरक प्रसङ्गमा परराष्ट्रमन्त्रीले आतंकवादी समूह हमासको अपहरणमा परेका विपीन जोशीको सकुशल मुक्तिका लागि सरकारले निरन्तर कूटनीतिक प्रयास गरिरहेको बताए । 

नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्व स्वास्थ्य मन्त्री भवानीप्रसाद खापुङले राज्य सञ्चालनमा धेरै समस्या भएको भन्दै ती समस्या समाधान गर्न सरकार लाग्नुपर्नेमा जोड दिए । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य देवेन्द्र प्रधानले समुन्नत मुलुक निर्माणको ‘एजेण्डा’ नेपाली सञ्चार माध्यमले उठाउनुपर्ने बताए । 

नेपाली जनसम्पर्क समिति, भारतका अध्यक्ष बालकृष्ण पाण्डेले विदेशिएका नेपालीको पीडालाई नेपाली सञ्चार माध्यमले गहन प्रस्तुत गरेकामा आभार व्यक्त गरे । रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलाले दैनिक हजारौँ युवा मुलुकबाट बाहिरिएका भन्दै उनीहरूलाई स्वदेशमै रोजगारीको वातावरण बनाउन सरकार लाग्नुपर्ने बताए । 


Author

थप समाचार
x