कूटनीति

प्रभावी नेपाली

सामाजिक सञ्जालबाटै समस्या र समाधान

चन्द्रशेखर अधिकारी |
चैत २५, २०७७ बुधबार ६:३८ बजे

काठमाडौँ : ‘सर मेरो कम्पनीले तीन महिनादेखि पारिश्रमिक दिएको छैन । काम पनि दिएको छैन । नेपालबाट आएको १९ महिना भयो अब म के गरुँ ? मेरो कुनै कुराको सुनुवाई भएन । मसँग केही छैन के गर्दा समस्या हल हुन्छ, सर ? प्लीज सहयोगको अपेक्षा गर्दछु । मेरो अन्य कुनै जागिर छैन’ यो साउदीमा कार्यरत एक व्यक्तिले साउदी अरबस्थित नेपाली दूतावासको फेसबुक पेजमा पोष्ट गरेको जिज्ञासा हो ।

पाल्पाली मगरको नामबाट साउदी अरेवियास्थित नेपाली दूतावासको वेब–पेजमा उत्तर खोजेका छन् । उनको समस्याको समाधान उक्त पेजबाटै गर्ने प्रयास भएको देखिन्छ । नेपाली दूतावासले सामाजिक सञ्जाल राम्रोसँग सञ्चालन गर्न आग्रह गर्दै सूचना जारी गरेको स्थानमा ती व्यक्तिले आफ्नो समस्या राखेका थिए । त्यसको उत्तर पनि त्यही पाएका थिए । दूतावासले पनि उनको जिज्ञासाको उत्तर त्यही पेजमा चार दिनपछि दिएको देखिन्छ ।


दूतावासको उत्तरमा भनिएको छ, ‘तपाईँको मुदिरको नम्बर (मोवाइल नम्बर) पत्ता लगाएर ०५०००२१४०९ मा फोन गर्नुहोला र आफ्नो समस्या राख्नुहोला । यदि फोन उठेन भने वा व्यस्त आयो भने त्यही नम्बरमा ‘ह्वाट्स एप’मा म्यासेज छाड्नु होला ।’ यसपछि उनले सम्बन्धित व्यक्तिसम्म आफ्नो समस्या सहजै राख्न पुगेको विषय फेसबुक पेजबाट स्पष्ट हुन्छ ।

पछिल्लो समय प्रविधिको कारण समस्या समाधानमा सहजता आएको अनुभव दूतावास अधिकारीहरूको छ । विदेशी भूमिका कार्यरत नेपालीले पनि डिजिटल माध्यमबाट सहज उत्तर पाएर आफ्नो समस्याको समाधान हुने जस्ता कार्यले समय बचत भएको सुनाएका छन् ।

‘यसरी उत्तर पाउँदा र समस्या समाधान गर्छौ भन्ने आड भरोसा मिल्दा विदेशी भूमिमा पनि आफ्नो कोही अभिभावक भएको अनुभव हुन्छ’ एक श्रमिकले इकागजसँग भने, ‘अधिकांश नेपाली कामदार फेसबुक चलाउँछन् । त्यसमार्फत् सोध्न पनि सक्छन् । नभए फोन पनि गर्न सकिन्छ । धेरै सहजीकरण छ ।’

साउदीमा कार्यरत कृष्ण तिरुवाले जिज्ञासा राखेका छन्,‘नयाँ पासपोर्ट बनाउन कहिले सुरु हुन्छ ? होला मेरो पासपोर्टको डेट सकिन लागेको थियो । मैले फर्म पनि भरेको छु । कहिले आउँला घर जाने । गाह्रो भएको छ, अब रियाध जान धेरै खर्च हुन्छ ।’

यतिमात्र होइन विदेशीले पनि नेपालबाट कसरी कामदार ल्याउन सकिन्छ भन्दै वेब–पेजमा जिज्ञासासमेत राखेको देख्न सकिन्छ । त्यहाँ दुतावासले राम्रो कामकामको प्रशंसा गर्नेदेखि दूतावासले फोन नउठाएको समेतको जिज्ञासा रहेका हुन्छन् ।

साउदी मात्र होइन मलेसिया, कुवेत, ओमान युनाइटेड अरब इमिरेट्स (यूएई), कतार र बहराइनमा यस्ता प्रकारका जिज्ञासा राख्ने समाधान हुने गरेको देखिन्छ । दैनिक जसो एक वा दुई जनाको समस्या समाधान फेसबुक पेजबाट नै हुन्छ भने कैयन समस्या दूतावासले उपलब्ध गराएको मोवाइल नम्बर र हटलाइन नम्बरबाट हुने गरेको दूतावास अधिकारी बताउँछन् ।  

काम गर्ने स्थानमा म्यानेजरले रकम कम दिएर मारमा पारेको कन्ट्रयाक्ट पेपर उनीहरूले नैे राख्ने गरेको जस्ता जिज्ञासा पनि दूतावासको फेसबुक पेजमा देख्न सकिन्छ ।

दूतवाासले कामदारका कम्पनीको नाम र सम्भव भए मेनेजरको नम्बर समेत पठाउनु हामी पहल गर्ने ढाडस पनि पेजमा नै दिएका हुन्छन् । त्यो विषयमा साना मुलुकमा त कामदार भएको स्थानमा दूतावास पुग्ने तर साउदी आफैँमा ठूलो मुलुक भएकाले त्यहाँ भने कतिपय समस्या फोनबाट समाधान गर्ने गरेको राजदूत महेन्द्र पी सिंहले जानकारी दिएका थिए ।

रोहित श्रेष्ठले ओमानबाट नेपालमा कल गर्दा अन्यत्र भन्दा सस्तो कहिले होला भनेर राजदूतसँग जिज्ञासा राखेका छन् । एक सातादेखि त्यहाँ कुनै उत्तर देखिँदैन । श्रेष्ठले राजदूतले गरेको भेटघाटको विज्ञप्ती राखेको स्थानको ‘कमेन्ट वक्स’मा यो प्रश्न सोधेका छन् । दूतावासले कतिपय स्थानमा उत्तर दिए पनि कतिपयमा बेवास्ता गरेको देखिन्छ । सूचना र दुतावासको गतिविधि भने सबै जसो दूतावासले राखेको देखिन्छ । यसले पनि अधिकलाई सुसूचित हुन सहज भएको छ ।

कुवेत दूतावासको फेसबुक पेजमा पनि अधिक जिज्ञासा छ । जसमा यहाँ कुवेतमा पनि नेपाली दूतावास छ र ? भन्दै प्रश्न सोधेका छन् । दूतावासबाट दिने सेवामा कमजोरी रहेको भन्दै कैयनले प्रश्न उठाएको देख्न सकिन्छ ।

नेपाल फर्कन तयार रहेको तर दूतावासले कुनै सहजीकरण नगर्दा ढिलाई भएको पनि लेखिएको पढ्न पाइन्छ । दूतावास बन्द भएको सूचना राखेको स्थानमा पनि बन्द र खुला गर्नेबाहेक अन्य कुनै काम पनि गर्छौ भन्ने कमेन्ट देख्न सक्छौँ । सबैलाई सन्तुष्ट पार्न त सकिदैन, तर पेजलाई केही रुपमा अन्तरक्रियात्मक भने बनाउन आवश्यक देखिएको उनीहरु नै स्वीकार गर्छन ।

यूएईस्थित नेपाली दूतावासले पनि तत्काल उत्तर दिएको देखिन्छ । तर दूतावास बन्द गर्ने विषयमा पनि त्यहाँ प्रश्न गर्दै बन्द गर्ने सूचना जारी गरेकाकोमा धन्यवाद तर यूएई विदामा पनि नेपालमा हुने विदाका दिनमा पनि किन विदा आवश्यक छ भनी सोधेका छन् । समस्यादेखि दूतावास अधिकारीहरुलाई उडाउने खालका प्रश्नहरु पनि राख्ने गरेका छन् ।

कतारस्थित नेपाली दूतावासले भने सूचनासँगै उत्तर पनि तत्काल दिएको देखिन्छ । मलेसिया र कतारका दूतावासले सूचना र उत्तरमा सक्रिय रहेको र कतिपयले विदा र भेटघाटमा अन्य कुरा सोध्ने, हल्का जिस्काउनेबाहेक जानकारी माग्ने गरेका छन् । हुन त, हाल मलेसियामा राजदूत रहेका उदयराज पाण्डेले साउदीमा राजदूत हुँदा दूतावासका सबै कर्मचारीको नम्बर राख्ने र सबैले जतिबेला पनि फोन उठाउनुपर्ने नियम राखेका थिए । त्यसपछि सामाजिक संजाल र फोन दुवैको प्रयोगमा अन्य दूतावास पनि जुझारु देखिन्छन् ।

विवादमा परेर हमिद अन्सारी साउदी दूतावासबाट फिर्ता भएपछि त्यहाँ जाने क्रममा उनले यो प्रकारको अभियान आठ वर्ष अघि नै थालेका थिए । त्यसपछि कतार, युएईले पनि त्यसलाई पछ्याएका हुन । पछिले अन्यले पनि । अहिले को कत्तिको सक्रिय रहने भन्ने विषय उठेको छ । अहिले मलेसियास्थित दूतावासले त भिडियो सन्देश नै दिने गरेको छ । समस्या समाधानका लागि भन्दै हरेक विषयमा भिडियो रेकर्ड गरेर त्यसबारे जानकारी दिने र समस्या लेखेर पठाएमा तत्काल फोन गर्ने गरेको दूतावास अधिकारीले बताए ।

बहराइनस्थित नेपाली दूतावासले पनि यसरी नै आफ्नो पेजमा उत्तर दिने गरेको छ । अधिक नेपाली कामदार रहने खाडी मुलुकमा सामाजिक सन्जालमार्फत् सचेत गराउने र समस्या समाधान गर्ने कार्य भइरहेको छ ।


Author

चन्द्रशेखर अधिकारी

अन्तर्राष्ट्रिय राजनीति र रक्षा मामलामा कलम चलाउने अधिकारी प्रबन्ध सम्पादक हुन् ।


थप समाचार
x