अपराध

क्यानडा लैजान्छु भनेर ९० लाख ठग्‍ने धीरज पक्राउ

३३ जनाबाट पैसा उठाएका थिए

अनिष भट्टराई |
माघ १५, २०७७ बिहीबार १८:२३ बजे

पोखरा : स्याङ्जाका दिवस गुरुङ गाउँमै बेरोजगार भएर बसेका थिए । विदेश जाने मन गरेर पासपोर्ट पनि बनाए । डेढ वर्षअघि खाडी मुलुक जाने सोचमा रहेका उनको भेट एक एजेन्टसँग भयो । जसले उनलाई खाडी हैन क्यानडाको सपना देखायो । 

धीरजलाई क्यानडाको ‘ललीपप’ले लोभ्यायो । क्यानडा लैजान एजेन्टले भेटाउने भनेको मानिसलाई भेट्न पुगे । उनले १ लाख रुपैयाँ तत्काल उक्त एजेन्टलाई दिए । विदेश जाने दिन कुरेर बसे । 


वालिङ १३ का ध्रुव पाठक शारदा मन्दिर माविमा पढाउँछन् । गाउँकै दीपेन्द्र विश्वकर्मा अर्को विद्यालयमा पढाउँछन् । दीपेन्द्रले आफूलाई क्यानडा जाने मौका आएको खबर ध्रुवलाई सुनाए । ध्रुवलाई पनि क्यानडा जाने रहर जाग्यो । दीपेन्द्र र ध्रुवकै गाउँका भोजबहादुर कार्की क्यानडा छन् । भोजबहादुरको विश्वासपात्र थिए, दीपेन्द्रलाई क्यानडा लान्छु भन्ने एजेन्ट । भोजबहादुरलाई देखाएर नै ती एजेन्टले ध्रुव र दीपेन्द्रलाई क्यानडा लान्छु भनेर विश्वास बटुले । क्यानडा भनेपछि ध्रुवले २ र दीपेन्द्रले १ लाख ती एजेन्टलाई बुझाए । 

क्यानडा जाने दिन कुरेर बसेका स्याङ्जाका दिवस, ध्रुव र दीपेन्द्रमात्र थिएनन् । स्याङ्जा, तनहुँ, पर्वत, कास्कीका अरु २९ पनि थिए । सबैलाई एकै एजेन्टले क्यानडा लान्छु भनेर पैसा उठाउँदै बसेका थिए । ती एजेन्ट थिएः पर्वत मोदी गाउँपालिका ७ का धीरजकुमार विश्वकर्मा । धीरजले पैसा उठाएकासँग पासपोर्ट पनि मागे । पासपोर्ट भारत पठाइसकेँ अब प्रक्रिया सुरु भयो भन्‍ने आश्वासन पनि दिइरहे ।  

लामो समयमा प्रक्रिया पूरा नभएपछि उनीहरूले धीरजलाई सम्पर्क गरे । धीरजको एउटै जवाफ हुन्थ्यो– ‘कोरोना हटेपछि प्रोसेस सुरु हुन्छ ।’ धीरजले उनीहरूको विश्वास जित्न बैंक तथा सहकारीका चेकसमेत उनीहरूलाई दिए । 

बारम्बार फोन गरेपछि ध्रुवलाई एकदिन धीरजले ‘क्यानडा भिसा एप्लिकेसन सेन्टर, दिल्ली’ जान सुझाए । त्यहाँ गए छिटो भिसा आउने जवाफ पाएपछि ध्रुवलगायत ५ जनाको टोली दिल्ली पुग्यो । त्यहाँबाट ‘छिट्टै इमेल आउँछ’ भन्ने जवाफ पाएपछि उनीहरु निर्धक्क देश फर्के । न त इमेल आयो न त धीरजको फोन नै उठ्यो । 

यत्तिका समय धीरजले फोन नउठाउने र उठाए पनि राम्ररी नबोल्ने गरेपछि उनीहरूलाई शंका लाग्यो । क्यानडा लगिने भनिएकाहरूले माघ १२ गते निवेदन प्रहरी कहाँ दिए । प्रहरीले भोलिपल्टै पोखरा ३० सिसुवाबाट धीरजलाई पक्राउ गर्‍यो । धीरज आफैं १४ वर्ष खाडीमा बसेर नेपाल फर्किएका थिए ।  

धीरजमाथि अनुसन्धान गर्दा उनले ३३ जनालाई ठगेको खुलेको जिल्ला प्रहरी कार्यालय कास्कीका जीवनकुमार श्रेष्ठले बताए । ३३ जनाबाट अहिलेसम्म उनले ९० लाख ७१ हजार ५ सय ठगी गरेको खुलेको छ । 

यो संख्या अझै बढ्न सक्ने प्रहरीको शंका छ । ‘अरु २ जना पनि यसमा संलग्न भएको देखिएको छ, उनीहरुलाई खोज्दै छौं, ठगी भएकाहरु बढ्न सक्छन्,’ श्रेष्ठले भने । प्रहरीले बाँकी २ जनाको परिचय पाइसकेको छ ।  उनीहरुको खोजी तीव्र पारिएको प्रहरीको दाबी छ ।


Author

अनिष भट्टराई

भट्टराई इकागजका संवाददाता हुन् ।


थप समाचार
x