अपराध

आठ जनाको हत्या आरोपीलाई सफाइ !

पीडितको आरोप–राजनीतिक र आर्थिक चलखेल भयो

विक्रम खड्का |
पुस २७, २०७८ मंगलबार १२:२७ बजे

बुटवल । दर्जनौं आपराधिक घटनाका योजनाकार तथा हत्या आरोपित कपिलवस्तुका नसिम खानले सफाइ पाएका छन् । कुनै समय प्रहरीको सर्वाधिक खोजीको सूची (मोस्टवाण्टेड) नसिमलाई अदालतले वेकसुरदार सावित गरेपछि पीडितहरु उच्च अदालत जाने तयारीमा छन्।

लामो बहसपछि जिल्ला अदालत कपिलवस्तुले आठ हत्या आरोपित खानलाई सफाइ दिएपछि ८/८ जना आफन्त गुमाएका पीडितहरू आक्रोशित बनेका छन् । 


न्यायाधीश जवाहरप्रसाद सिंहको इजलासले सोमबार अभियोग दावी नपुगेको भन्दै आठ जनाको हत्या, एक ज्यान मार्ने उद्योग र दुईवटा डाँका मुद्दाका आरोपित खानलाई सफाइ दिएको हो । यसअघि नै नसिमसहित घटनामा संलग्नलाई रिहा गर्न राजनीतिक र आर्थिक चलखेल भइरहेको पीडितका परिवारले बताउदै आएका थिए। जसका कारण केही समय सेलाएको मुद्दा एकाएक पेसीमा चढेको थियो । अदालतमा मुद्धाको जिम्मेवारी गोलाप्रथा बाटै लाग्ने भएपछि हतारहतार पेसी चढेको पीडितहरुको आरोपलाई अदालतको फैसलाले बल पुगेको छ । आदेशमा अभियोग नपुगेको भनिएपनि आदेशको पूर्ण पाठ भने आइसकेको छैन ।

को हुन् नसिम ?

चारजना माओवादी कार्यकर्ता, दुईजना बालबालिका र एकजना कर्मचारीको हत्या आरोपित नसिमलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले २ वर्ष अघि काठमाडौँबाट पक्राउ गरेको थियो । माओवादी सशस्त्र संर्घषका क्रममा तत्कालीन शाही सरकारको समर्थनमा कपिलवस्तुमा चलाइएको माओवादीविरुद्धको प्रतिकार समितिका मुख्य नाइके नसिमले त्यसबेला माओवादीको हत्या गरेको आरोप लागेको थियो  ।

त्यसपछि उनी २०६३ साल जेठमा जनतान्त्रिक तराई मुक्ति मोर्चा भन्ने भूमिगत समूहमा आबद्ध भए । त्यसलगत्तै उनले हत्या, अपहरण, लुटपाटलगायतका घटनामा संलग्न भएको अदालतमा पेश गरिएका प्रतिवेदनहरूमा उल्लेख छ । राजनीतिमा पनि उनले एकपछि अर्को सफलता हात परे । २०७२ सालमा एमालेको सदस्यता लिएका खानले २०७४ मै श्रीमती फौजिया खानलाई एमालेबाटै समानुपातिक सूचीबाट प्रदेश सांसद बनाए । कपिलवस्तुको सीमा पारीको भारतीय भूमि प्रयोग गरी नेपालमा आपराधिक गतिविधि गर्दै उनले चन्दा आतंक, हतियार बेचबिखन, अपहरण तथा कनट्र्याक्ट किलरसम्मका काम गर्ने गरेको प्रहरीको दावी छ । 

नसिमले २०६३ साल फागुनमा माओवादीका जिल्ला सदस्य प्रेम परियार (भुवन) को गोली हानी हत्या गरेको, उनकै समूहले २०६३ फागुन १ गते इलैचा बरईको फुलिकास्थित घरमा आक्रमण गरी उनकी ४ वर्षीया छोरीको हत्या र लुटपाट गरेको जाहेरी अदालतमा पुगेको थियो । उनकै नेतृत्वमा २०६४ मंसिर २५ गते तत्कालीन जिल्ला विकास समितिका स्थानीय विकास कोष प्रमुख निरञ्जन पौडेलको अपहरण गरी करिब ४ लाख रुपैयाँ फिरौती लिएर ८ दिन पछि छाडेको तथा चन्दा दिन नमानेको भन्दै तत्कालीन गाविस सचिव राममिलन गुप्तालाई नसिम र उनका सहयोगी श्रवण मुराउले २०६५ साल भदौमा पिपरा गाविसमै गोली हानी हत्या गरेको मुद्दा पनि अदालतमा पुगेको थियो । नसिमको समूहले २०६६ सालमा तिर्तिखी गाविसमा माओवादी कार्यकर्ता नसिबुल्लाह मुसलमानलाई हानेको गोली स्थानीय सर्वसाधारण अकाली कोहारलाई लागेर उनको मृत्यु भएको थियो ।

२०६७ वैशाख १३ गते फुलिकाका माओवादी युवा नेता राजेन्द्र तिवारीलाई पिपरा गाविसमै गोली हानी हत्या गरिएको र यसमा पनि खानकै मुख्य हात रहेको अभियोग पत्रमा थियो । तिवारीको हत्या प्रकरण पछि खानलाई पक्राउ गर्न प्रहरीलाई ठूलो दबाब आएको थियो । जेलबाट भागेका श्रवण मुराउ र खानको खोजी तीव्र पारेपछि प्रहरीले भारतीय प्रहरीको सहयोगमा मुराउलाई पक्राउ गरिएपनि खान भने बच्न सफल भए ।

२०६७ वैशाख १३ गते फुलिकाका माओवादी नेता राजेन्द्र तिवारीलाई पिपरा गाविसमै गोली हानी हत्या गरिएको र यसमा पनि खानकै मुख्य हात रहेको मुद्दा थियो । जेलबाट भागेका श्रवण मुराउ र खानको खोजी तीव्र पारेपछि प्रहरीले भारतीय प्रहरीको सहयोगमा मुराउलाई पक्राउ गरिएपनि खान भने बच्न सफल भए ।

नसिमको समूहले नै पुनः कपिलवस्तुकै पुरुषोत्तमपुर ५ मा रहेको शिवम क्रेसरका मजदुर ज्ञानबहादुर सुनारलाई २०६७ अषाढ २३ गते गोली हानी हत्या गरे। सुनारको हत्या आफ्नो समूहले गरेको नसिमले विज्ञप्ति नै निकालेर बताएका थिए । २०७५ फागुन ४ गते उनले मायादेवी गाउँपालिका–४ का वडा अध्यक्ष फत्ते मोहम्मदका ४ वर्षीय छोरा अयमानको अपहरण गरी ८ गते हत्या गरेको अभियोगमा पनि मुद्दा अदालतमा थियो । कपिलवस्तु जिल्ला अदालतले २०६७ भदौमा हत्याका ६ वटा र एउटा डाका मुद्दामा उनको अंश रोक्का गरी मुद्दा मुल्तबीमा राखेको छ ।

उच्च अदालत जाने पीडितको तयारी 

मृतक शिवपुजन कुर्मीका छोरा होमप्रकाश चौधरीले राजनीतिक र आर्थिक चलखेलका कारण नसिम खानलाई निर्दोष सावित गरिएको बताए । उनले सबै चलखेलबाट यथेष्ट प्रमाणहरु हँुदासमेत ‘दिउँसै रात पार्ने’ काम भएकोमा निकै दुखः लागेको उनको भनाई छ । उनले भने –‘फैसला आउनुपूर्व नै घटनामा प्रत्यक्ष संलग्नहरुलाई छाड्ने हल्ला बाहिर आएको थियो । हल्लाअनुसार नै फैसला भएको छ, हामी माथिल्लो अदालतमा जान्छौं ।’
 


Author

विक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x