अपराध

काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले गर्‍यो १७ वटा मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

इकागज |
माघ १०, २०८० बुधबार १६:४८ बजे

काठमाडौँ- विभिन्न समयमा हराएका १७ वटा दुई पाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा बुधबार आयोजित एक कार्यक्रमका बिच कार्यालयका प्रहरी उपरीक्षक सन्तोष आचार्यले १४ वटा मोटरसाइकल र ३ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् । 

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा, केही वास्तविक नम्बर प्लेटमै र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौँ उपत्यकाका जोरपाटी, काँडाघारी, बालाजु, स्वयम्भू, पानीपोखरी, मालीगाउँ, चाल्नाखेल फर्पिङ र रामशाहपथ लगायतका स्थानमा दुई पाङग्रे सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो । 


काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनको आधारमा खोजी गर्ने क्रममा फेला परेका २ सय २० वटा सवारी साधन चालु आर्थिक वर्षको हालसम्म ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ । अवैध रुपमा नेपाल भित्रिएका १२ वटा सवारी साधन भन्सार कार्यालयमा बुझाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए ।

चालू आर्थिक वर्षको हालसम्म चोरीका १६ वटा दुई पाङ्ग्रे सवारी साधनसहित चोरीमा संलग्न १९ जना व्यक्तिलाई कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ । 


Author

थप समाचार
x