क्रिकेट

खेल टिप्पणी

नेपालको जितमा ऐरीको ‘नायकत्व’

विष्णु विवेक |
माघ २८, २०७८ शुक्रबार २३:३२ बजे

फोटो : पिटर डेला पेना/ट्वीटर

काठमाडौँ : यदि नेपाल क्रिकेट संघ क्यानभित्रका पदाधिकारीको ‘फोहोरी राजनीति चुपचाप चलिरहन्थ्यो’ भने ठीक यति बेला दीपेन्द्रसिंह ऐरी टेलिभिजन अगाडि सम्भवतः नेपालको हारको दृश्य टुलुटुलु हेरिरहेका हुन्थे । तर नेपाली भेट्रान्स अलराउण्डर ऐरीले शुक्रबार ओमानमा नेपालको जितमा नायकत्व भूमिका निर्वाह गर्दै ‘प्लेअफ अफ द म्याच’को सम्मान ग्रहण गरे ।

चारदेशीय टी–ट्वान्टी क्रिकेट श्रृङ्खलाको पहिलो खेलमा ओमानविरुद्ध नेपाललाई ६ विकेटको शानदार जित दिलाउन नटआउट ७३ रन बनाएका ऐरी फेरि एकपटक नेपाली क्रिकेटको ‘पिल्लर’ घोषित भएका छन् । 


महिना दिनअघि मात्रै क्यानले ऐरीसहित चार जना खेलाडीलाई अनुशासनको कारबाही गर्दै ६ महिनाका लागि केन्द्रीय सम्झौताबाट हटाएको थियो । सोमपाल कामीलाई ए ग्रेडमा नराख्नुको कारणबारे उत्पन्न विवाद उत्कर्षमा पुग्दा ऐरीसहित चार जना खेलाडी क्यानको कारबाहीमा परेका थिए ।

जसकारण ज्ञानेन्द्र मल्लको कप्तानी खोसियो । ऐरीलाई पनि उपकप्तानबाट हटाइयो । सन्दीप लामिछानेलाई नयाँ कप्तान नियुक्त गरेर क्यानले क्रिकेटमा ‘घृणित राजनीति’ फेरि एक पटक सतहमा ल्याइदिएको थियो । तर क्यानको ‘कच्चा’ निर्णयविरुद्ध चारै जना खेलाडी विद्रोहमा उत्रिए ।

उनीहरुको आन्दोलनलाई अरु खेलाडीले पनि साथ दिए । झण्डै दुई हप्ता लामो विवाद अन्ततः समाधान भयो । नेपालका लागि चिरपरिचित पुबुदु दासानायके नयाँ प्रशिक्षक भएर आएपछि उनकै मध्यस्तताले क्यान पदाधिकारी र खेलाडीबीचको विवाद समाधान भएर ओमानको नतिजा आएको बुझाई छ ।

विवाद समाधान भएपछि क्यानले सोमपाललाई फेरि ए ग्रेड श्रेणीको क्रिकेटमा राख्यो । चारै जना खेलाडी अभ्यासमा फर्किए । विश्वकप छनौट अगाडि खेलाडीको ब्याटिङ र बलिङ सुधार्ने योजनाअनुसार पुबुदु सन्दीपको कप्तानीमा नेपाली टिमलाई ओमान लिएर गएका थिए ।

जसको पहिलो खेलमै नेपालले शुक्रबार ६ विकेटको जित हात पारेर शानदार सुरुवात गर्दै फेरि एकपटक नेपालीलाई क्रिकेटमय बनाएको छ । पारस खड्काको सन्यास र ज्ञानेन्द्रसहितका खेलाडीको बाध्यात्मक आन्दोलनले थिलथिल भएको नेपाली क्रिकेट फेरि जागेको संकेत देखिएको छ । 

बल्झियो ओपनिङको पुरानै समस्या 

शुक्रबार ओमानमा नेपालका लागि कप्तान सन्दीप लामिछोनले टस जितेर बलिङ गर्ने निर्णय लिए । टी–ट्वान्टीमा धेरै टिमले गर्ने निर्णय उनले पनि लिए । नेपालको बलिङ प्रदर्शन पहिल्यैदेखि राम्रो मानिन्छ । ओमानविरुद्ध पनि त्यही देखियो । 

ओमानलाई निर्धारित २० ओभरमा १३५ रनमै रोक्नु नेपाली बलरको उत्कृष्ट प्रदर्शनमध्ये एक थियो । त्यसमा अविनाश बोहरा सफल देखिए । उनले ३ विकेट लिए । क्यानको कारबाहीबाट फुकुवा भएका कमलसिंह ऐरीले पनि आफूलाई प्रमाणित गर्दै एक विकेट लिए । 

सन्दीप आफैँले पनि ओमानको महत्वपूर्ण विकेट हात पारे । अलराउण्डर आरिफ शेखको नाममा अर्को १ विकेट रह्यो । नेपालले ६ विकेट हात पारेर ओमानलाई १३५ रनमै पेभेलिएन पठायो । अन्तिम २ विकेट त अविनाशले चट्काएका थिए । 

करण केसी र सोमपाल कामी नभएको खेलमा पनि नेपाली युवा बलरले आफूलाई अब्बल साबित गरे । १३६ रनको मध्यम लक्ष्य पाएपछि नेपाल ब्याटिङमा फर्कियो ।

तर ओपनिङमा फेरि पुरानै समस्या बल्झियो । नेपाललाई विश्वकप खेलाइसकेका पुबुदुले एक जना नयाँ र अर्का एक जना पुराना ब्याटरलाई ओमानविरुद्ध ओपनिङका रुपमा क्रिजमा पठाएका थिए । तर दुबै जनाले पुरानै ओपनिङको पुरानै समस्या समाधान नभएको प्रमाण पेस गरे ।

प्रदीप ऐरी ४ रनमै आउट भए । नयाँ ओपनरका रुपमा चम्किएका आसिफ शेख १४ रनमा पेभेलिएन फर्किए । यतिबेला नयाँ स्टारका रुपमा उदाएका कुशल भुर्तेललाई धेरैले ‘मिस’ गरे । उनी प्लेइङ सेटमा थिएनन् ।

फेरि पुरानै ३ नम्बर ब्याटिङमा फर्किएका ज्ञानेन्द्र मल्ल पनि फर्ममा देखिएनन् । उनी १३ रनमा आउट भए । चौथो नम्बरमा ब्याटिङ गर्न आएका दीपेन्द्र्रसिंह ऐरीले पुबुदुको भरोसा राखे । आरिफ शेख २५ रन बनाएर आएट भए ।

नेपालका भरपर्दा ‘फिनिसर’ शरद भेषावाकर ४ रनमा नटआउट रहे । खेल जिताउने ऐरीले नटआउट ७३ रन जोडे । क्रिजमा ऐरी टिकिरहेपनि नेपालले जित्नेमा ढुकचुक नै थियो । आक्रामक रुपमा ठूला सट खेल्ने ऐरी अन्तिमतिर आउट हुने हुन् कि भन्ने चिन्ता थियो ।

एक समय नेपाललाई जितका लागि १८ बलमा २९ रनको खाचो थियो । ऐरीको विकेटले खेलको छिनोफानो गर्ने थियो । त्यसबेला उनी अर्धशतक नजिक थिए । ५० रन कटाएर उनी आउट हुने चिन्ता पनि नभएको होइन ।

तर उनी अर्धशतकमै रोकिएनन् । ५३ बलमा ८ चौका र १ छक्का हिर्काएका ऐरी नेपाललाई जित दिलाउने ‘म्याच विनर’ बने । त्यो पनि आफ्नै स्टाइलमा । कुनै बेला शरद यसरी नै ‘गेम फिनिस’ गर्थे । शरदलाई नै साक्षी राखेर अन्तिम ओभरको तीन बलमा दुई चौका हान्दै ऐरीले नेपालको जित पक्का गरे ।

भर्खरै क्यानको कारबाहीबाट फुकुवा भएर मैदान उत्रिएका दीपेन्द्रले आफूलाई प्रमाणित मात्रै गरेका छैनन्, ४ नम्बरमा पारसको ब्याटिङ पोजिसनको औचित्य पनि साबित गरेका छन् ।

कप्तानमा बढुवाको दाबेदारी

क्यानभित्रका पदाधिकारीसँगको विवाद कारबाहीमा पुग्दैन थियो भने यतिबेला नेपाली टिमको कप्तानमा दीपेन्द्रसिंह ऐरीको पनि नाम हुन सक्थ्यो । ज्ञानेन्द्र लामो समयदेखि फर्ममा नदेखिएकाले स्वभाविक रुपमा उपकप्तानको जिम्मेवारीमा रहेका ऐरीमाथि टिमको आशा र भरोसा झन् बढ्थ्यो ।

टिमलाई चाहिएको बेला ब्याटिङ र बलिङको जादु देखाउन सक्ने ऐरी प्रमाणित खेलाडी हुन् । जसले पारसको बिडो थाम्ने हिम्मत राख्छन् । तर उपकप्तानबाट कप्तानमा बढुवा हुने बेला उनी क्यान पदाधिकारीको ‘तारो’ बन्दै घटुवाको शिकार बने ।

तर पनि उनको मनोबल घटेको देखिएन । ओमानमा सन्दीपले कप्तानका रुपमा बलिङ जिम्मेवारी इमान्दारीका साथ पूरा गर्दा उनमा ब्याटिङ रणनीतिको अनुभव थिएन । यस्तो बेला टिमको भरोसा स्वभाविक रुपमा अलराउण्डमाथि जान्छ । जुन हिजो पारसमा थियो । 

र अहिले पारस केवल दर्शकको भूमिकामा छन् । शुक्रबार ओमानविरुद्ध पहिलोपटक जित निकाल्दा दीपेन्द्रले पारसकोे अभाव पूर्ति गर्दै ‘नेपालको विजयी भाव’ देखाएका छन् । यसर्थ झुर ओपनिङबाट गुज्रिएको क्रिकेट टिमलाई जितसम्म डोहो¥याउने खेलाडी केवल खेलाडी मात्रै रहन सक्दैन, स्वतः नायक करार हुन्छ ।

क्यानको फोहोरी राजनीतिबाट घटुवामा परेका दीपेन्द्रले जारी चारदेशीय टी–ट््वान्टी श्रृङ्खलामा आफूलाई पूरा रुपमा प्रमाणित गर्न सके हिजोको उपकप्तानबाट बढुवा भन्दा सिधै ‘ओभरटेक’ गरेर कप्तानको जिम्मेवारीमा पुग्नुपर्ने दायित्व निर्वाहको भूमिकामा पुग्न सक्छन् ।

यसै पनि विश्व क्रिकेटमा बलरको कप्तानी बाध्यात्मकबाट दिगो रुपमा परिणत हुन सकेको छैन । त्यो चाहे अफगानिस्तानका ग्लोबर स्टार रशिद खानको हकमा लागू होस् वा अरु कोही ।

फेरि पनि ढिलोचाँडो नेपाली क्रिकेटले शिर उचो पार्न पारसजस्तै अलराउण्ड कप्तानीमा जानैपर्ने हुन्छ । जुन कुरा टी–ट्वान्टी क्रिकेटका ग्लोबल आइकन सन्दीप लामिछानेलाई पनि राम्र्रोसँग थाहा भएको हुनुपर्छ । अलराउण्डर दीपेन्द्रसिंह ऐरी नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ कप्तानको नाम हुँदै जानेछ । 

 


 


Author

विष्णु विवेक

राजनीति, समाज, शिक्षा, पर्यटन लगायत समसामयिक विषयमा कलम चलाउने विवेक करेस्पोन्डेन्ट हुन् ।


थप समाचार
x