क्रिकेट

टी-२० विश्वकप

कमजोर मनोबल भएको श्रीलंकालाई स्तब्ध पार्ने सोचमा नेपाल

इकागज |
जेठ २९, २०८१ मंगलबार १७:१३ बजे

काठमाडौँ- अमेरिका र वेस्ट इन्डिजमा जारी आईसीसी पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकपअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले भोलि श्रीलंकाको सामना गर्दैछ ।

समूह 'डी' मा रहेका नेपाल र श्रीलंकाबीचको खेल अमेरिकामा नेपाली समयअनुसार बिहान ५:१५ बजेबाट सुरु हुने तालिका रहेको छ ।


जारी विश्वकपका नेपालले दोस्रो खेल खेल्दै गर्दा श्रीलंकाको यो तेस्रो खेल हुनेछ । यसअघि नेपालले पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध ६ विकेटको पराजय भोगेको थियो ।

यता श्रीलंकाले भने पहिलो खेलमा दक्षिण अफ्रिकाविरुद्ध ६ विकेटको हार भोग्दा दोस्रो खेलमा बंगलादेशसँग २ विकेटको पराजय बेहोरेको थियो ।

त्यसैले 'सुपर ८' को सम्भावना कायमै राख्न श्रीलंकाले भोलिको खेलमा नेपाललाई पराजित गर्नुपर्ने हुन्छ । यता नेपालले पनि अघिल्लो चरणको सम्भावना बलियो बनाउन श्रीलंकामाथि विजयी हात पार्नुपर्ने हुन्छ ।

अघिल्ला दुई खेलमा पराजय भोगेका कारण श्रीलंकाको मनोबल कमजोर भएको आंकलन गरिएको छ भने नेपालले पनि त्यसकै फाइदा उठाएर भोलिको खेलमा श्रीलंकालाई पराजित गर्ने लक्ष्य राखेको छ ।

नेपाली टिमका कप्तान रोहित पौडेलले पनि श्रीलंकालाई स्तब्ध पार्नेमा आफूहरू विश्वस्त रहेको प्रतिक्रिया दिएका छन् ।

जारी विश्वकपमा एसोसिएट राष्ट्रले टेस्ट राष्ट्रमाथि जित हात पारिराख्दा नेपालले पनि श्रीलंकाविरुद्ध अप्रत्याशित नतिजाको अपेक्षा गरेको छ ।

रोहितले आफूहरूले गरेको तयारी अनुसार श्रीलंकालाई पराजित गर्न सक्ने बताए ।


Author

थप समाचार
x