क्रिकेट

नामिबियासँग नेपाल पराजित

इकागज |
फागुन १५, २०८० मंगलबार १५:२० बजे

काठमाडौँ- त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले नामिबियासँग पराजय भोगेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नेपालले नामिबियासँग २० रनको पराजय भोगेको हो ।


जितका लागि २ सय ७ रनको लक्ष्य पछ्याएको नेपालले १८ ओभर ५ बलमा सबै विकेट गुमाएर १ सय ८६ रनमात्र बनाउन सक्यो ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ४८ रन, कप्तान रोहित पौडेलले ४२ रन तथा कुशल मल्लले ३२ रन बनाए ।

नामिबियाका रुवेन ट्रम्पलमेनले सर्वाधिक ४ तथा बर्नार्ड स्कोल्ज, जान फ्रायलिन्क र जान निकोलले समान २-२ विकेट हात पारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नामिबियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय ६ रन बनायो ।

नामिबियाका लागि जान निकोलले ३६ बलमा ११ चौका र ८ छक्काको मदतमा १ सय १ रन बनाए । टी-ट्वान्टी अन्तर्राष्ट्रियमा निकोलको यो पहिलो शतक पनि हो ।

नामिबियाका लागि टी-ट्वान्टी अन्तर्राष्ट्रियमा डेब्यू गरेका मलान क्रुगरले ५९ रन जोडे । माइकल भान लिन्गेनले २० रनको योगदान गरे ।

नेपालका लागि कप्तान रोहित पौडेलले २ तथा अविनाश बोहरा र करण केसीले १-१ विकेट हात पारे ।


Author

थप समाचार
x