क्रिकेट

टी-ट्वान्टी विश्वकप : नेपालको खेल अमेरिका र वेस्ट इन्डिज दुवैमा खेलाइने सम्भावना

सञ्जीव शाह |
पुस २०, २०८० शुक्रबार १७:४ बजे

तस्बिरः क्यान

काठमाडौँ- यस वर्षको आईसीसी पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकप आगामी जुन ४ देखि ३० तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुँदैछ ।

यस पटकको टी-ट्वान्टी विश्वकपमा २० टिमको सहभागिता रहेको छ र सहभागी टिमलाई विभिन्न चार समूहमा विभाजन गरिएको छ ।


इंग्लिस अनलाइन पोर्टल 'द टेलिग्राफ' ले जनाएअनुसार नेपाल समूह 'डी' मा परेको छ । यस समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स पनि रहेका छन् ।

समूह 'ए' मा भने भारत, पाकिस्तान, आयरल्यान्ड, क्यानाडा र सह-आयोजक अमेरिका रहेका छन् । त्यसैगरी, समूह 'बी' मा इंग्ल्यान्ड, अस्ट्रेलिया, नामिबिया, स्कटल्यान्ड र ओमान छन् । समूह 'सी' मा न्यूजिल्यान्ड, वेस्ट इन्डिज, अफगानिस्तान, युगान्डा र पपुवा न्यूगिनी अटाएका छन् ।

तालिकाअनुसार चारवटै समूहका शीर्ष दुई टोली भने शीर्ष ८ मा पुग्नेछन् । ती ८ टोलीलाई दुई समूहमा विभाजित गरिने तथा दुवै समूहका शीर्ष दुई टिम सेमिफाइनलमा स्थान बनाउने तालिका छ । सेमिफाइनल विजेताले जुन २९ मा फाइनल खेल्ने तय भएको छ । फाइनल वेस्ट इन्डिजमा खेलाइने भएको छ ।

टेलिग्राफले उल्लेख गरेअनुसार समूह 'बी' र 'सी' का खेलहरू वेस्ट इन्डिज तथा समूह 'ए' का खेलहरू अमेरिकामा खेलाइने तालिका रहेको छ । समूह 'डी' का खेलहरू भने अमेरिका र वेस्ट इन्डिज दुवैमा हुने जनाइएको छ ।

यसको अर्थ नेपालले अमेरिका र वेस्ट इन्डिज दुवै देशमा गएर विश्वकपका खेलहरू खेल्ने सम्भावना रहेको छ ।

नेपालले एक दशकपछि पुनः टी-ट्वान्टी विश्वकप खेल्न लागेको हो । यसअघि सन् २०१४ मा बंगलादेशमा भएको विश्वकपमा नेपालले पहिलोपटक सहभागिता जनाएको थियो ।

त्यसयता नेपाल विश्वकपमा छनोट हुन सकिरहेको थिएन । तर, गत अक्टोबर र नोभेम्बरमा नेपालमै भएको आईसीसी टी-ट्वान्टी क्रिकेट विश्वकप एसिया क्षेत्रको छनोटमा युनाइटेड अरब इमिरेट्स (यूएई) लाई पराजित गर्दै नेपालले अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा स्थान सुरक्षित गरेको हो ।

छनोटअन्तर्गत मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको सेमिफाइनलमा यूएईलाई ८ विकेटले पाखा लगाउँदै नेपालले एक दशकपछि विश्वकपमा स्थान सुरक्षित गरेको थियो । नेपाललाई विश्वकपमा पुर्‍याउन यूएईविरुद्धको खेलमा आशिफ शेखले ६४ रन जोड्दा कुशल मल्लले सर्वाधिक ३ विकेट हात पारेका थिए ।

अर्को सेमिफाइनल खेलमा बहराइनलाई १० विकेटले पराजित गरेर ओमानले पनि नेपालसँगै विश्वकपमा स्थान पक्का गरेको थियो । विश्वकप छनोटको फाइनलमा भने ओमानले नेपाललाई सुपर ओभरमा पराजित गरेको थियो ।


Author

सञ्जीव शाह

सञ्जीव शाह इकागजका स्पोर्टस् ब्यूरो चिफ हुन् ।


थप समाचार
x